आधुनिक र तमु मातृभाषाका गायिकाको रुपमा परिचित पवित्र गुरुङ यस क्षेत्रमा लाग्नुभएको एक दशक पुग्दै छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका ४ मा जन्मिनुभएकी पवित्र वि.सं. २०७२ सालमा एसईई दिएपछि उच्चशिक्षाका लागि काठमाडौं प्रवेश गर्नुभयो । काठमाडौंमा औपचारिक अध्ययनसँगै संगीत कक्षा लिएर उहाँले सांगीतिक क्षेत्रमा निरन्तरता दिनुभयो । परिणामत: पवित्र दशक नपुग्दै स्थापित गायिकाको रुपमा सांगीतिक उद्योगमा देखिनुभएको छ । यस क्षेत्रमा पाएको सफलतालाई दिदी गरिमा गुरुङको मार्गदर्शन मूल कारण ठान्नुहुने गायिका पवित्र गुरुङसँग बेलायत भ्रमण र सांगीतिक यात्राबारे गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा मिलन तमुले गर्नुभएको कुराकानीको सम्पादित अंश :
बेलायत आएपछि कार्यक्रमहरु कत्तिको भइरहेको छ ?
१२ अप्रिलमा ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको नयाँ वर्ष कार्यक्रम थियो । उक्त कार्यक्रम राम्रो भयो । १८ अप्रिलमा नर्थ इङ अस्पतालमा धेरै नेपालीहरु काम गर्नुहुँदोरहेछ । त्यहाँ उहाँहरुले राख्नुभएको कार्यक्रममा सहभागी भएँ । यस्तै १९ अप्रिलमा तमु प्ये ल्हु संघ यूकेको कल्याणकारी रात्रिभोज कार्यक्रममा पनि प्रस्तुति दिन गएँ । २० मा सीएनसीबीजीको वार्षिक साधारणसभा तथा नयाँ वर्ष उत्सवमा गएँ । २५ अप्रिलमा डिलाउन्ज रेस्टुरेन्टमा पनि कार्यक्रममा भाग लिएँ ।
बेलायत भ्रमण कतिऔं पटक हो तपाईंको ?
म पहिले २०२१ मा आदरणीय मामा हितकाजी गुरुङको कार्यकाल हुँदाखेरी तमुधीं यूकेको ल्होछार कार्यक्रमका लागि आएको थिएँ । त्यो पहिलो अन्तर्राष्ट्रिय सांगीतिक भ्रमण थियो । यो दोस्रो भ्रमण ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको निमन्त्रणामा गत अप्रिल ९ मा यहाँ आएकी हुँ । जीआरएनसी यूकेको १२ अप्रिलमा नयाँ वर्ष कार्यक्रममा हामीले प्रस्तुति दियौं ।
नेपाल र बेलायतमा कलाकारलाई माया गर्ने सबालमा कस्तो पाउनुभयो ?
यूकेमा त म पहिलो पटक आउँदामै इम्प्रेस भएकी थिएँ । यूकेमा कलाकारलाई गर्ने रेक्स्पेक्ट, माया, साथ सहयोगले यस्तो हुँदोरहेछ यूकेमा ! भन्ने अचम्मित भएँ । पहिले जसरी नै अहिले पनि त्यस्तै साथ र माया पाइरहेकी छु । नेपालमा पनि माया गर्नुहुन्छ । तर त्यहाँभन्दा यहाँ अलि बढी हो कि भन्ने लाग्यो ।
नेपाल र बेलायतको अवस्थाको भिन्तता चाहिँ ?
पहिलो त टाइमटेबलको भिन्नता भयो । वातावरण पनि चट्ट परेको । सरसफाइ राम्रो छ बेलायतमा । सबै जना टाइममा टकटक हिँड्ने । त्यो कुरामा नेपालमा चाहिँ व्यवस्थापन कमजोरी छ । रुल्स पनि राम्रो छ । नेपालमा पनि विस्तारै होला नि !
अब तपाईंको सांगीतिक यात्राबारे कुरा गरौं, कुन गीतबाट कहिलेदेखि सांगीतिक यात्रा सुरु गर्नुभयो ?
