काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रमा उच्च योगदान दिनेहरुमा तमु (गुरुङ) समुदायबाट पनि बग्रेल्ती छन् । कला र संस्कृतिले धनी मानिने आदिवासी जनजाति समुदायमध्येका एक तमु समुदायको गण्डकी प्रदेशमा बाक्लो बसोबास पाइन्छ । देशका अन्य जिल्लाहरुमा समेत छरिएर रहेका गुरुङहरु ब्रिटिस, भारत, सिंगापुरलगायत देशका सैनिक सेवा, शिक्षा र रोजगारीको सिलसिलामा संसारका विभिन्न मुलुक पुगेका छन् । ती देशहरुमा पुगेकाहरुले आफ्नो भाषा, कला, संस्कार, संस्कृतिलाई फैलाउने काम गरिरहेका छन् भने स्वदेशमै पनि नयाँ-नयाँ कलाकारहरुको जन्म भइरहेको छ ।
विशेषत: आफ्नो मौलिक गायन हुँदै मूलधारको नेपाली गीतसंगीतमा समेत प्रभाव जमाइरहेका छन् यी समुदायका कलाकारहरु । तमु मातृभाषाको गीत गाउँदै नेपाली र हिन्दी भाषामा समेत गीत गाउन सक्षम बनेकी छिन् गायिका हिमकला (ममता) गुरुङ । स्याङ्जाको वालिङ-४ मा खिमबहादुर गुरुङ र थमती गुरुङको कोखबाट सन् १९९७ सेप्टेम्बर १० मा जन्मिएकी ममताको सुरिलो आवाज छ । त्यसैमाथि उनको गायकी कला उत्तिकै प्रभावशाली ।
रुपले समेत सुन्दर हिमकला संगीत, काम र पढाईको सिलसिलामा अचेल नेपालको पर्यटकीय सहर कास्कीको पोखरा महानगरपालिका-१२ बस्दै आएकी छन् । प्रवेशिकासम्मको पढाई उनले श्री माझकोट माध्यमिक माध्यमिक विद्यालय स्याङ्जाबाटै गरेकी थिइन् ।
सांगीतिक क्षेत्रमा प्रवेश गरेको ५ वर्षको अवधिमा उनले विभिन्न भाषा र विधाका गरी एक दर्जन गीतमा स्वर ढाकिसकिन् । 'तिमीले लाएको माया', 'हाम्रो किन्दु गाउँ', 'यूके लन्डनमा', 'सुन सुन ए','कर्पुटारकी छोरी','टप्पा गीत','थारु गीत' (साखी हो), 'हिमाली ङोल्स्यो'(ल्होछार गीत), 'ङोल्स्यो रुपरानी' र 'पाउदुर कोट'(गाउँको गीत)मा हिमकलाको आवाज सुन्न सकिन्छ ।

मञ्च प्रस्तुति अलावा ब्यान्ड र दोहोरी साँझमा 'लिड रोल'मा उनी खडा हुने गरेकी छन् । उनले ओपन हाउस रेस्ट्रो एन्ड लन्च बार लेकसाइड पोखरामा सन् २०२३ देखि प्रमुख गायिकाको रुपमा काम गर्दै आएकी छन् ।
यस्तै ए वान गाउँसहर दोहोरी साँझ पोखरामा सन् २०१९ को अन्त्यतिरदेखि गायिकाको रुपमा काम गरिरहेकी छिन् हिमकला । उनी पोखरा, काठमाडौंसहित मुलुकका विभिन्न ठाउँमा भएका विवाह र सांगीतिक महोत्सवमा प्रस्तुति दिइसकेकी छन् ।
ममता तमु (गुरुङ) कलाकार संघको बोर्ड मेम्बर, पोखरा सांगीतिक कलाकार संघ नेपालकी साधारण सदस्यको रुपमा समेत आबद्ध छिन् । गोर्खा मिडियासँग संक्षिप्त कुरा गर्दै ममताले भनिन्, 'नयाँ गीतको तयारीमा छु ।'
