हरिद्वार, भारत | जुन २८ वेलायतबाट चारधाम तीर्थयात्राका लागि आएको नेपाली तथा विदेशी यात्रुहरूको टोलीले आफ्नो यात्राको पहिलो दिन लामो बस यात्रामै बिताएको छ।
वेलायतबाट आएका तथा नेपालबाट छुट्टाछुट्टै प्रस्थान गरेका ३२ जना यात्रुसहित सम्पूर्ण टोली नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएपछि विशेष कोचमार्फत हरिद्वार प्रस्थान गरेको थियो। दिल्लीको अत्यधिक गर्मीका बाबजुद एयर–कन्डिसन्ड कोचका कारण यात्रुहरूले सहज यात्रा गरेका थिए। टोली जुन २७ को मध्यरातमा हरिद्वारस्थित होटल सरोभर पोर्टिको पुगेको थियो।

जुन २८ को बिहान होटलमा नास्तापछि हिमालयन हेभेन टुर्स प्राइभेट लिमिटेडका प्रतिनिधिहरूले सम्पूर्ण तीर्थयात्रीहरू रोहित गुरुङ, शुष्मा गुरुङ, बिक्रम भट्टाराई, पवित्रा भट्टाराई, मिना गुरुङ, यामकुमारी गुरुङ, होम कुवर, लक्ष्मी कुवर, योगेन्द्र लिम्बु, मिश्र लिम्बु,राजेन्द्र श्रेष्ठ, दुर्गा श्रेष्ठ, मनि गुरुङ, अनु गुरुङ, राजु गुरुङ, पुर्ण गुरुङ, डा.अनिता जेनकिन्स, अप्रिल ग्यालन्गर, हिरा पुन, फामाया पुन, प्रकाश गुरुङ, संगीना गुरुङ, अच्यूत श्रेष्ठ, शोभा श्रेष्ठ, पहलमान गुरुङ, शर्मिला गुरुङ, माया थापा, माया गुरुङ, दिनेश गुरुङ,पुष्पा गुरुङ, चन्द्र राई र अनिता लिम्बुलाई सयपत्री फूलको माला र टीका लगाई औपचारिक स्वागत गरेका थिए। स्वागत समारोहमा टोलीका सबै सदस्य सहभागी भएका थिए भने त्यसपछि सामूहिक रूपमा गायत्री मन्त्र वाचन गरिएको थियो।

स्वागत कार्यक्रमपछि बिहान करिब ९:३० बजे टोलीले अर्को गन्तव्यतर्फ यात्रा सुरु गरेको थियो। यात्राका क्रममा पवित्र गंगाजीको तटस्थित श्री स्वामीनारायण घाट नजिक केही समय स्नानका लागि रोकिएको थियो।
त्यसपछि टोली देहरादून हुँदै हिमाचल प्रदेशतर्फ अघि बढेको थियो। मुस्सुरीको रमणीय पहाडी क्षेत्र पार गर्दै राति करिब ११ बजे खर्सालीस्थित यमुनोत्री हिली रिसोर्ट पुगेको थियो।
लामो बस यात्राका बाबजुद बीचबीचमा गरिएको विश्राम, बसभित्रको गीतसंगीत, भजन तथा यात्रुहरूबीचको आत्मीय वातावरणले यात्रा उत्साहपूर्ण बनेको सहभागीहरूले बताएका छन्।
टुर संयोजकका अनुसार टोलीले यसपछि यमुनोत्री मन्दिरमा दर्शन तथा विशेष पूजा आराधना गर्ने कार्यक्रम रहेको छ।