गाउन त बच्चैदेखि गाउँथेँ । स्कुलमा,गायन प्रतियोगिताहरुमा भाग लिन्थे । हाम्रो पालादेखि एसएलसीको सट्टा एसईई भयो । २०७२ मा एसईई दिएर म काठमाडौं आएँ कलेज पढ्न भनेर । मेरो जेठी दिदी हुनुहुन्छ गरिमा गुरुङ । दिदीले गर्दा म यहाँसम्म छु । उहाँले धेरै सहयोग गर्नुभयो । म्युजिक क्लासहरु लिनुपर्छ भन्ने पनि मलाई थाहा थिएन । दिदीले नै क्लासहरु खोजेर ज्वाइन गरिदिनुभयो । जब क्लास ज्वइन गरेँ । त्यसपछि म्युजिकमा अलि सिरियस भएको हुँ ।
पहिले ड्रिमर भन्ने ब्यान्ड थियो । त्यसमा रिया मान्नधर, मदन शाक्य, महेश शाक्य र म । हामी चार जना ब्यान्ड सदस्यहरु थियौं । त्यहाँबाट नक्कली कान्छी भन्ने पहिलो गीत रेकर्ड गरेँ । त्यसपछि गुरुङ गीतबाट अगाडि बढेँ । ब्यान्डमा समयका कारणले बन्द भयो । पछि आदरणीय दाइ फिन्जो पाख्रिनको शब्द/संगीतमा मायाको चिनो भन्ने गीत आरसी रिमाल दाइ र मैले गाए । त्यसपछि आदरणीय दाइ तिलकबहादुर गुरुङले ओ ङाला माया गुरुङ गीत दिनुभएको थियो । त्यसरी नै सांगीतिक यात्रा सुरु भयो ।
गुरुङ भाषा पनि आउँथ्यो उसोभए ?
पहिले आउँदैनथ्यो । तर अहिले फर्काउन नसके पनि बुझ्छु ।
तपाईंको गाउँ चाहिँ कहाँ ?
मेरो गाउँ नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ ।
त्यहाँका गुरुङहरुले गुरुङ भाषा बोल्दैनन् ?
बोल्नु हुन्न ।
भाषा नजाने पनि गुरुङ गीतबाट सांगीतिक यात्रा अघि बढेछ, कसरी ।
त्यो चाहिँ मेरो अहोभाग्य हो ।
भाषा नजान्दा गाउन अप्ठ्यारो परेन ?
सुरुमा त एकदमै अप्ठ्यारो परेको थियो । तिलक दाइको गीत रेकर्ड गर्दा उहाँ चितवनमा घरमा हुनुहुन्थ्यो । मैले गीत काठमाडौंमा रेकर्ड गरेको । गाइड गर्ने मान्छे कोही पनि भएन । स्टुडियोमा हामी गाउँदै थियौं । धेरै घण्टा लागिसकेको थियो, उच्चारण नमिलेर । जिन्दगीमा पहिलोचोटी गुरुङ गीत गाउँदै थियो । त्यही बेलामा आदरणीय आरके दाइ ठ्याक्कै स्टुडियोमा आउनुभएछ । मलाई समस्या परिरहेको बेलामा उहाँले अति गाइड गर्नुभयो । उहाँले यत्ति ठूलो गुन लगाउनु भएको छ । उहाँले मद्दत मात्रै होइन डोर्याएर ल्याउनुभयो । उहाँकै कारण पहिलो कौडा गीत पनि मैले गाउन पाएँ 'बारपाक सुलिकोट'। त्यसरी नै जोडिएर गुरुङ म्युजिक इन्ड्रस्टिजमा अहिलेसम्म निरन्तर छु ।
भ्वाइस अफ नेपालको यात्राचाहिँ कसरी सुरु भयो ?
