बागलुङ । प्रवासीको सहयोगमा काठेखोला गाउँपालिका–५ स्थित धार्मिक पर्यटकीयस्थल रामकोटधाममा पदमार्ग निर्माण गरिएको छ । वडा नं ६ शान्तिचोकदेखि त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने गरी सात सय २५ मिटर लामो पदमार्ग बनाइएको हो ।
पदमार्गका लागि विदेशमा रहेका बिहुँकोटेले आर्थिक सहयोग जुटाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष खगराज कँडेलले बताए । “जापान, अमेरिका, युरोपदेखि विभिन्न देशमा रहनुभएका बिहुँकोटे यो अभियानमा जोडिनुभएको छ”, उनले भने, “अहिलेसम्म झण्डै रु ६० लाख विदेशबाट आएको छ, थप सहयोग जुट्दैछ ।”
जापानमा रहेका प्रेम कँडेलको नेतृत्वमा आर्थिक सङ्कलन अभियान चलाइएको थियो । पदमार्गमा प्रवेशद्वार, रेलिङ, विश्रामस्थललगायतका काम छिट्टै सुरु गरिने समितिले जनाएको छ । रु २५ लाख बजेट भएमा बाँकी संरचना निर्माणले पूर्णता पाउने अध्यक्ष कँडेलले बताए । पदमार्ग बनाउन विदेशमा रहेका नेपालीबाट ठूलो सहयोग भित्रिए पनि राज्यका निकायको लगानी भने न्यून छ ।
पदमार्गमा गाउँपालिकाको रु तीन लाख बजेट परेको छ । यस वर्ष नाली निर्माणका लागि रु ७५ हजार मात्र छुट्याइएको जनाइएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रु छ लाख बजेट पनि पदमार्गमा खर्च भएको छ । चालु आवमा प्रदेश सरकारबाट रेलिङ निर्माणका लागि रु पाँच लाख बजेट आएको समितिले जनाएको छ ।
उक्त बजेटबाट झण्डै आधाजति दूरीमा रेलिङ राखिने भएको छ । पदमार्गसँगै ऐतिहासिक बिहुँकोट संरक्षणको योजना पनि अघि बढाइने भएको छ । सो योजनाका लागि पनि प्रवासीबाट थप सहयोग जुटाउन पहल भइरहेको छ । दुवै योजनामा झण्डै रु डेढ करोड लाग्ने अनुमान छ ।
पदमार्ग बनाउँदा ताराखोलाको स्लेट ढुङ्गासहित स्थानीय स्रोत र सीपको प्रयोग गरिएको छ । पर्यटनमैत्री हिसाबले पदमार्ग बनेको वडा नं ५ का पूर्वअध्यक्ष शिवप्रसाद कँडेलले बताए । पदमार्गको दायाँबायाँ वरपिपल, स्वामीलगायत धार्मिक महत्वका बोटवृक्ष लगाइएको छ ।
“पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि स्थानीयवासीको आउजाउसमेत सहज बनेको छ”, पूर्ववडाध्यक्ष कँडेलले भने, “पदमार्गले रामकोटधामको पर्यटकीय आकर्षण थप बढाएको छ ।” रामकोटधामलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन राज्यका निकायदेखि जनस्तरबाट लगानी र सहयोग जुटिरहेको छ । त्यस क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाएर काम थालिएको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।
रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा शिवरात्रि, अक्षयतृतीया र बर्सेनि जेठ ११ गते विशेष पूजाआजासहित मेला लाग्छ । मन्दिरमा भारतको नर्मदा नदीबाट ल्याइएको पाँच सय किलो बराबरको शिवलिङ्ग छ । मन्दिर परिसरमा उत्खनन गर्दा फेला परेका बसाहा, करुवा, कलसलगायतका ऐतिहासिक बस्तु पनि सङ्ग्रह गरेर राखिएको छ ।
त्यहाँ परमानन्द सन्यास आश्रम पनि छ । रामकोटधाममा विसं २०३१ देखि २०५६ सम्म परमानन्द संस्कृति गुरुकुल पाठशाला पनि सञ्चालनमा रहेको थियो । सशस्त्र द्वन्द्वको प्रभावले पछि उक्त गुरुकुल देवघाटधाममा सारिएको थियो ।
सोही गुरुकुललाई पुनः रामकोटधाममै सञ्चालन गर्ने उद्देश्यले बिहीबारदेखि ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले गुरुकुल स्थापना गरेका थिए । रामकोटधामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवका प्रमुख सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताए ।