लन्डन । तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन रि. डेमबहादुर गुरुङ सम्मानित भएका छन् ।
तमु समाज यूकेको १८औँ वार्षिकोत्सवको अवसरमा ४ अक्टुबरमा लन्डनको विम्बलीस्थित बारहम पार्कमा रहेको तमु समाज भवनमा आयोजित समारवहमा क्यारि गुरुङ ‘तमु समाज यूके विशिष्ट समाज सेवा सम्मान–२०२५’बाट सम्मानित भएका हुन् । उनलाई तमु समाज यूकेकी अध्यक्ष बिन्दुकुमारी गुरुङ (घले) र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले फेटा र प्रमाणपत्रद्वारा सम्मान गरे ।
डेमबहादुरलाई नेपाल तथा बेलायतका विभिन्न संघ–संस्थामा सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप सम्मान गरिएको तमु समाज यूकेले जनाएको छ ।
यस्तै नेपालबाट आएका कलाकार सुरज गुरुङलाई कलाक्षेत्रमा पुर्याएको योगदानका लागि ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरिएको थियो । समाजको प्रगति र उन्नतिका लागि विशेष योगदान पुर्याएका आजीवन सदस्यहरू गुमानसिं गुरुङ, बुद्धिबहादुर गुरुङ, बिना गुरुङ, नरबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ र युवा सदस्य ओसिएन रानालाई पनि ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ द्वारा अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा नव–आजीवन सदस्यहरूलाई प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो। साथै, उच्च शिक्षा हासिल गरेका र खेलकुदमा उत्कृष्टता देखाएका युवा सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सुबिन घले (स्नातकोत्तर डिग्री प्राप्त), संगम गुरुङ (मुई थाई खेल विजेता), र धरन रन तथा यूके रनका अध्यक्ष सन्तोष राई (लन्डन म्याराथन–२०२५ का गिनिज बुक कीर्तिमानधारी)लाई तमु समाज यूके उत्कृष्ट सम्मानपत्र–२०२५ प्रदान गरी सम्मान गरे ।
त्यसैगरी, समाजका सहयोगी व्यवसायी प्रकाश गौतम (जय श्री क्रिष्ण ज्वेलर्स, साउथ ह्यारो)लाई समाजमा आर्थिक तथा भौतिक सहयोगको कदरस्वरूप समाजको लोगो अंकित प्ल्याक मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन (रि.) डेम बहादुर गुरुङले बधाई तथा शुभकामना मन्तव्य दिँदै तमु समाज यूके र तमु प्ये ल्हु संघबीचको सम्बन्ध अत्यन्त घनिष्ठ र सधैँ सहकार्यपूर्ण रहेको उल्लेख गरे ।