मलाई सहयोग गर्नुहुने व्यक्तित्वहरुको नाम लिँदा दिनै जान्छ, धेरै जनाले सपोर्ट गर्नुभएको छ । भ्वाइस अफ नेपाल भनेको इन्टरनेसनल रियालिटी शो हो । यसको आफ्नै वेट छ । मलाई जाने रहर थियो तर सक्दिनँ होला भन्ने डर लाग्थ्यो । अमेरिका निवासी दाइ प्रेम गुरुङले बहिनी तिमीले सक्छौं । जानुपर्छ भनेर । तिमीसँग भएको प्रतिभा लुकाउनु हुन्न । एकदमै धेरै इनकरेज गर्नुहुन्थ्यो । त्यसपछि मैले भ्वाइस अफ नेपालको सिजन फोरमा एप्लाइ गरेँ । ब्लाइन्ड अडिसनदेखि टीभीमा प्रसारण हुन्छ । त्यसअघि डिजिटल अडिसन दिनुपर्थ्यो । त्यसमा सेलेक्ट भइसकेपछि फिजिकल अडिसन हुन्छ । त्यसपछि ब्यान्डसँग गाउन सक्छ कि सक्दैन भनेर त्यहाँ गाउन लाउने । त्यसपछि मात्रै ब्लाइन्ड अडिसनमा पुग्ने हो । म ब्लाइन्ड अडिसनमा पास भए पछि कोच टिम राजुमा गएँ । दोस्रोमा ब्याटल राउन्ड र तेस्रोमा नकआउट राउन्डसम्म पुग्यौं । हामी तीनजना साथीहरु थियौं गुरुङैगुरुङ । सिक्किमका रेवास गुरुङ, बुटवलका दिपेश गुरुङ र म (पवित्रा) गुरुङ । त्यसमा दिपेश र म पछाडि पर्यौं । रेवासले जितेर अगाडि बढे । मारे ट झलल गुरुङ गीत उहाँले मेल भ्वाइसमा गाउनुभएको छ । मेरो लागि एकदमै नयाँ थियो, सिक्ने अवसर पाएँ ।
सांगीतिक क्षेत्रमा लागेर तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदमै सन्तुष्ट छु । किनभने मैले आफैंले चुज गरेको फिल्ड हो । जति कर्म गरेको छु, त्यति नै फल पाइरहेको महसुस गरेको छु । सबै दर्शकको माया, सहयोग पाइरहेको छु ।
यो क्षेत्रमा लाग्दै गर्दा परिवारको सहयोग कस्तो रह्यो ?
परिवारबाट राम्रो सपोर्ट छ । सुरु सुरुमा गर्न सक्दैनन् कि भनेर परिवारले विश्वास गर्नुहुन्न । त्यसमा सबै आफूमा भर पर्छ । मेरो बुबा-आमा, दिदीहरु एकदमै खुसी हुनुहुन्छ । सपोर्ट पनि गर्नुहुन्छ । विशेषगरी मेरो दिदी गरिमा गुरुङले सहयोग पहिलेदेखि नै गरिरहनुभएको छ । दिदीले यत्ति धेरे सहयोग गर्नुभएको छ, त्यहीअनुसार मैले गर्न सकिन्छ कि सकिँदैन भन्ने डर थियो । भविष्यमा के हुन्छ थाहा भएन । अहिलेसम्म राम्रो भइरहेको छ ।
तपाईंलाई दोहोरी गीत गाउन पनि आउँछ ?
माफ गर्नुहोला मलाई दोहोरी लाइभमा गाउन आउँदैन । लेखेर दिनुभयो भने गाउन सकिने मात्र हो । म विशेषगरी आधुनिक र गुरुङ गीत गाउने गर्छु । तर सबै खालका गीत गाउन मन पर्छ ।
नयाँ पुस्ता पनि गायन क्षेत्रमा लाग्न तम्सिरहेका हुन्छन् । उनीहरुलाई के सुझाव दिनुहुन्छ ?
सुरुमा आफूलाई भित्रदेखि इच्छा हुनुपर्यो । इच्छा सँगसँगै एक/दुईवटा गीत गाइदिऊ न भन्दा पनि फ्युचरको अन्त्यसम्म यही क्षेत्रमा हुने कमिटमेन्ट हुनुपर्यो । म अहिले जे जस्तो अवस्थामा छु, सुरुमा त यस्तो थिएन । मैले दिन दु:ख गरे होला । सुरुमा कतिपय समयमा रिजल्ट आउँदैन, अनि यो क्षेत्र मेरो लागि होइन कि भन्ने लाग्छ । सक्दिनँ कि भन्ने लाग्छ । त्यसमा गर्दै जान्छु भविष्यमा भोला भनेर लाग्नुपर्छ । भोकल वा कक्षाहरु चाहिँ लिनुपर्छ । सिक्नुपर्छ । ्
अन्त्यमा केही भन्नुहुन्छ ?
म अहिले यूकेमा छु । ग्रेटर रसमुर नेपाली कम्युनिटीको निमन्त्रणामा दोस्रो पटक यहाँ छु । पहिलोपटक तमुधीं यूकेको निमन्त्रणामा २०२१ मा आएको थिएँ । जीआरएनसी, तमुधीं यूकेलाई एकदमै धन्यवाद दिन चाहन्छु । मेरा शुचचिन्तकहरुले माया, साथ सहयोग दिइरहनुभएको छ । आशा छ, भविष्यमा पनि साथ सहयोग दिनुहुनेछ । गोर्खा मिडियाप्रति पनि आभारी छू । मेरो टाइमले भ्याएसम्म हजुरहरुको कार्यक्रममा आउनेछु । बेलायतवासी नेपाली संघसंस्था र सबै शुभचिन्तकहरुमा आभारी छु ।