पोखरा । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ४, फुजेलमा जन्मिएका गायक मौसम गुरुङको पहिचान आज एक सफल मौलिक लोक गायकका रूपमा स्थापित छ।
स्वर्गवासी बुवा डमर बहादुर गुरुङ र आमा नेउरि माया गुरुङका जेष्ठ सुपुत्र मौसमको बाल्यकाल निकै दुःख र कठोर परिश्रमका बीच बितेको थियो। सानैदेखि गीत-सङ्गीतप्रति विशेष अभिरुचि राख्ने उनी गाउँघरमा हुने रत्यौली, छेवर र विवाहजस्ता सांस्कृतिक कार्यक्रमहरूमा नाचगान गर्न र गाउन निकै हुरुक्क हुन्थे। गुरुङ र मगर समुदायको संस्कारमा नाचगान नै मुख्य अंग रहने भएकाले पनि उनी सानै उमेरदेखि यस क्षेत्रतर्फ आकर्षित भएको बताए।

आफ्नो गाउँ र परिवेश छोडेर कर्मको खोजीमा निस्किएका गुरुङले जीवनको एक कालखण्ड वैदेशिक रोजगारीका क्रममा जापानमा बिताए। उनले जापानमा ५ वर्षसम्म निकै पसिना बगाएको र सोही क्रममा जापानी चलचित्रमा समेत अभिनय गर्ने अवसर पाएको अनुभव साटे। सङ्घर्षको मैदानबाट खारिएर आएका मौसमले हालसम्म करिब २०० देखि ३०० को हाराहारीमा गीतहरू गाइसेकेका छन्। उनको साङ्गीतिक योगदानलाई कदर गर्दै विभिन्न संघसंस्थाहरूले हालसम्म २० वटा म्युजिक अवार्डहरू प्रदान गरिसकेका छन्।
सुरुवाती चरणमा वियोगान्त गीतहरू गाएर दर्शकको मन जितेका उनले पछिल्लो समयमा भने नेपाली मौलिकताको संरक्षणलाई आफ्नो मुख्य लक्ष्य बनाएका छन्। आफ्ना सिर्जनाहरूका माध्यमबाट हराउँदै गएको मौलिक पहिरन जस्तै लुङ्गी र चोलीलाई पुनः जनमानसमा लोकप्रिय बनाउन सफल भएकोमा उनी खुसी व्यक्त गर्छन्। हाल उनी झ्याउरे, कौडा र सालैजो जस्ता मौलिक लोक भाकाहरूका पर्याय नै बनेका छन्।
उनले स्वर दिएका र सिर्जना गरेका 'सोल्टिनी नानी', 'माइली', 'कान्छी', 'मुग्लिन पुल तरी', 'डाँडा घरे सानु', 'अन्धोपन', 'ठुलो मान्छे' जस्ता गीतहरू चर्चाको शिखरमा छन्। त्यसैगरी 'हजार जुनी जुनी', 'फूलले इर्श्या गर्ला', 'सुन्दर लाग्छ मलाई यो धर्ती', 'तिमी फूल हौ काली', 'दमौलीमा झर है कान्छु', 'देउरालीलाई फूलपाती धजा छ', 'पानी मिठो कल धारा हिटीको', 'चरी बस्यो अरेली गाजैमा', 'कुरा बुझा है', 'चौतारीमा पिपल र बर छनी' र 'फुल्यो बेलिजाई' जस्ता दर्जनौँ गीतहरूले नेपाली सङ्गीत बजारमा छुट्टै छाप छोडेका छन्।
पछिल्लो समय सार्वजनिक भएको 'हङकङको चिनो' बोलको गीतले उनीलाई थप उचाइमा पुर्याएको छ। सङ्गीत यात्रालाई निरन्तरता दिने क्रममा आफ्नै सिर्जना र स्वरमा रहेका झण्डै एक दर्जन भन्दा बढी नयाँ गीतहरू बजारमा आउने तयारीमा रहेको समेत गायक गुरुङले बताए। सङ्घर्षबाट प्राप्त सफलतालाई कायम राख्दै उनी नेपाली लोक सङ्गीतको श्रीवृद्धिमा अहोरात्र खटिरहेका छन्।


