प्रत्येक वैशाख १ गते हामी निस्फिक्री नयाँ वर्षको शुभकामना साटासाट गर्ने गर्छौ । जब यो नयाँ वर्षको विरासत के हो भनेर जानकारी हुने बित्तिकै चाहिँ सतर्क हुने गर्छौ अर्थात् सतर्क हुनपर्ने हुन्छ । शुभकामना साटासाट जुनसुकै अवसरमा गर्नुलाई नराम्रो मान्न सकिन्न तर सोच्नुपर्ने कुरा चाहिँ आफ्नो विरासतलाई बिर्सिएर अरू कसैको विरासतको पो चाहिने भन्दा बढी जयजयकार गरिरहेका छौ की? त्यही जयजयकारले आफैलाई औपनिवेशिकको सिकार पो बनिरहेका छौ की ख्याल गर्न जरुरी हुन्छ ।
भारतको उज्वैन राज्यको हिन्दु राजा बिक्रमादित्यले गैर हिन्दु अर्थात् शूद्र शासक शकसलाई भारतको मुल्तान नजिकको कुरुक्षेत्रको युद्धमा मारेपछि नयाँ युगको सुरुवात भयो भनी नवौँ शताब्दीमा यो संवत्को सुरुवात भएको मानिन्छ । सामान्यतया बैशाख १ गतेको नयाँ वर्ष भारतको एक प्रान्त उज्वैनको राजा बिक्रमादित्यको विरासत हो । हामी नेपाली हौँ तर भारतीय विरासतको जयजयकार गरिरहेका हुन्छौ । त्यति मात्र होइन बिक्रमादित्य हिन्दु राजा भएकोले यसलाई हिन्दु नयाँ वर्ष र भारतीय नयाँ वर्ष पनि भन्ने गरिन्छ । गजब चाहिँ इतिहासको विरासत भारतको छ तर बडो हर्सोल्लासको साथ नेपालकाले नयाँ वर्ष मनाउँछन्, त्यसमा पनि गैर हिन्दु आदिवासीहरूले अन्धाधुन्ध मनाउँछन् । तर पछिल्लो समय ख्याल गर्ने हो भने नेपालका हिन्दुहरूले पनि नेपाली नयाँ वर्ष भन्न छोड्दै गएका छन् । उनीहरू नयाँ वर्ष मात्र भनेर शुभकामना साटासाट गरिरहेका हुन्छन्, केही आदिवासीहरूले चाहिँ नेपाली नयाँ वर्ष भनेर शुभकामना कार्ड बाँडी रहेका हुन्छन्, उनीहरूले यो क्यालेन्डरको इतिहासबारे ख्यालै गरेकै छैनन् ।
वास्तवमा के हो त क्यालेन्डर (पात्रो) ? सामान्य भाषामा चन्द्रमा र सूर्य घुमिरहेको हुन्छ, त्यही घुम्ने क्रमको गतिको गणना नै क्यालेन्डर हो । यो गणित हो, विज्ञान हो । चन्द्र र सूर्यको गतिको गणना जो कसैले गर्न सक्छ । मुख्यतया ३ कुराको आधारमा क्यालेन्डर निर्माण हुन्छ । १. चन्द्रमाको गतिको आधारमा, २. सूर्यको गतिको आधारमा र ३. चन्द्रमा र सूर्य दुवैको गतिको आधारमा, पछिल्लो समय केतकी ग्रह गणितको आधारमा समेत नयाँ पात्रो निर्माण गरिने बताइएको छ ।
विश्वमा ४० भन्दा बढी क्यालेन्डर प्रचलनमा रहेका छन् । क्यालेन्डरहरू धर्म र सभ्यताको आधारमा विकास भई प्रचलनमा रहेको पाइन्छ । इस्लामहरूले चन्द्रमाको गतिको आधारमा हिज्रिक संवत् प्रयोग गर्छन् भने हिन्दुले चन्द्रमाकै गतिको आधारमा विक्रम संवत् र सूर्यको गतिको आधारमा शक संवत् प्रयोग गर्दछन् । बुद्धिस्ट अर्थात् चाइनिजहरूले चन्द्रमा र सूर्य दुवैको गतिको आधारमा निर्माण गर्ने गर्दछन् ।क्रिश्चियनले सूर्यको गतिको आधारमा गेग्रोरियन क्यालेन्डर निर्माण गर्ने गर्छन् त्यस्तै क्रिश्चियनले नै जुलियन क्यालेन्डर पनि प्रयोग गर्ने गर्छन् । जुईस/यहुदीहरुले चन्द्र र सूर्य दुवैको गतिको आधारमा निर्माण भएको क्यालेन्डर चलाउँछन् भने पर्सियन हिज्रिक क्यालेन्डरलाई विश्वमै ठ्याक्कै समय मिल्ने क्यालेन्डरको रूपमा लिइन्छ ।
