डायस्पोरामा करिब साढे दुई दशक लामो गर्वीलो इतिहास बोकेको गोर्खा कपको २३औँ संस्करण आगामी २५ मेमा हुँदै छ । तमु धीं यूकेको आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको छ । क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्ड अल्डरसट ह्याम्पसायरमा प्रतियोगितामा यस वर्ष मुख्य विधामा ३२, भेट्रानमा १६ र महिलामा ४ टीमबीच प्रतिस्पर्धा गराइनेछ । मुख्य विधाका विजेताले ३ हजार पाउन्ड र फस्ट रनरअपले १ हजार ८०० पाउन्ड पुरस्कार पाउने छन् । यस्तै, भेट्रानका विजेताले १ हजार ५०० र फस्ट रनरअपले १ हजार पाउन्ड तथा महिलातर्फ विजेताले ६०० पाउन्ड र फस्ट रनरअपले ४०० पाउन्ड पुरस्कार पाउने छन् । प्रतियोगिता सफल बनाउन खेलकुद सचिव क्याप्टेन दीपक घले नेतृत्वको टिम खटिएको छ । गोर्खा कपको तयारीबारे खेलकुद सचिव क्याप्टेन घलेसँग गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा मिलन तमुले गर्नुभएको कुराकानीको सम्पादित अंश:
गोर्खा कपको नेतृत्व गरिरहनुभएको छ । पहिलो पटक गर्दै हुनुहुन्छ कि पहिले पनि नेतृत्व गर्नुभएको थियो ?
म तमु धीं यूकेको खेलकुद सचिव भएको दुई वर्षभन्दा बढी भइसक्यो । यसपालिको समितिले पनि जिम्मा दिनुभएको छ । हाम्रो टिमले राम्रो गरेरै दिनुभएको होला । यो दोस्रो पटक हो । नयाँ समितिको अध्यक्ष जुमकाजी गुरुङलाई पनि यस जिम्मेवारीका लागि धन्यवाद दिन चाहन्छु ।
गोर्खा कपको तयारी कसरी भइरहेको छ ?
गोर्खा कप २३औँ वर्षसम्म आइपुगेको छ । पहिले सिनियरहरूले धेरै दुःख गरेर यहाँसम्म ल्याइपुर्याउनुभएको हो । गोर्खा कपलाई यहाँसम्म ल्याउन अग्रजको ठूलो देन छ । अहिले हामीले पनि राम्रो गर्ने प्रयास गरिरहेका छौँ । गर्नुपर्ने तयारी गरिरहेका छौँ । लोकल अथोरिटी र लोकल कम्युनिटीहरूसँग कम्युनिकेसन गरिरहेका छौँ । आ-आफ्नो क्षेत्रबाट सबै तयारीमा जुटिरहेका छौँ । मौसम पनि राम्रो भइरहेको छ । सबै राम्ररी अगाडी बढिरहेको छ ।

यस पटक कति टिम खेल्दै छन् ?
यसपालि ३२ वटा मेन, १६ वटा भेटेरान, ४ वटा महिला टिम लिएका छौँ । भेटेरान र मेनको इन्ट्री भइसक्यो । महिलाको दुई वटा टिम आउन बाँकी छ । महिलाको पोहोरसम्म दुई वटा थियो । यसपालि चारवटा टिम बनाएको हो।
यति धेरै टिम छ । एक दिनमा प्रतियोगिता सक्न कसरी सम्भव हुन्छ ?
पोहोर ५० वटा थियो । यसपालि ५२ वटा छ । पहिला १० वटा फुटबल पिच यही ग्राउन्डमा हुन्थ्यो । यसपालि १२ वटा फुटबल पिच बनाएका छौँ । खेलाउन पक्का आर्मीको फ्रोफेसनल फुटबल रेफ्रीहरू आउँछ । उनीहरूले एकदमै राम्रो म्यानेज गरेर खेलाउँछ । सबै टाइममा हुन्छ । तमु धींको भोलेन्टियरले पनि सहयोग गर्छन् । बिहान साढे ९ मा सुरु गरेर बेलुका साढे सातमा सक्नेगरी गरिरहेका छौँ । यो सबै म्यानेज गर्न धेरै दुःख छ । मेरो फुटबल रन गर्ने टिमलाई दु:ख छ । हाम्रो टिमले दुख गर्दा सबैलाई राम्रो हुन्छ, १५-२० हजार नेपालीलाई मनोरञ्जन हुन्छ भन्ने ठानेर दुख गरिरहेका छौँ । सफल पनि भइरहेका छौँ ।
फुटबलबाहेक अरू केके हुन्छ ?
हामी हरेक वर्ष केही न केही फरक गर्न खोजिरहेका हुन्छौँ । यसपालि बालकालिकाका लागि केही गर्न सकिन्छ कि भन्ने छ । उनीहरूलाई खेल्नका लागि स्टल बनाउन सकिन्छ कि भनेर लागिरहेका छौँ । यो एरिया ठूलो भए पनि हामीलाई अपुग नै भइरहेको छ । यसले मुस्किल भइरहेको छ । हेरौँ के हुन्छ । अनि अर्को त्यो पनि पारासुटिङ पनि हुँदै छ । यो धेरै इन्ट्रेस्टिङ हुन्छ । कहिल्यै नदेखेका मान्छेका लागि । यसैगरी, पहिला पहिला फुटबलमा ८ वटा मात्र भेटेरान टिम हुन्थ्यो । यसपालि १६ वटा बनाइएको छ । यो पनि आकर्षक हुने विश्वास छ । खानाको स्टल, व्यापारको स्टलहरू स्वास्थ्यको स्टललगायत धेरै स्टलहरू हुन्छ । सयपत्रीको प्रस्तुति हरेक वर्ष हुन्छ । त्यो एकदमै युनिक हुन्छ । एकेन्द्र गुरुङले गोर्खा कपको धेरै राम्रो गीत लेख्नुभएको छ । उक्त गीतमा पनि पर्फम भाइबहिनीहरूले गर्नुहुन्छ । साना साना नानीहरूले नाच्दा एकदै राम्रो हुन्छ । उहाँहरूले १५-२० दिनको प्राक्टिस गरेर पर्फम गर्नुहुन्छ । नेपालबाट आउनुभएको कलाकार पवित्र गुरुङको प्रस्तुति हुनेछ । व्यावसायिक फुटबल खेलाडी पनि ल्याउने तयारी भइरहेको छ ।

