फ्लीट, यूके । ताङतिङ नौंचु पैंगीलम भाइखलक यूकेको दोस्रो भेटघाट तथा चेलीबेटी सम्मान कार्यक्रम-२०२५ भव्य रुपमा सम्पन्न भएको छ ।
क्रुकह्याम मेमोरियल हलमा गत आइतबार अक्टोबर १२ तारिख २०२५ मा ताङतिङ नौंचु पैंगीलम भाइखलक यूकेका अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एमबीईको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रम ज्येष्ठ आमा सुलामय गुरुङ, चेली सीता गुरुङ, संरक्षक मेजर बालासिङ गुरुङ तथा सल्लाहकार आसबहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी समुद्घाटन गरेका थिए । दीप प्रज्वलन सँगै संरक्षक मेजर बालासिङ गुरुङले शुभकार्य गर्दाको मन्त्र उद्दरण गरेका थिए । लगत्तै, उपाध्यक्ष बखत गुरुङले भाइखलकको तर्फबाट उपस्थित सबैलाई स्वागत गरेका थिए ।
ताङतिङका नौंचु पैंगीलम भाइखलक यूकेको तर्फबाट उपस्थित छोरी, ज्वाइँहरुलाई (चेलीबेटीहरु र ज्वाइँहरुलाई) खादा लगाई भव्य स्वागत गरिएको थियो । त्यस्तै, कार्यक्रममा नेपालबाट पारिवारिक भ्रमणका लागि बेलायत आएका भाइखलकहरु पैंडी जसबहादुर गुरुङ तथा उनकी श्रीमती शिरमाया गुरुङ, कलाकार सुबेदार मन्त्रीजंग गुरुङ तथा उनकी धर्मपत्नी, कुमान सिंह (गणेश) गुरुङ तथा उनकी श्रीमती राधा गुरुङ, फुलाकाशी गुरुङलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा यस वर्ष विवाहित भएका, पदोन्नति भएका, नयाँ सन्तान प्राप्त गरेका, नयाँ घर किनेका र ग्राज्युएट गरेका सदस्यहरु र परिवारजनलाई भाइखलकको तर्फबाट बधाई तथा शुभकामना दिइएको थियो ।
कार्यक्रममा चेली योगा गुरुङले आफू सानो हुँदा स्वर्गीय मुवालाई उनको बाबा माइतीले दसैंको भात "रि चमी कै" खाना बोलाउँदाको क्षण स्मरण गर्दै अहिले आफ्नो पनि पालो आउँदा अत्यन्तै खुशी लागेको र आत्मीयता बढेको सुनाए । साथै उनले आफैंले रचेको कविता वाचन गरेकी थिइन् । त्यस्तै चेलीबेटीहरुले स्वादिष्ट भोजन तथा सम्मानका लागि बाबा माइतीलाई धन्यवाद दिँदै चेलीबेटीहरुले ल्याएको कोसेली बाबामाइतीलाई हस्तान्तरण गरिएको थियो भने बाबा माइतीले पनि चेलीहरुलाई धन्यवाद स्वरुप स्युला प्रदान गरेको थियो ।
त्यस्तै कार्यक्रममा छोरी प्रतिक्षा गुरुङ र भान्जी सृष्टि गुरुङले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने सधैंको जस्तो महिला सदस्यद्वय पदममाया गुरुङ तथा ननसुबा गुरुङले जोकर अर्थात् हँसाउने नृत्य प्रस्तुत गरे । कार्यक्रममा नेपालबाट हाल बेलायत घुम्न आएका कलाकार सुबेदार मन्त्रीजंग गुरुङ, सदस्य हिराजंग गुरुङ, बुहारी निता गुरुङ, भान्जा प्रसिम गुरुङ र गायिकाद्वय एलिना गुरुङ अनि प्रिया गुरुङले "गलबन्दी चिनो" भन्ने चर्चित गुरुङ गीतमा रमाइलो नृत्य प्रस्तुत गरेका थिए । साथसाथै आफ्नै गाउँठाउँको प्रसिद्ध गायिकाहरु एलिना गुरुङ (ताङतिङ) र प्रिया गुरुङ (याङ्जाकोट)ले गुरुङ तथा नेपाली गीतहरु गाएर सबैलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा भाग्यशाली रमाइलो चिठ्ठा पनि खेलाइएको थियो ।

औपचारिक कार्यक्रमको अन्त्यमा भाइखलकका अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एमबीईले उपस्थित सबैलाई धन्यवाद दिँदै भाइखलकको दोस्रो कार्यक्रम पनि सफल र भव्य बनाउन प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण कार्यसमिति सदस्यहरु, भाइखलकहरु र चेलीबेटीहरुलाई धन्यवाद अनि आभार प्रकट गरेका थिए ।
प्रमुख कार्यक्रम र चिठ्ठा कार्यक्रम भाइखलकका उपाध्यक्ष बखत गुरुङले संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम भाइखलक हिराजंग गुरुङले संचालन गरेका थिए ।
कार्यक्रमको प्रमुख संयोजन (व्यवस्थापन) भाइखलकका महासचिव तर्कजङ गुरुङले गरेका थिए ।
