लन्डन । इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ औं रजत जयन्ती भव्य रुपमा मनाएका छन् ।
शनिबार २५ मे २०२४ का दिन आस्कोट रेसकोर्सको मुख्य हल द पाभिलियन हलमा भव्य रुपमा ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजमा भर्ती भएको २५ औं वर्ष गाँठको अवसरमा रजत जयन्ती (सिल्भर जुब्ली) मनाउँदै इन्टेक १९९९ मा भर्ती हुने गोर्खालीहरु र परिवारले शुभकामना, बधाई साटासाट गर्दै खुशीयाली मनाएका हुन् ।
सन् १९९९ सालको जनवरी २१ तारिखमा हजारौं आकांक्षी प्रतिस्पर्धीमध्ये २३० जना अन्तिम चरणमा छानिएर भर्ती भएका इन्टेकका गोर्खालीहरुको २५ औं वर्षगाँठ मनाउने निर्णयअनुसार उपयुक्त समय र स्थानको छनौटपछि यो वर्षको कार्यक्रम आयोजक युनिट दोस्रो शाही गोर्खा राइफल्सका तर्फबाट इन्टेक १९९९ का सदस्य नवल राईको संयोजकत्वमा भव्य कार्यक्रम गरिएको हो ।
कार्यक्रम हलसम्म पाइपर धुन बजाउँदै सम्पूर्ण सहभागी इन्टेक ९९ र परिवारलाई सम्मानका साथ रातो कार्पेटबाट हल प्रवेश गराइएको थियो । सबै सहभागीहरुलाई आयोजक युनिटले इन्टेक ९९ को २५ औं वर्षगाँठको लोगो अंकित खादा र ब्रोच लगाई दिँदै स्वागत गरेको थियो ।
कार्यक्रम संयोजक नवल राईले सुरक्षासम्बन्धी जानकारी दिएपछि, शर्मिला राईले सम्पूर्ण श्रीमतीहरुको प्रतिनिधित्व गर्दै इन्टेक ९९ का सदस्यहरुलाई कार्यक्रममा स्वागत र रजत जयन्तीको अवसरमा सम्पूर्णलाई बधाई अनि शुभकामना दिएका थिए । त्यस अवसरमा गोर्खाली खुखुरीले इन्टेक ९९ को विशेष केक संयुक्त रुपमा काटिएको थियो ।
अफगानिस्तानमा युद्धका बेला विद्रोहीहरुले थापेको धरापमा अचानक टेक्दा धराप विस्फोटनमा परेर घुँडामाथि दुवै खुट्टा गुमाएका आरोही हरि बुढामगरले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेर विश्व किर्तिमानी रेकर्ड राख्न सफल भएको र इन्टेक ९९ को नाम राख्न सफल भएकाले उनलाई इन्टेक ९९ का तर्फबाट बधाईसहित सम्मान गरिएको थियो ।
यसअघि इन्टेक ९९ का याम गुरुङ र अर्का एकजना राई (अहिले स्पेसल एयर सर्भिस, विशेष सुरक्षा दस्ताको युनिटमा कार्यरत भएकाले नाम गोप्य राखिएको) द्वारा सेवारत गोर्खालीहरुको टोलीमा सहभागी भएर गोर्खा भर्तीको २०० वर्षको वर्षगाँठको उपलक्ष्यमा सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सगरमाथा शिखरमा पाइला राख्ने हरि बुढामगरसहित इन्टेक ९९ का तीन जना पुगेका छन् ।
आस्कोट रेसकोर्सको स्टेडियममा बसेर सहभागी सबैको ग्रुप फोटो सेसनपश्चात् सेवा प्रदान गर्ने, फोटोग्राफर पूर्वगोर्खा मोहन सिङ तामाङ, उनको टिम, खाना र पेय उपलब्ध गराउने ओजोन रेस्टुरेन्टका संचालक पूर्वगोर्खा आनन्द राई, साजसज्जा स्काई इभेन्ट्स प्लानर (पूर्व गोर्खाको सन्तान), कार्यक्रममा नृत्य गर्ने छोराछोरीहरु, साउण्ड, डिजे र ब्याण्ड अनि बार टेण्डर सबैलाई आभारपत्र र नगद उपहार दिएर धन्यवादसहित सम्मान गरिएको थियो ।