अनेक क्यालेन्डरहरू मध्ये विश्वकै सबैभन्दा वैज्ञानिक क्यालेन्डर गेग्रोरियन क्यालेन्डर मानिन्छ र विश्वभर यही क्यालेन्डरमा आधारित भई दैनिक, साप्ताहिक, मासिक र वार्षिक योजनाहरू बन्ने गर्दछन् । कसरी यो क्यालेन्डर वैज्ञानिक मानिन्छ सो कुराको रहस्य यस्तो छ: एक वर्षमा कति पटक चन्द्रमाले पृथ्वीको चक्कर लगाउँछ भन्ने थाह पाउनु पर्दछ । सामान्यतया ३६५ दिन, ६ घण्टा र ९ मिनेटको एक वर्ष हुन्छ । यसर्थ प्रत्येक वर्ष ६ घण्टा र ९ मिनेट उब्रन्छ । त्यो ६ घण्टा प्रत्येक ४ वर्षमा २४ घण्टा बन्न जान्छ र एक दिन हुन्छ । त्यो एक दिनलाई गेग्रोरियन क्यालेन्डरले फेब्रुअरीमा लगेर थपी दिन्छ तब त्यो साल २९ दिन भएको फेब्रुअरी हुन्छ, सामान्यतया प्रत्येक फेब्रुअरी २८ दिनको हुने गर्दछ । त्यसैले भनिन्छ फेब्रुअरी २९ मा जन्मेका व्यक्तिले प्रत्येक ४ वर्षमा मात्र उसको जन्मोत्सव मनाउन पाउँछ । यसरी चन्द्रमाको गतिको गणनासँगै मिलान गरिने भएकोले यो गेग्रोरियन क्यालेन्डर वैज्ञानिक मानिन्छ र विश्वभर चलाइन्छ ।
अत्यधिक नेपालीले चलाउने अर्थात् नेपाल सरकारले प्रयोग गर्ने विक्रम संवत् अर्थात् हिन्दु क्यालेन्डरमा चाहिँ प्रत्येक वर्ष बाँकी हुन आउने ६ घण्टालाई मिलान गरिन्न । प्रत्येक ४ वर्षमा १ दिन फाल्टो दिन हुन आउँछ भने १०० वर्षमा २५ दिन फाल्टो दिन हुन आउँछ । यो वर्ष लगभग २९ दिन फाल्टो दिन भएको हुनुपर्छ । यसर्थ वैशाख १ गते भनिए पनि वास्तविक चैत्र ३ वा ४ गते हुनुपर्दथ्यो तर छिटो हुन गयो । इतिहासलाई सम्झने हो भने वि.स. २०६८ ताका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिना चैत्रलाई हटाएर एकै चाटी वैशाख सुरु गरी मिलाउने निर्णय गरेका थिए तर पञ्चाङ्ग निर्णायक समिति लगायतका ज्योतिषहरूले विरोध गरेको कारण त्यो कार्यान्वयन हुन सकेन । विरोध गर्नुको कारण थियो क्यालेन्डरको सफ्टवेयर भर्खरै मात्र करोडौँ लगानी गरेर बनाइएको र चैत्र हटाउँदा सो सफ्टवेयर काम नलाग्ने अवस्था हुने भएकोले भन्ने सुनियो । यसरी अहिले नेपालमा अवैज्ञानिक क्यालेन्डर प्रचलनमा छ । प्रत्येक ४ वर्षमा बन्न जाने फाटो १ दिनलाई मिलान गरिएको वर्षलाई मधुमास पनि भनिन्छ । यही मधुमास मिलानमा वैज्ञानिकीकरण एकरूपता नहुँदा भारतमा मनाइने विक्रम संवत् पनि फरक परेको पाइन्छ । वास्तवमा वैशाख १ गते भन्छौ, मान्छौ तर गति चाहिँ लगभग जेठ १ गतेको हाराहारी पुगेको छ । प्रत्येक २४ वर्षमा १ दिन फाल्टो निस्कन्छ र १२० वर्षमा ३० दिन फाल्टो निस्कन्छ । कहिले देखि मधुमास मिलान गरिएन र कहिले देखि मधुमास मिलान गर्न थालियो भन्ने यकिन भएको खण्डमा नयाँ वर्षको सुरुवात कति दिनले गलत छ भन्न सकिन्छ । वि.स. २०६८ मा करिब २७ दिन अगाडी गएको मान्ने हो भने १४ वर्ष पछाडि साढे ३ दिन जोड्दा ठिक एक महिना फाल्टो भएको मान्न सकिन्छ । समग्रमा विक्रम संवत् अवैज्ञानिक छ । एक महिना हटाएर चन्द्रमाको गति र क्यालेन्डर मिलाउन आवश्यक छ ।
