पोखरा । अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा आगामी २० जेठ (३ जुन) मा छैटौँ अन्नपूर्ण म्याराथन आयोजना हुने भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समिति घान्द्रुकले यो साहसिक दौडको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
‘सबै मौसमका लागि पर्यटन’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो म्याराथनले अन्नपूर्ण आधार शिविर ९एबिसी० पदयात्रा मार्गको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । समितिका संयोजक ललित गुरुङले अन्नपूर्ण दिवसको अवसरमा हरेक वर्ष नियमित रुपमा यो प्रतियोगिता गर्दै आएको बताए । ‘यो म्याराथनले अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुगेको छ,’ उनले भने । यो वर्षको म्याराथनको प्राविधिक जिम्मेवारी हिमालयन एक्स्ट्रीमले सम्हालेको छ ।
म्याराथनको कुल दूरी ४२।१९५ किलोमिटर तय गरिएको छ । समुन्द्री सतहदेखि ४ हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु हुने यो दौड घान्द्रुकस्थित मेसराम बराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर टुंगिनेछ । धावकहरूले एबिसीबाट माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बाम्बो, सिनुवा, भनुवा, छोम्रोङ, ताउलु, घुर्जुङ, चुइले, मेलान्चे, कोम्रोङडाँडा र किमोङखोला हुँदै घान्द्रुकसम्मको कठिन र रोमाञ्चक बाटो तय गर्नुपर्नेछ ।
प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । म्याराथनमा प्रथम हुनेले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ३५ हजार रुपैयाँ नगद पुरस्कारका साथै पदक र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले ७ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । हालसम्म अर्जेन्टिनाका चर्चित धावक पाब्लो उरेटा र १३ जना विदेशीसहित ४० जना धावकले नाम दर्ता गराइसकेको संयोजक गुरुङले जानकारी दिए । धावकहरूले १५ जेठसम्म नाम दर्ता गराउन सक्नेछन् ।
संयोजक गुरुङका अनुसार म्याराथनको ९० प्रतिशत तयारी पुरा भइसकेको छ । अघिल्लो वर्षको तुलनामा यो पटक अन्तर्राष्ट्रिय धावकहरूको सहभागिता बढ्ने अपेक्षा गरिएको छ । म्याराथनको अवसरमा ‘अन्नपूर्ण पत्रकारिता पुरस्कार(२०८३’ वितरण र विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिनेछ । म्याराथनलाई सफलतापूर्वक सम्पन्न गर्न ५०१ सदस्यीय मूल व्यवस्थापन समिति र १३ वटा उपसमितिहरू सक्रिय छन् । यो बृहत् इभेन्टका लागि करिब ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यो दौडको ऐतिहासिक महत्व पनि उत्तिकै छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । सोही आरोहणको ७६ वर्ष पुगेको अवसरमा यो म्याराथन हुन लागेको हो । म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रूपमा विकास गर्ने योजना रहेको संयोजक गुरुङले बताए ।