अधिकांश इन्टेक ९९ का सदस्यहरु ब्रिटिस सेनाको सेवाबाट अवकाश पाइसकेको भए पनि एक दर्जनभन्दा बढी अधिकृत र केही सकल र अरु दर्जामा पदोन्नति भएका गरी झन्डै दुई दर्जन बढी सदस्यहरु अझै सैन्य पेसामा कार्यरत छन् । प्राय: सबै अधिकृतहरुले महत्वपूर्ण भूमिका र जिम्मेवारी सम्हालीरहेका छन् । त्यसमध्ये हाल दुईजना अधिकृतहरु क्याप्टेन लाखबहादुर गुरुङ र क्याप्टेन विवेकजंग शाह एमबीई युकेका राजाका विशेष गोर्खाली अर्दली अफिसरका रुपमा कार्यरत छन् ।
इन्टेक १९९९ मा भर्ती भएका गोर्खालीहरुले सैनिक क्रमसंख्या २१११६९९६२ देखि २११७०१९१ सम्म प्राप्त गरेका थिए । यसमध्ये एक जना सदस्य युवराज राई अफगानिस्तानको युद्धका क्रममा विद्रोहीहरूसँगको गोली हानाहानको क्रममा विद्रोहीले अन्धाधुन्द प्रहार गरेको गोली लागेर वीरगति प्राप्त गरेका थिए भने एकजनाको सवारी दुर्घटना, एकजनाको आगलागी र अर्को एकजनाको अन्य कारणले निधन भएको थियो ।
उक्त इन्टेकका सदस्यहरुले इराक, बोस्निया, कोसोभो (बाल्कान्स), सियरा लिओन, अफगानिस्तान लगायतका देशमा युद्ध र शान्ति स्थापनार्थ शान्ति सेनाका रुपमा तथा लडाइँ गर्न ब्रिटिस सेनाका तर्फबाट प्रतिनिधित्व गर्दै तैनाथ भएर सेवा गरेका थिए भने विश्वका धेरै देशहरुमा सैन्य तालिमका सिलसिलामा पुगेर तालिम सम्पन्न गरेका थिए । धेरै इन्टेकका सदस्यहरुले उच्च सैनिक सम्मानका पदक र तक्मा साथै धेरै किर्तिमान कायम गर्न सफल भएका छन् ।
रजत जयन्तीका क्रममा भर्ती भएदेखि अहिलेसम्मको उपलब्धि, सहयात्रा, तितामिठा सम्झनाको रुपमा आयोजकका तर्फबाट खोजेर पाएको सम्पूर्ण फोटोहरुको स्लाइड सो आस्कोट रेसकोर्सको मुख्य ठूलो स्क्रिन र कार्यक्रम हललगायत स्टलहरुमा उपलब्ध दुई दर्जन बढी स्क्रिनहरुमा लगातार प्रदर्शन गरिएको थियो ।
आगामी वर्षको इन्टेक एनीभर्सरी कार्यक्रम आयोजक युनिट क्विन्स गोर्खा इन्जीनियरका संयोजकलाई कार्यक्रम गर्ने जिम्मेवारी हस्तान्तरण गर्दै आउने वर्षको कार्यक्रम झन् भव्य रुपमा हुने अपेक्षा रहेको जानकारी दिँदै ब्याण्ड र डिजेको सांगीतिक प्रस्तुतिमा इन्टेक ९९ का सदस्यहरुले दिउँसो २ बजेदेखि मध्यरातसम्म खुशीयाली साटेका थिए ।
कार्यक्रम अत्यन्तै सानदार तरिकाले आयोजना गरेकोप्रति आयोजक युनिट २ आरजीआर र कार्यक्रम संयोजक नवल राईप्रति इन्टेक ९९ का सहभागी सदस्यहरुले बधाई र धन्यवाद दिँदै खुसी व्यक्त गरेका थिए ।
फोटोहरु : मोहन सिङ तामाङ र भूमिराज राई