लन्डन । बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेले बेलायतमा स्थायी रूपमा बसोबास गरिरहेका बृटिश नागरिकता प्राप्त गोर्खा सैनिक र तिनका सन्ततिहरूका लागि वंशजको नेपाली नागरिकता निरन्तरता सुनिश्चित गर्नुपर्ने मागका विषयमा नेपाली राजदूत चन्द्रकुमार घिमिरेसँग छलफल गरेको छ ।
सीएनसीबीजीका अध्यक्ष थर्क राना नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार १२ जून २०२५ मा लन्डनस्थित नेपाली राजदूतावासमा राजदूत घिमिरेसँग करिब डेढ घण्टा छलफल गरेको हो । छलफलका क्रममा उनीहरुले नेपालको संसद् र गृह मन्त्रालयसमक्ष बुझाइसकेको ज्ञापनपत्रबारे स्पष्ट समर्थन मागेका थिए ।
त्यस्तै गोर्खा र तिनका सन्ततिहरूको नागरिकता विषयमा कानुनी अस्पष्टता हटाउन माग गर्दै नेपाल नागरिकता ऐन, २०६३ को दफा १०(१) र दफा ३(१)(४)(क)को कानुनी अन्तर, व्याख्या र प्रभावबारे गहिरो विमर्श गरिएको सीएनसीबीजीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले जानकारी दिए ।
सीएनसीबीजीका अनुसार गोर्खाहरूले लिएको बृटिश नागरिकता कुनै “आफूखुसी विदेशी नागरिकता” नभई नेपाल सरकारकै सहमति, सन्धि र ऐतिहासिक बन्दोबस्तअन्तर्गत प्रदान गरिएको नागरिकता हो । सन् १९४७ को त्रिपक्षीय सन्धि (नेपाल–भारत–बेलायत) र त्यसअन्तर्गतको सैन्य सेवा राज्य–प्रेरित कानुनी दायित्व भएकाले, नागरिकता ऐनको दफा १०(१) लाई गोर्खाहरूमा लागू गर्नु अन्यायपूर्ण हुने प्रस्ट तर्क सीएनसीबीजीले प्रस्तुत गर्यो ।
“दफा १०(१) नै गोर्खा वंशजको नागरिकतालाई रोक्ने मूल गेट हो । त्यो गेट खुलाउन नसकेसम्म दफा ३ मा गरिने कुनै पनि संशोधन निष्प्रभावी हुनेछ ।” अतः, गोर्खाहरूका वंशजलाई पूर्ण नागरिकता सुनिश्चित गर्न पहिले दफा १०(१)को संशोधन आवश्यक सीएनसीबीजीको भनाइ छ ।

दफा ३(१)(४)(क) पर्याप्त छैन, मूल समस्या दफा १०(१) मै छ:
सीएनसीबीजीले दफा ३(१)(४)(क) वंशज नागरिकताको व्यवस्था भए पनि गोर्खाहरूको सन्दर्भमा त्यो लागू हुन नसक्ने दाबी गर्दै आएको छ । त्यसको कारण गोर्खाको विषय एनआरएनजस्तो व्यक्तिगत रोजाइ नभई 'राज्य–प्रेरित सेवा' अन्तर्गतको ऐतिहासिक कानुनी स्थिति रहेको सीएनसीबीजीले प्रस्ट पारेको छ ।
कार्यक्रममा सहप्रवक्ता दिर्ग गुरुङले ज्ञापनपत्र वाचन गरेका थिए भने सचिव जित घर्ती मगरले कार्यक्रम सञ्चालन गरेका थिए । सहभागी संघसंस्थाका प्रतिनिधिहरूले गोर्खाको इतिहास, बलिदानी र वर्तमान राज्य व्यवस्थाले गोर्खाहरुप्रति गरेको व्यवहारबारे धारणा राखेका थिए ।
छलफलपछि राजदूत घिमिरेले भावुक हुँदै प्रतिक्रिया दिएका थिए- 'तपाईंहरूको कथा प्रत्यक्ष रूपमा सुन्न पाउँदा गहिरो चासो लागेको छ । यो विषय नेपाल सरकारमा जिम्मेवारीका साथ पठाउनेछु । त्यसपछि फेरि पनि छलफल गरौंला ।'
नवनियुक्त राजदूत घिमिरेसँग पहिलो भेट गरेको सीएनसीबीजीले उनको कार्यकाल सफल रहोस् भन्दै संस्थाको तर्फबाट पुष्पगुच्छासहित अध्यक्ष थर्क रानालगायत उपस्थित सबैले स्वागत गर्दै बधाई, शुभकामना दिएका थिए । कार्यक्रम सफल बनाउन सहयोग गर्ने राजदूत, दूतावास सचिव दिनेश आचार्य तथा अनुपस्थित रहे पनि तयारीमा महत्वपूर्ण भूमिका निभाएका महासचिव भक्त रानाप्रति पनि आभार व्यक्त गरिएको थियो ।
दूतावासको छलफलमा सीएनसीबीजीका अध्यक्ष राना, भूपू सैनिक कल्यणकारी समिति नेपालका अध्यक्ष होम थापा, मगर संघ यूकेका अध्यक्ष लालबहादुर (लालु) पुन, सीएनसीबीजीका सल्लाहकारहरु मे.(रि) बिरु सुनुवार, सल्लाहकार क्या.(रि) रणधोज राना, क्या.(रि) रुकुम राना, सल्लाहकार तथा मगर संघ यूकेका पूर्वअध्यक्ष मे.(रि) कुलबहादुर थापा, मे.(रि) भिमबहादुर गुरुङ एमभीओ, सल्लाहकार तथा खोसोभोका पूर्वअध्यक्ष ले.(रि) ललित गुरुङ, सीएनसीबीजी दलबहादुर बुढाथोकी, शोभराज घोतने गुरुङ, रुम्जाटार समाजका अध्यक्ष मोहन गुरुङ, सीएनसीबीजीका मिडिया सेक्रेटरी जित घर्तीमगर, सहप्रवक्ता दिर्ग गुरुङ, केन्द्रीय सदस्य कृष्ण राई र कर्ण दर्लामीमगर सहभागी थिए ।