भारतका सबै राज्यहरूमा र केन्द्र सरकारले गेग्रोरियन क्यालेन्डरमा कार्यक्रम तर्जुमा गर्ने गर्दछ यद्यपि केही राज्यहरूमा विक्रम संवत् पनि चलाउँछन् तर उनीहरूले भारतमा पहिले नै एक महिना हटाएर मिलान गरिसकेको अर्थात् मधुमास वर्षलाई पहिला देखि नै मिलान गर्न थालेको कारण नेपालले मनाउने विक्रम संंवतको नयाँबर्ष र भारतले मनाउने विक्रम संवतको नयाँ बर्षको दिन फरक फरक हुने गर्दछ ।
भारतमा सामान्यतया ५ वटा क्यालेन्डरहरू गेग्रोरियन (अंग्रेजी), हिन्दु शक संवत्, विक्रम संवत्, हिज्रिक संवत् र बुद्धिस्ट संवत् प्रयोग गर्दछन् भने नेपालमा ७ वटा संवत्हरू प्रयोग गरेको पाइन्छ । भारतका तिनै पाँच क्यालेन्डरहरूमा थप नेपाल संवत् र किरात यलम्बर संवत्को क्यालेन्डर नेपालमा प्रयोग हुने गरेको पाइन्छ ।
यी माथिका क्यालेन्डरहरू प्राय सबैको गणना मिलान भएको पाइन्छ तर किरात यलम्बर संवत्को भने अहिले निक्कै विवादमा रहेको छ । प्रथम किरात राजा यलम्बरले शासन सुरु गरेको बिन्दुलाई गणनाको सुरुवात मानिएको छ । सामान्यतया अन्तर्राष्ट्रिय अभ्यास अनुसार लगभग २५ वर्षलाई एक पुस्ता मानिन्छ । डब्लुडब्लुडब्लु डट वल्डपपुलेशन रिभ्यू डटकम स्रोतका अनुसार अहिलेको संघीय लोकतान्त्रिक शासन व्यवस्था (२००८–२०२४) १६ वर्ष भयो त्यसअघि शाह वंशको १३ पुस्ताले (१७६८–२००८) १४२ वर्ष शासन गर्यो । शाह वंश अघि मल्ल वंशले (१२००–१७६८) ५६८ वर्ष, मल्ल वंश अघि लिच्छवी वंशले (३००–१२००) ९०० वर्ष शासन गरे भने लिच्छवी वंश अघि (८००–३००) ११०० वर्ष किरातहरूले शासन गरे भन्ने इतिहास पाइन्छ । यसलाई आधार मान्ने हो भने किरात यलम्बर संवत् ३१२४ भएको देखिन्छ ।
काठमाडौँ मालिगाँउमा पाइएको र हाल राष्ट्रिय संग्राहलयमा एक सालिक रहेको छ । सो सालिक जयवर्मा नामको राजाले आफ्नो राज्य स्थापना गरेको उपलक्ष्यमा आफ्नो सालिक सो मितिमा खडा गरेको बुझिन आउँछ । यस आधारबाट किरात शासनको अन्त्य संवत् १०७ (ई.सं. १८५) मा भएको र वर्मा वंशको शासन सुरु भएको देखिन आउँछ । यस काल गणनाको आधारमा गोपालराज वंशावलीमा वर्णित ३२ पुस्ता किरात राजाहरूको शासन वर्षका अंकहरू सबै जोडेर हिसाब गर्दा हुन आउने काल गणनालाई किरात राजवंशको शासन अवधि मान्नु पर्ने देखिन्छ भन्ने तर्कलाई मान्ने हो भने अहिले सन् २०२४ मा किरात येले संवत् ३८०३ हुन आउँछ । विडम्बना ४ वंश अगाडीको किरात काल अर्थात् प्रथम किरात राजा यलम्बरले शासन सुरु गरेको गणना भनी किरातजन्य संस्थाहरूले ५०८४ प्रयोग गर्छन् जुन लज्जाजनक छ । किरात काल पछि सोम वंश रहेको भन्ने पनि चर्चामा छ त्यसको गहिराइमा पुग्न जरुरी छ ।
सामान्यतया अंग्रेजी नयाँ वर्ष भनेर गेग्रोरियन क्यालेन्डर अन्तर्गतको जनवरी १ लाई मनाउने विश्वभरमा चलन छ वास्तवमा यो अंग्रेजी संवत् भन्नु पूर्णरुपमा सही होइन इटालीको बोलग्नाका एक पोप गेग्रोरिय आठौँले सन् १५८२ सुरु गरेका क्यालेन्डर हो । क्रिश्चियन समुदायमै प्रचलनमा रहेको जुलियन क्यालेन्डर वा गेग्रोरियन कुन चलाउने भन्ने बारेमा पनि लामो समय बहस भएको पाइन्छ, अझै पनि रसियन, अर्थोडक्सहरु जुलियन क्यालेन्डर चलाउँछन् र उनीहरू सोही पात्रोको आधारमा जनवरी ७ तारिखका दिन क्रिसमस मनाउने गर्दछन् तर वैज्ञानिक क्यालेन्डर भएकोले विश्वभर अहिले गेग्रोरियन क्यालेन्डर नै प्रयोग हुँदै आएको छ । विरासतको हिसाबले होइन वैज्ञानिकताको आधारमा सोही नयाँ वर्षलाई पनि हर्षोल्लासपूर्वक मनाउन सकिन्छ ।
