पोखरा । मानिसको भौतिक शरीर हामीमाझ नरहे पनि उनले छोडेर गएका सम्झना, माया र आत्मीयता सधैँ जीवित रहन्छन्। यस्तै भावनात्मक सन्देशसहित स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ।
कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा गरिएको यस वृक्षारोपणले स्वर्गीय दीपक गुरुङप्रतिको माया, सम्मान र सम्झनालाई प्रकृतिसँग जोडेको छ। उनकाे सम्झनामा रोपिएका बिरुवाहरू हुर्कंदै जाँदा उहाँप्रतिको आत्मीयता र सम्झना पनि सधैँ ताजा रहिरहने विश्वास गरिएको छ।
वृक्षारोपणका क्रममा अध्यक्ष कुमार गुरुङले वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै पछिल्लो समय बढ्दै गएका प्राकृतिक विपत्तिहरूको न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिए। उनले वातावरण जोगाउनु भनेको वर्तमान मात्र नभई भावी पुस्ताको भविष्य सुरक्षित गर्नु पनि भएको बताए। उक्त अवसरमा ध्रुव गुरुङ, विनोद गुरुङ र रूपा गुरुङले पनि वृक्षारोपण गरेका थिए।


खेलकुद विकास कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले प्रवासमा रहेर पनि मातृभूमिप्रति माया, सद्भाव र जिम्मेवारी व्यक्त गर्दै सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रमा योगदान पुर्याउने प्रवासी नेपालीहरूको उदार मनको प्रशंसा गरिन्। उनले मातृभूमिप्रतिको माया शब्दमा मात्र सीमित नराखी व्यवहारमा उतार्ने समय आएको उल्लेख गर्दै देशको विकास, सामाजिक रूपान्तरण र समृद्धिका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने बताइन्। साथै, कोने घोथाने घोण्डे तमु समाज यूकेले नेपालमा पुर्याउँदै आएको सामाजिक, सांस्कृतिक तथा धार्मिक योगदानको उचित कदर र सम्मान हुनुपर्नेमा जोड दिँदै स्वर्गीय दीपक गुरुङको स्मृतिमा गरिएको वृक्षारोपणले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र भावी पुस्ताका लागि हरियाली प्रवर्द्धन गर्ने सुन्दर सन्देश दिएको बताइन्।
कार्यक्रममा युवा नेता विक्की गुरुङ, अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलगायतको उपस्थिति रहेको थियो।
