पोखरा । तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न ‘धनबहादुर गुरुङ सांगीतिक साँझ २०८२’ कार्यक्रमबाट ३५ लाखभन्दा बढी रकम बचत भएको छ ।
तमु कलाकारहरूको हकहित र कल्याणका लागि स्थापना गरिएको तमु कल्याणकारी कोषका लागि आयोजित सांगीतिक साँझबाट ३५ लाख २४ हजार ५ सय ८९ रुपैयाँ बचत भएको आयोजकले जनाएको छ । गत फागुन ८ गते पोखरा रंगशालामा आयोजित सांगीतिक साँझबाट कुल ५६ लाख २४ हजार ४ सय ५८ रुपैयाँ संकलन भएको र विभिन्न शीर्षकमा भएको खर्च कटाएर उक्त रकम बचत गर्न सफल भएको तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिकी कोषाध्यक्ष टौसुबा गुरुङ (सविना) ले जानकारी दिइन् । बचत रकम तमु कलाकारहरूको हकहित, सहयोग तथा कल्याणका लागि प्रयोग गरिने उनले बताइन् ।
कार्यक्रम संयोजक गोरे गुरुङले सुरुमा १० लाख ७५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिए पनि देश तथा विदेशमा रहेका गुरुङ गीत–संगीतप्रेमीहरूको साथ र सहयोगका कारण कार्यक्रम अपेक्षाभन्दा धेरै सफल भएको बताए । हाल ३५ लाखभन्दा बढी रकम तमु कल्याणकारी कोषमा जम्मा भइसकेको उल्लेख गर्दै उनले निकट भविष्यमा उक्त कोषलाई ५० लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।

देशमा उत्पन्न विषम परिस्थितिका बीच पनि सबैको साथ र सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउँदै उनले सांगीतिक साँझले गुरुङ गीत–संगीतको क्षेत्रमा नयाँ इतिहास रचेको दाबी गरे । हजारौं दर्शकको उपस्थितिले गुरुङ गीत–संगीतको व्यवसायिक सम्भावना र उज्ज्वल भविष्यलाई प्रमाणित गरेको उनको भनाइ थियो ।
गुरुङ गीत–संगीतका यूग नायक धनबहादुर गुरुङले सम्पूर्ण सहयोगी, कलाकार, शुभेच्छुक तथा दर्शकहरूको साथ र सहयोगकै कारण कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको बताए ।
सो अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, विभिन्न संघसंस्था, समाजसेवी, स्वास्थ्यकर्मी, टिकट बिक्री वितरणमा सहयोग गर्ने व्यक्ति तथा सम्पूर्ण सहयोगीदातालाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
संघका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत मन्तब्य राखेका थिएभने सञ्चालन महासचिव नेत्र गुरुङले गरेका थिए ।