लन्डन । साहित्यपोस्टमा २०८० सालमा प्रकाशित पर्या-कवितामध्ये किशन पौडेलको कविता ‘बुढो बागमतीको आलाप’ प्रथम भएको छ । साहित्यपोस्टले परा–अभियन्ता तथा साहित्यकार विजय हितानसँगको सहकार्यमा सुरु गरेको ‘पर्यासाहित्य’खण्डअन्तर्गत उत्कृष्ट कविता घोषणा गरिएको हो ।
जसमा समीम वैरागीको ‘नदुखाइदिनु मेरो छाती’ द्वितीय र भारती न्यौपानेको ‘धरा’ तृतीय भएका छन् । यसैगरी, खुपेन सुनुवारको ‘आदिम हिमनदीको विद्रोह आधुनिक सभ्यताविरुद्ध’, नारायण भट्टराईको ‘भिजेको सिरानीमाथि हरिया सपना’, प्रज्ज्वल अधिकारीको ‘औरही नदी’, राजु प्रधान हिमांशुको ‘दन्त्यकथा जस्तो लाग्छ मेरो नातिलाई’, रुपा थापाको ‘पृथ्वी बलिरहेछ’, शरद् शोभाको ‘सच्चा राष्ट्र सेवक’, र सुमन भट्टराईको ‘परा–क्रान्ति’ उत्कृष्ट १० कवितामा परेका छन् ।
वासुदेव अधिकारी, विमला तुम्खेवा र विजय हितान सम्मिलित तीन सदस्यीय निर्णायक टोलीले उत्कृष्ट कविता छनोट गरेको हो । प्रथम, द्वितीय र तृतीय हुने कविताका सर्जकलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ । विश्व नेपाली साहित्य महासंघ (विनेसाम)ले दसैँ–तिहारकोबीचमा काठमाडौँमा आयोजना गर्ने ‘विश्व सम्मेलन’का अवसरमा पुरस्कार प्रदान गरिनेछ ।
यस्तै, विनेसामको नवौँ वातावरण साहित्य गोष्ठी पनि सम्पन्न भएको छ । भर्चुअल रूपमा आयोजना गरिएको कार्यक्रममा चार दर्जनभन्दा बढी सर्जकले पर्यासिर्जना (कविता, मुक्तक, गजल, गीत, लघुकथा र हाइकु) वाचन गरे।
विश्व वातावरण दिवसको अवसर पारेर जुममार्फत् सञ्चालित गरिएको साहित्य गोष्ठीमा प्रमुख अतिथि-संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान पूर्वकुलपति, तथा मदन पुरस्कार विजेता सरु भक्त थिए । उनले ५० को दशकमा पोखराबाट आफूले संरक्षण कविता यात्रा संयोजन गरेको स्मरण गरे । ‘वैदिक कालमै मानिसलाई पृथ्वीको चिन्ता थियो, त्यसर्थ अहिले आएर विश्वको वातावरणप्रतिको चिन्ता नयाँ होइन वातावरणीय समस्या नयाँ हुन्,’ उनले भने ।
विशिष्ट अतिथि, समालोचक/साहित्यकार प्राडा गोविन्दराज भट्टराईले आफ्नो पुस्तक ‘उत्तर आधुनिक विमर्श’मा ‘इको क्रिटिसिजम् सिर्जना तथा समालोचनाको नवीनतम क्षेत्र’ भनेर एक अध्याय लेखेको जानकारी दिए । अब साहित्यकारले पर्याचिन्तनतिर लागेर सिर्जना कोर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।
कार्यक्रमका मुख्यवक्ता तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वातावरण अधिकृत रीना चौधरीले नेपालको वातावरणीय अवस्थाबारे जानकारी गराइन् ।
सन् २०१६ मा लन्डनदेखि सुरु भएको वातावरण साहित्य गोष्ठीको यो नवौँ शृंखला हो । नेपालमा पर्यासाहित्यलाई सांगठनिक तरिकाले प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाली पर्यासाहित्य प्रतिष्ठान’को स्थापना पनि गरिसकिएको विजय हितानले जानकारी दिए ।
गोष्ठीमा विनेसाम नेपाल प्रमुख तथा संगठन सचिव कल्पना पौडेल जिज्ञासुले स्वागत मन्तव्य राखेकी थिइन् । विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व चलेको कार्यक्रमको संयोजन तथा सञ्चालन विनेसाम केन्द्रीय उपाध्यक्ष विजय हितानले गरेका थिए ।