म सानो छँदा बाबा भन्नुहुन्थ्यो
एकरात आँखा चिम्लेपछि ब्रह्माण्ड सेयर गर्न हिँडेका सपनाहरू फर्केर घर आएनन् ।
ती सपनाहरूलाई खोज्न हिँडेका हाम्रा पुर्खाहरू पनि कहिल्यै फर्केनन् ।
म सोध्थे-
बाबा !
ती पुर्खाहरू अहिले कहाँ छन् ?
पारिको मौन डाँडा देखाएर
बाबा भन्नुहुन्थ्यो
ऊ त्यो पारिको डाँडामा घर बनाएर बसेका छन् ।
मेरो अबोध मनले छक्क पर्दै
प्रश्नहरू जारी राखेपछि
बाबा !
बिना कुनै दिग्दारी उत्तरहरु दिँदै जानुहुन्थ्यो ।
धैर्यवान भएर बाबा भन्नुहुन्थ्यो
आउँदैनन् छोरी उनीहरू
अब कहिल्यै नफर्किने गरी हामीसँग छुट्टिएर गइसकेका हुन् ।
हामी उनीहरूलाई देख्न सक्दैनौँ ।
तर उनीहरुले तारा बनेर माथिबाट हामीलाई हेर्दै पृथ्वीलाई उज्यालो बनाइरहन्छन् |
छोरी !
एकदिन म पनि सपना खोज्न जाँदा घर फर्केर आइन भने मलाई पनि त्यही डाँडामा घर बनाइदिन्छन्
अनि म पनि ती तारा जस्तै चम्किलो बनेर आकाशबाट मेरी छोरीलाई हेरिरहनेछु ।
यसो भन्दै बाबाले स्नेह मलाई काखमा लिएर मेरो गालामा मोही खानुहुन्थ्यो ।
बाबाले यसो भनेपछि
मलाई अनायासै डर लागेर आयो ।
मेरो आङ सिरिङ्ग भएर आयो ।
त्यसदिनदेखि,
मैले कहिल्यै पनि भन्न सकिनँ बाबा !
आज पनि जाउँ न तारा हेर्न !
ताप्लेजुङ
हाल हङकङ ।