बेलायत । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित भएकाहरूको उद्धार र राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बिहान आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि संघले आकस्मिक बैठक बसी राहतका लागि उक्त ठूलो रकम खर्च गर्ने घोषणा गरेको हो।
संघका महासचिव डा. चिरञ्जीवी खड्काले जारी गरेको विज्ञप्ति अनुसार बाढी प्रभावित परिवारको तत्काल उद्धार, राहत र अन्य आवश्यक सहयोगका लागि संघले ५ करोड रुपैयाँ बराबरको कोष परिचालन गर्नेछ। बाढीका कारण कैयौँ परिवार विस्थापित भएको र धनजनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै एनआरएनएले यो विपद्को घडीमा नेपाल सरकार र स्थानीय निकायसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ।
राहत र उद्धार कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन संघले विभिन्न समितिहरू समेत गठन गरेको छ। संघका अध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा 'रसुवा बाढी प्रभावितको लागि राहत तथा उद्धार मूल समिति' गठन गरिएको छ। त्यसैगरी, आर्थिक स्रोत जुटाउन कोषाध्यक्ष कृष्ण तिमिल्सिनाको नेतृत्वमा सहयोग संकलन समिति र उपाध्यक्ष मनोज गोर्खालीको नेतृत्वमा स्वयंसेवक परिचालन समिति बनाइएको महासचिव खड्काले बताए।
महासचिव खड्काका अनुसार एनआरएनएले विश्वभर छरिएर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई पनि तत्काल राहत र पुनर्स्थापनाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन निर्देशन दिएको छ। सहयोग गर्न चाहनेहरूले संघको आधिकारिक पोर्टल, बैंकिङ माध्यम वा डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए।
प्रभावित क्षेत्रमा तत्काल मेडिकल टोली र स्वयंसेवकहरू परिचालन गरिने र उद्धार कार्यमा कुनै कसर बाँकी नराखिने संघको निर्णय छ। यसका साथै एनआरएनएले आफ्ना सदस्य वा पदाधिकारीका परिवारहरू बाढीबाट प्रभावित भए/नभएको जानकारी संकलन गरी आवश्यक समन्वय गर्न समेत पहल थालेको छ। विपद् व्यवस्थापन र सरकारी निकायसँगको समन्वयको जिम्मेवारी भने प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई तोकिएको छ।
एनआरएनएले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग अनुरोध समेत गरेको छ।