कान्तिपुर दैनिकमा यही ३१ चैत्र २०८१ मा प्रकाशित वसन्त थापाको लेखमा उल्लेख भए अनुसार २९ चैत्र २०५९ का दिन गोरखापत्रमा जानकारी छापिएको उल्लेख छ र सो छापिएको जानकारी अनुसार विक्रम संवत्लाई नेपालको कामकाजी भाषाको रूपमा चन्द्रशमशेरको पालामा विक्रम संवत् १९७० देखि चलाएका हुन् । भारतीय विरासत बोक्ने संवत्लाई नेपालले प्रचलनमा ल्याएको अहिले १११ वर्ष भएको मानिन्छ ।
कसरी नेपालमा क्यालेन्डरहरूको विकास र व्यवस्थापन हुन्छ त्यो पाटोलाई पनि हेरौँ: नेपाल पंचाङ्ग निर्णायक विकास समिति २०२५ सालमा स्थापना भई हाल नारायणहिटी दरबार भित्र यसको कार्यालय रहेको छ । सरकारको ठूलो सेवा सुविधाबाट यो पञ्चाङ्ग समिति सञ्चालनमा छ । यो सरकारको अभिन्न अंग हो । रोचक कुरा अब २०८३ सालदेखि नै आउने गरी केतकी ग्रह गणितको आधारमा समेत नयाँ पात्रो निर्माण गरिने बताएका छन् । यही समितिले नेपालका अनेक पात्रोमध्ये कुन कुनलाई प्रकाशनको मान्यता दिने वा नदिने भन्ने निर्क्योलसमेत गर्छ । ख्याल गर्नुपर्ने कुरा ग्रह गतिको आधारमा तयार हुने पात्रो र राशिफल आध्यात्मिक नभई विज्ञान हो । मानिस जन्मँदा ग्रहहरूको स्थान (पोजिसन) कहाँकहाँ रहेको थियो भन्नेले प्रभाव पार्ने मानिन्छ । सो कुरालाई सूक्ष्म रूपमा हेर्नको लागि जुम्ल्याहा बच्चाहरूको हाउभाउ र आचरणलाई अध्ययन गर्दा प्रस्ट हुन्छ । त्यसैले ग्रहहरूको गतिको आधारमा निर्मित पात्रो, पात्रोमै आधारित राशिफलको ज्ञान हुनुलाई वाञ्छनीय मानिन्छ ।
वैशाख १ गतेको नयाँ वर्ष नेपाली विरासत बोक्ने नयाँ वर्ष होइन, भारत राजस्थानको उज्वैन राजाको विरासत बोक्ने हो भने कुन चाहिँ मौलिक नेपाली संवत् हो त? सम्भवतः नेपाल संवत्को नयाँबर्ष नेपाली माटोको सुगन्ध बोक्ने क्यालेन्डर हो तर व्यवस्थित र विकसित हुनु हो भने किरात यलम्बर संवत् नेपालको पहिलो र मौलिक संवत् हो किन कि नेपाल देश भनी अस्तित्वमा भेटिएको नै किरातकालदेखि भेटिन्छ । नेपाल देश पृथ्वीनारायण शाहले बनाएका होइनन्, करिब ३ हजार वर्षभन्दा अगाडीदेखि नेपाल अस्थित्वमा रहँदै आएको छ ।
अन्तमा, नयाँ वर्षको उल्लास छ तर नेपालीले गर्व गर्ने प्रकारको इतिहास त होइन रहेछ । त्यसो भए के गर्ने त? यसको सहज उपाय भनेको सामान्य रूपमा नयाँ वर्षको शुभकामना साटासाट गर्ने तर नेपाली नयाँबर्ष नभन्ने सिर्फ नयाँ वर्षको शुभकामना मात्र भने पुग्यो । अर्थात् विक्रम संवत् २०८२ को शुभकामना, हिन्दु नयाँ वर्षको शुभकामना, विक्रमादित्य नयाँ वर्षको शुभकामना आदि आदि भन्न सकियो । नयाँ वर्ष २०८२ अवसरमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना सहित बिदा ।