लन्डन । बर्न्ट ओक नेपाली समाजको दसैं तिहार कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । शनिबार ४ अक्टुबरका दिन समाजका अध्यक्ष खमिरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रम मेयर अफ बार्नेट ड्यान्नी रिचको प्रमुख आतिथ्यता र तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र सांसद डेभिड पिन्टोको विशिष्ट आतिथ्यतामा दसैं तिहार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अतिथिहरुमा काउन्सिलर सराह कन्भे,काउन्सिलर कमल गुरुङ, काउन्सिलर लक्ष गुरुङ, माट मर्किज, डेभिड इभान्स र हसमुख हरिया रहेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई पन्चेबाजाले स्वागत गरिएको थियो ।

मंगलधुनसहित बर्न्ट ओक नेपाली समाजका अध्यक्ष खमिरजंग गुरुङ, प्रमुख अतिथि मेयर अफ बार्नेट ड्यान्नी रिच, विशिष्ट अतिथिहरु तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थापक अध्यक्ष उदयबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष मञ्जु गुरुङ र कार्यक्रम संयोजक गोकुल ढुंगानाले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम समुद्घाटन गरेका थिए । उद्घाटनलगत्तै अध्यक्ष खखिरजंग गुरुङ र गायिका प्रिया गुरुङले स्वागत गीत गाएका थिए ।
महासचिव हेलिसा गुरुङ स्वास्थ्य तथा सुरुक्षासम्बन्धी जानकारी दिएर कार्यक्रम सञ्चालन गरेका थिए । स्वागत मन्तव्य अफिस म्यानेजर ओमकुमारी गुरुङले राखेकी थिइन् । बेलायत र नेपालको राष्ट्रिय गान बजाएपछि जेन-जी आन्दोलनमा मृत्युवरण गरेका र संस्थामा आबद्ध मृतकहरुको आत्माको चीरशान्तिको कामनासहित १ मिनेट मौनधारण गरिएको थियो ।

उक्त अवसरमा केरजङ गुरुङ र इन्दिरा मोक्तानलाई समाजप्रति उनीहरुले दिएको योगदानको उच्च कदर गर्दै 'कम्युनिटी अवार्ड' प्रदान गरिएको थियो । उनीहरुले नेपाली मेलामा यसपालिको प्रेसिडेन्ट च्वाइस पुरस्कार प्राप्त गरेका, भाषा, संस्कार र संस्कृति संरक्षण गर्दै अगाडि बढेका, समाजका भाइबहिनीहरूको हौसलाका लागि ३ सय १ पाउन्ड प्रदान गरेका थिए ।
यसपटकको शैक्षिक विधामा उपलब्धि प्राप्त गरेका पूर्वअध्यक्ष तथा काउन्सिलर लक्ष गुरुङ र नितिसजङ थापालाई बधाई दिइएको थियो । प्रशंसापत्र एनएलसीसी, निर्मला गुरुङ, फ्रेन्डस् अफ सिल्क स्ट्रिम र मिलन गुरुङलाई प्रदान गरियो । आउटस्ट्यान्डिङ अचिफमेन्ट सर्टिफिकेट सरल क्षेत्री र एड्रियन क्षेत्रीलाई प्रदान गरिएको समाजले जनाएको छ ।

कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङलगायतलाई फेटा, पछ्यौरासहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । त्यस्तै सञ्चार क्षेत्रबाट समुदायमा पुर्याएको योगदानको कदर गर्दै गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मेयर अफ बार्नेट ड्यान्नी रिच, विशिष्ट अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले दसैं तिहारको शुभकामना मन्तव्य राखेका थिए ।

औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष खमिरजंग गुरुङले धन्यवाद मन्तव्य राखेका थिए । लगत्तै सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । अध्यक्ष गुरुङले हल तयारीका लागि उपस्थित व्यक्तिहरु, प्रमुख अतिथिको स्वागतमा खटिएका पञ्चेबाजाका टिम, सांस्कृतिक कार्यक्रमका संयोजक सांस्कृतिक सचिव उमेश खड्का, गीत र नाचमा भाग लिने भाइबहिनीहरू, नृत्यमा भाग लिने आमाहरु, संगीत प्रशिक्षण गर्ने संगीतकार केरजङ गुरुङ, नृत्य निर्देशक इन्दिरा मोक्तान,सांस्कृतिक कार्यक्रम उद्घोषिका प्रतिष्ठा कार्की, मिठो आवाजका साथ सरप्राइज दिने प्रसन्न न्यौपाने, रूपक पन्त, उमेश खड्कालाई धन्यवाद दिएका थिए ।

यसैगरी उनले सुरिलो स्वरकी गायिका प्रिया गुरुङ, टिकेटिङमा साथ दिने कोषाध्यक्ष महेन्द्र गुरुङ र सहकोषाध्यक्ष थोकराज गुरुङ, पेयपदार्थ बिक्रीमा सहयोग गर्ने विनयजंग गुरुङ, अतिथि सत्कारमा खटिने आमा समूहकी अध्यक्ष मञ्जु गुरुङ , फस्ट लेडी कमला गुरुङलगायत सम्पूर्ण आमाहरु,बीएस इन्टरटेन्टमेन्टका डिजे तथा भिडियोग्राफर सुशील गुरुङ, रारा क्याटरिङ, राफल ड्र टिकट बिक्री गरिदिने कन्या गुरुङ र रश्मि गुरुङ, कार्यक्रमलाई प्रायोजन गर्ने जय श्रीकृष्ण ज्वेलर र मनकारी व्यक्तित्वहरूलाई धन्यवाद दिए ।

यस्तै कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिएका संयोजक गोकुल ढुंगाना, प्रत्यक्ष प्रसारण गरिदिने तमु मै ता बेलायत प्रबन्धक मिमकाजी गुरुङ, हल व्यवस्थापन गरिदिने योगराज गुरुङ विशेष धन्यवाद र संस्थालाई माया गरेर उपस्थित भएका सदस्यहरुलाई पनि उनले धन्यवाद दिए ।
दोस्रो चरणमा सांस्कृतिक कार्यक्रमअन्तर्गत इन्दिरा मोक्तान र मञ्जु खनालले दुर्गा नृत्य, हेलिसा गुरुङ र बिनु गुरुङले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कुमार गुरुङ र ओजल महर्जनले गीत प्रस्तुत गर्दा अनमोल गुरुङले सारंगी सेलो गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

यस्तै कृतिका कार्की, प्रसन्न न्यौपाने, रुपक पन्त र उमेश खड्कालगायत बालबालिकाहरुले नृत्य र गीत प्रस्तुत गरे ।
बर्न्ट ओक नेपाली समाज लेडिजहरुले नृत्य देखाए भने अतिथि कलाकार प्रिया गुरुङले पनि आफ्नो प्रस्तुति राखेकी थिइन् । अन्त्यमा डिजे म्युजिक चौतारीको साथमा खुला नृत्यमा सहभागीहरु रमाएका थिए ।


