बद्रीनाथ (भारत) । बेलायतबाट चारधाम तीर्थयात्राका लागि आएको नेपाली तीर्थयात्री टोलीले जुलाई ७ मा भगवान् बद्रीनाथको दर्शन गर्दै यात्राको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ। टोलीले यसअघि यमुनोत्री, गंगोत्री र केदारनाथको दर्शन गरिसकेको थियो भने अब जुलाई ८ मा ऋषिकेशतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
जुलाई ६ मा दिनभरको लामो बस यात्रापछि टोली राति बद्रीनाथ पुगेको थियो। भोलिपल्ट बिहान होटलबाट पैदल मन्दिर पुगेका तीर्थयात्रीहरूले दर्शनअघि धार्मिक परम्पराअनुसार पिण्डदान र तर्पण गरेका थिए। जसका मातापिता दुवै दिवंगत भइसकेका थिए, उनीहरूले पिण्डदान गरे भने अन्य सहभागीले तर्पण अर्पण गरेका थिए।
हिन्दू धर्ममा पिण्डदान दिवंगत पितृहरूको आत्माको शान्ति, सद्गति र मोक्षको कामनासहित गरिने महत्वपूर्ण धार्मिक कर्म मानिन्छ। तर्पण भने जल, तिल र कुश अर्पण गर्दै पितृहरूप्रति श्रद्धा, कृतज्ञता र सम्मान प्रकट गर्ने विधि हो। बद्रीनाथमा यी कर्म गर्नु विशेष पुण्यदायी मानिने भएकाले धेरै श्रद्धालुहरू यहाँ पितृकार्य गर्न आउने गर्छन्।

बद्रीनाथको धार्मिक महत्व
समुद्री सतहबाट करिब ३,१०० मिटरको उचाइमा अवस्थित बद्रीनाथ धाम हिन्दू धर्मका सबैभन्दा पवित्र तीर्थस्थलमध्ये एक हो। भगवान् विष्णुको बद्रीनारायण स्वरूपको पूजा गरिने यो धाम चारधाम र उत्तराखण्डको चारधाम यात्राको अन्तिम गन्तव्य पनि हो। पुराणअनुसार भगवान् विष्णुले यही स्थानमा कठोर तपस्या गर्नुभएको विश्वास गरिन्छ, त्यसैले यहाँ दर्शन गर्दा आध्यात्मिक शान्ति र पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।

भारतको पहिलो गाउँ माणा
मन्दिर दर्शनपछि टोलीले भारत तिब्बत सीमाको अन्तिम बस्ती तथा “भारतको पहिलो गाउँ” भनेर चिनिने माणा गाउँको भ्रमण गर्यो। हिमाली संस्कृति, प्राचीन धार्मिक सम्पदा र प्राकृतिक सौन्दर्यका कारण यो गाउँ तीर्थयात्री तथा पर्यटकका लागि विशेष आकर्षणको केन्द्र बनेको छ।
माणा गाउँस्थित ब्यास गुफालाई महर्षि वेदव्यासले महाभारत र अठार पुराणको रचना गरेको स्थानका रूपमा श्रद्धापूर्वक हेरिन्छ। जनविश्वासअनुसार भगवान् गणेशले यहीँ बसेर वेदव्यासले उच्चारण गरेका श्लोकहरू लेखेको थियो, जसको स्मरणमा नजिकै गणेश गुफा पनि रहेको छ।
त्यसैगरी, भीम पुल महाभारतकालसँग जोडिएको ऐतिहासिक र धार्मिक स्थल हो। पाण्डवहरू स्वर्गारोहणका क्रममा सरस्वती नदी तर्ने बेला भीमले विशाल चट्टान उठाएर पुल बनाएको किंवदन्ती छ। आज पनि प्राकृतिक रूपमा रहेको उक्त विशाल शिलालाई श्रद्धा र कौतुहलका साथ अवलोकन गरिन्छ।

साँझ केही यात्रुले प्रसिद्ध तप्तकुण्डमा स्नान गरेका थिए भने सम्पूर्ण टोली बद्रीनाथ मन्दिरमा आयोजित भजन–कीर्तनमा सहभागी भएको थियो। मन्दिर परिसरमै बसेर टोलीले श्री विष्णु सहस्रनामको जप तथा सामूहिक भजनसमेत गरेको थियो।
चारधाम यात्राका क्रममा टोलीले करिब १,०२० किलोमिटरभन्दा बढी बस यात्रा गरेको थियो, जसमा झन्डै ५४ घण्टा सडकमा बिताएको थियो। साथै, विभिन्न तीर्थस्थलमा पुग्न करिब ४० किलोमिटर पैदल यात्रा पनि गरेको थियो।
“चारधाम यात्रा सजिलो छैन। लामो सडक यात्रा, उच्च हिमाली भूभाग र पैदल हिँडाइले शारीरिक तथा मानसिक दुवै रूपमा परीक्षा लिन्छ। तर दर्शनपछि सबै थकान बिर्सिने अनुभव हुन्छ,” यात्री रोहित गुरुङले गोर्खा मिडियासँग बताए।
टोली प्रमुख शुष्मा गुरुङका अनुसार चारधाम यात्रा सम्पन्न भएपछि दोस्रो चरणअन्तर्गत ऋषिकेश, दिल्ली र जयपुरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।


