बेलायत । गत २३ जुन २०२६ का दिन लन्डनको उलविचमा गुल्मी (भार्सेली समाज युके) को वार्षिक भेटघाट तथा नयाँ कार्यसमिति चयन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
समाजका निवर्तमान अध्यक्ष छत्र श्रीस मगरको लामो नेतृत्व कार्यकालपश्चात् हिजो सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको हो। जसअनुसार समाजको नवनिर्वाचित अध्यक्षमा निवर्तमान उपाध्यक्ष प्रेम बुढाथोकी चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा रिम गलामी, महासचिवमा श्री टोय थापा मगर (BEM) र कोषाध्यक्षमा अमर थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

समाजको आमा समूहमा पनि नयाँ कार्यसमिति सर्वसम्मतिले चयन भएको छ। जसमा अध्यक्षमा श्रीमती पवित्रा बुढाथोकी, उपाध्यक्षमा श्रीमती किशन पुन, सचिवमा कुमारी थापा र कोषाध्यक्षमा श्रीमती गनु दर्लामी रहेका छन्। नयाँ कार्यसमितिलाई समाजका सम्पूर्ण सदस्यहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। सोही अवसरमा समाजमा महत्वपूर्ण योगदान पुर्याउने तथा विभिन्न विधामा उच्च सम्मान प्राप्त गरेका सदस्यहरूलाई सम्मान पत्रसहित विशेष सम्मान गरिएको थियो।
सांस्कृतिक मनोरञ्जनले भरिपूर्ण उक्त कार्यक्रममा 'द भ्वाइस अफ नेपाल' सिजन ७ की उपविजेता चर्चित गायिका पुनम गुरुङ दर्लामीका साथै अन्य कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो। विशेष गरी भार्सेलीहरूको मौलिक सोरठी नाच, भार्सेली ठारो भाका, सालैजो र झ्याउरेले उपस्थित सबैलाई गुल्मी भार्सेकै झल्को दिलाएको सहभागीहरूले बताए। लुम्बिनी प्रदेशकै एक नमुना पर्यटकीय स्थल 'मगर लाहुरे गाउँ' बनाउन बेलायतको यस समाजले ठूलो योगदान पुर्याएको कुरा कार्यक्रममा चर्चा गरिएको थियो।

कार्यक्रमको औपचारिक सत्र महासचिव श्री टोय थापा मगर (BEM) ले सञ्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रमको जिम्मा नवयुवाहरू सजिव राना, अजय भुजेल, नुतन श्रीस थापा, एडम पुन र अर्वन दर्लामीले सफलतापूर्वक निर्वाह गरेका थिए।
उक्त विशेष समारोहमा गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष एवं गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य श्री ओमप्रसाद थापा काउचा, बेलायत नेपाली नर्सिङ एशोसिएसनकी अध्यक्ष श्रीमती रस्मिता दर्लामी, समाजसेवी एवं 'रिडिङ फर्गटन ब्रिटिस गोर्खा च्यारिटी'का संस्थापक निर्देशक तथा समाजका सक्रिय सदस्य श्री चन्द्र बुढाथोकीको उपस्थिति रहेको थियो। त्यसैगरी गुल्मी जिल्ला समाज युकेका सल्लाहकार एवं व्यवसायी श्री मिन दर्लामी र मगर बौद्ध संघ युकेका अध्यक्ष श्री रिम गलामी लगायतको पनि उपस्थिति थियो। उपस्थित अतिथिहरू सबै भार्सेली समाज युकेकै संस्थापक तथा सक्रिय सदस्यहरू हुन्।
