काठमाडौँ । ब्लगर तथा उत्साही पदयात्री लेक्स लिम्बुले मेरा पिक (६,४७६ मि.)को हिमाल सफलतापूर्वक आरोहण गरेका छन् । उनले बुधबार ८ अक्टोबर २०२५ को बिहान ६:२१ मा मेरा पिक सफल आरोहण गरेका विज्ञप्तिमार्फत जनाएका छन् । उनले यो आरोहणमार्फत युवाको विकास र सशक्तिकरणका लागि समर्थन जुटाइरहेका छन्।
उच्च हिमाल आरोहण मार्गदर्शक मिङ्मा शेर्पा र थामसेरकु ट्रेकिङ एजेन्सीका पासाङ फुरा शेर्पा तथा पेम्बा शेर्पाको साथमा लिम्बुले दुई साताको यात्रामा सुन्दर गाउँहरू सुर्के, पैंया र पाङ्गोम हुँदै आरोहण पूरा गरेका हुन् ।
मेरा पिक आरोहणपछि लिम्बुले भने, 'नेपालमा भएका अनेकौँ हिमालहरूमध्ये जीवनमा कम्तीमा एउटा चढ्ने मेरो सपना थियो । मेरा पिक नै त्यो सपना हो । यो यात्रा सम्भव बनाउन साथ दिने धेरै शेर्पाहरूलाई धन्यवाद । मेरो अर्को ठूलो सपना २०२६ मा नेपालका उज्ज्वल युवाहरूमुखी युथ क्याम्प सञ्चालन गर्नु हो। यो मेरो जीवनकै अहिलेसम्मको सबैभन्दा कठिन कार्य हो ।”
शिखरमा पुगेपछि लिम्बुले गर्वका साथ एआरओएएन (AROAN) नामक नेपाली ब्रान्डको पोसाक लगाएका थिए, जसको अर्थ नै 'शिखरमा पुग्ने' भन्ने हुन्छ । उनले उच्च हिमाली यात्रामा उपयुक्त बीमा हुनु कत्तिको जरुरी हुन्छ भन्ने कुरा सामाजिक सञ्जालमार्फत जोड दिएका थिए । लिम्बु यस आरोहणका लागि एएससी ३६० (एड्भेन्चर स्पोर्ट्स कभर) बाट बीमित थिए ।
नेपालमा करिब २.५ वर्षदेखि बस्दै आएका लिम्बु डिजिटल मिडियामा चर्चित छन् र उनले दैनिक रूपमा आफ्नो यात्राका अपडेटहरू साझा गरेका थिए ।
आगामी आरोहणबारे मौन रहे पनि उनले आफ्नो ध्यान युथ क्याम्प २०२६ मा केन्द्रित गर्ने बताएका छन् । जसले युवालाई सिक्ने, नेटवर्किङ गर्ने र मार्गदर्शन पाउने अवसर दिने विश्वास गरिएको छ ।
'नेपालमा प्रतिभाशाली युवाको कमी छैन । उनीहरूलाई अवसर दिन र लगानी गर्न अझ धेरै पहल गर्न आवश्यक छ,' लिम्बुले थपे ।
मेरा पिक नेपालकै सबैभन्दा अग्लो ट्रेकिङ पीक हो, जुन प्रायः पहिलोपटक आरोहण गर्नेहरूका लागि लोकप्रिय विकल्प मानिन्छ । मकालु बरुण राष्ट्रिय निकुञ्जभित्र अवस्थित यस शिखरबाट सगरमाथासहितका हिमशृङ्खलाको विहंगम दृश्य अवलोकन गर्न सकिन्छ ।