गोर्खा कप हेर्न आउने दर्शकलाई टिकट र बाटोको बारेमा पनि भन्दिनुस् न ?
यसपालि प्रत्येकले ५ पाउन्ड तिर्नुपर्छ । गाडीमा एउटा मान्छे आयो भने १० पाउन्ड तिर्नुपर्छ । गाडीको ५ पाउन्ड र मान्छेको ५ पाउन्ड । टिकटबाट उठेको पैसाले हरेक वर्ष सहयोग गरिरहेका छौँ । परोपकारी काम गरिरहेका हुन्छौँ । यसपालि पनि त्यो गर्छौं । अर्को बाटोको कुरा गर्दा, म के भन्छु भने तपाईंहरू आँखा चिम गरेर फार्नबोरोको बाटो आउनुस्, त्यो बाटो क्विन्सएभिन्युभन्दा धेरै छिटो हुन्छ । तर दुवै बाटोबाट आउन मिल्छ । दुवैतर्फ इन्ट्री र एक्जिट गर्ने व्यवस्था हुन्छ ।
दर्शकहरूलाई कत्तिको सेफ्टी छ ?
हाम्रोमा नेपालीले सुरक्षा प्रदान गर्छ । ग्राउन्डका लागि ५०-६० जना उहाँहरूले फिजिकल्ली गर्नुहुन्छ । केही भयो भने तमु धींको सदस्यहरू पनि झन्डै ६०-७० जना स्टेनबाई हुनहुन्छ । उहाँहरूले सेक्युर गर्नुहुन्छ । त्यसका साथै स्थानीय पुलिस पनि दुई मिनेटभित्र आइपुग्छ । यहाँको आरएमपीले पनि हामीलाई मद्दत गर्नुहुन्छ । तपाईंहरू आउनुस् । सुरक्षाको बारेमा धेरै चिन्ता गर्नु पर्दैन ।
खाएको फोहोरलाई फाल्ने ठाउँबारेमा प्रस्ट पार्दिनु न ?
ठाउँ-ठाउँमा प्लास्टिकको ब्याग राखिदिएको हुन्छ । हामी सबै पढेका बुझेका मान्छे छौँ । सबैले ख्याल गर्नुपर्छ कि वातावरणलाई दूषित पार्नुहुँदैन । दर्शकहरूलाई के अनुरोध छ भने फोहोरमैला चाहिँ तोकिएको ठाउँमा मात्रै फालिदिनुहोला । जताततै नफाल्नुहोला। यहाँको सरसफाइमा ध्यान दिनुहोला ।
विगतमा गोर्खा कपमा आउनेहरूबाट स्टलहरूमा मूल्य धेरै महँगो भयो भन्ने गुनासो सुन्ने गरिएको थियो । यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
विगतमा यो गुनासो आएको थियो । मैले इन्स्ट्रक्सन लेखेको छु । यसपालि चाहिँ प्रत्येक रेस्टुरेन्टले मेनु पठाउनुहुन्छ । मैले निर्देशन नै दिएको छु । त्यो मेनु सेट भएर आएको हुन्छ । हाम्रो पनि टिक छ । उहाँहरूले त्यसको अनुगमन गर्नुहुन्छ । दर्शकहरू पनि यसमा चनाखो हुनुपर्छ । कुनै पनि रेस्टुरेन्टमा गएर खानुभन्दा पहिला नै मूल्य सोध्नुस् । महँगो भयो भने नखाइदिनुस्। अनि हामीलाई जानकारी गराउनुहोला । हामीले पनि मेनुमा यो थियो । किन यस्तो गर्नुभयो भनेर सोध्न सक्छौँ । यसरी पनि कन्ट्रोल गर्छ सकिन्छ ।

२५ मेमा कार्यक्रम हुँदै छ । तपाईंहरू तयारीमा खटिइरहनुभएको छ । अहिले हामी कार्यक्रम हुने ग्राउन्डमा नै कुरा गरिरहेका छौँ । केही छुटेका कुरा छन् ?
गोर्खा कपलाई सफल बनाउन गोर्खा मिडियाले पनि धेरै सहयोग गरिरहेको छ । हाम्रो कुरा जनसमुदायमा पुर्याउन सहयोग गर्नुभएको छ । २३ वर्षदेखि हुँदै आएको प्रतियोगिता हो । हामी गर्दै सिक्दै आइरहेका छौँ । राम्रो गर्ने प्रयास छ । सबैको साथको अपेक्षा पनि गरेका छौँ । हिँड्दा हिँड्दै शृंखलामा मलाई मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद। कसैलाई गोर्खा कपको बरेमा केही प्रश्न छ भने मलाई र मेरो टिमलाई फोन गरेर सोध्न सक्नुहुन्छ ।