लन्डन । बेलायतको ब्रेकनमा सांस्कृतिक कार्यक्रमसहित 'ब्रेकन फ्रिडम परेड' भव्यरुपमा सम्पन्न भएको छ ।
गोर्खालीहरु ब्रेकन आएर काम सुरु गरेको ५० वर्ष पुगेको अवसरमा यही जुनको १६ जुन २०२४ मा ब्रेकन टाउनको मुख्य सहरको केन्द्रमा विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ब्रेकन टाउनका मेयर, बेलायतका नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, हाउसको डेपुटी लो लेफ्टिनेन्ट, हाइ सेरिफलगायत आर्मीको कमाण्डरहरु, ब्रिगेड गोर्खाज कर्णल, स्थानीयसहित आठ/नौ सय जनाको उपस्थिति रहेको छ ।
यस्तै ब्यान्ड अफ द ब्रिग्रेज गोर्खाजको संलग्नता थियो भने गोर्खालीहरुको तर्फबाट नेपाली समाज ब्रेकन, धम्पुस परिवार युकेले उत्कृष्ट सांस्कृतिक प्रस्तुति गरेको थियो । यस्तै नेपालबाट आएकी नायिका लक्ष्मी गुरुङको नृत्यले धेरैको मन तानेको थियो । कार्यक्रममा धम्पुस परिवार युकेका अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतको पनि सहभागिता रह्यो ।
अनुकूल र उल्लासमय वातावरणमा भएको कार्यक्रममा स्थानीय र नेपालीले ५० वर्षसम्म ब्रेकन र आसपास पुर्याएको सहयोग र साथ दिएकोमा एकदमै प्रशंसा गरेको पाएको सहभागीले बताएका छन् ।
ब्रेकन नेपालको कास्की जिल्लास्थित धम्पुसको मितेरी गाउँ हो । ब्रेकनमा गोर्खापथ केही वर्षअघि स्थापना गरेको थियो । हालै ब्रेकनको ठूलो संग्रहालयमा नेपाल र गोर्खालीहरुको इतिहास झल्काउने एउटा कक्ष पनि खडा गरेको छ । त्यसमा जसले पनि हेर्न सक्छन् । ब्रेकन यस्तो ठाउँ हो, जहाँ नेपाली भिलेज युके परियोजना निरन्तर अघि बढिरहेको छ । जसको उद्देश्य नेपाल र वेल्सको कला, संस्कृतिलाई संरक्षण गर्ने ठाउँ स्थापना गर्न खोजिएको छ ।
नेपाल भिलेज युके परियोजनाको प्रमुख निर्देशक मेजर खुशीमान गुरुङ (एमभीओ) हुन् । जहाँ नेपालको धरहराको स्वरूप, त्यसैको छेउमा अस्थायी रुपमा बनाएको ढुंगेधारा, चौतारी, भाले, घन्टी, रोटेपिङलगायत नेपाली परम्परागत दैनिक प्रयोग हुने सामग्रीहरुले सबै पाहुनाहरुलाई आकर्षण गर्दछ ।
नेपाल भिलेज युके विधिवत स्थापना भएको दुई वर्षको अवसरमा दोस्रो वार्षिकोत्सव १८ मे २०२३ शनिबार मनाइएको थियो ।