आनी छोइङ डोल्मा गायिका तथा सामाजिक अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । उहाँ यही मे ५ तारिखमा बेलायतमा आयोजना हुने‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रमका लागि यहाँ आइपुग्नुभएको हो । उहाँ एक जना भिक्षु, सामाजिक अभियन्ता, गायिका तथा आर्यतारा स्कुलको संस्थापक पनि हुनुहुन्छ । आफ्नो कार बेचेर २ करोड रुपैयाँ अस्पताललाई सहयोग गर्नुभएको छ । नेपालमा तुइन विस्थापित गर्नका लागि १ करोड प्रदान गर्नुभएको छ । प्रसिद्ध गायिका तथा सामाजिक अभियन्ता आनी छोइङ डोल्मासँग गोर्खा मिडियाको 'अतिथि संवाद' मा सहसम्पादक प्रकाश गुरुङले गर्नुभएको कुराकानी ।
'इनर मेलोडी फर इनर पिस' कार्यक्रमका लागि आउनुभएको छ । यो कस्तो खालको कार्यक्रम हो ? यसमा तपाईंको भूमिका के छ ?
एक दशकभन्दा धेरै समयदेखि मानव सेवा आश्रम नेपालले नेपाली दाजुभाइ दिदीबहिनीहरू, जो बेसहारा हुनुहुन्छ । अशक्त हुनुहुन्छ । सडकमा बस्न बाध्य भएका, मानसिक सन्तुलन गुमाएका, यो दुर्व्यसनका कारण पनि हुँदोरहेछ । कताकति पारिवारिक समस्याले पनि त्यस्तो भइरहेको मैले पाएँ । उहाँहरू सबैलाई माया र सम्मानका साथ सेवा गरिरहेको छ । म पनि भाग्यले पोहोरदेखि उहाँहरूसँग जोडिन पाएको छु । उहाँहरू सँगसँगै सेवाको कार्यमा हिँड्दा अन्तरआत्मादेखि नै सन्तुष्टि मिल्ने खालको काम गरिरहनुभएको छ । आफूले गर्न पाउनु एउटा ठाउँमा छ । त्योभन्दा पनि धेरै त मानव सेवा आश्रमका भाइबहिनीहरूले माया र सद्भावका साथ हाँसीहाँसी सेवा दिइरहेको हेर्न पाउनु वा त्यो दृश्य नै आनन्द आउने खालको छ । मनमा भएको आक्रोश सबै बिर्सिन्छ । उहाँहरूको कार्यमा हातेमालो गर्ने क्रममा मानव सेवा आश्रम युके च्याप्टरले आर्थिक स्रोत संकलनका लागि आयोजना गर्नुभएको कार्यक्रममा म आएको हुँ । युकेमा पनि त्यत्तिकै साथ सहयोग दिनेहरू पाइरहेको छु । सबैलाई धन्यवाद । त्यही पनि यो ५ तारिखचाहिँ नबिर्सिनुहोला । आफ्नो साथी तथा परिवारमा कसैले बिर्सिनुभएको छ भने सम्झाइदिनुहोला ।
मानव सेवा आश्रम नेपालले मेची-महाकाली अभियान सञ्चालन गर्नुभएको थियो । त्यसमा पनि तपाईं लागिपर्नुभयो । त्यहाँ धेरै कुरा देख्नुभयो । भोग्नुभयो । त्यसमा एक-दुईवटा कुनै घटना, यस्तो पनि हुँदोरहेछ भन्ने बनाइदिनुहुन्छ ?
अभियानको दोस्रो दिन बजारमा गएर उद्धार गर्ने क्रममा पहिलो हामीले भेट्टाएको पाँच वर्षको नानी थियो । उक्त नानी आफ्नै बाबुबाट २०० रुपैयाँमा बेचिएको भन्ने सुनियो । म त झसंगै भएँ । त्यो सुन्नासाथ विश्वास गर्न पनि नसकेको । नगर्दा पनि नहुने । एकदम झस्किएको अवस्था मैले महसुस गरेँ । यस्तो पनि हुन्छ र ! पत्याउन गाह्रो हुने थियो । कल्पना नै गर्न सकिन्न ।
यसमा हामीले सामान्य अवस्थामा कस्तो दुष्ट बाबु रहेछ भनेर गाली गर्न थालिहाल्छौँ । तर मलाई सुन्दा दुःख लागे पनि त्योभन्दा पनि बढी चाहिँ, बिचरा ! त्यो बाबुको कस्तो अवस्था थियो होला । जसले आफ्नै छोरी २०० रुपैयाँमा बेच्न बाध्य भयो । कथा-व्यथा के थियो होला भन्ने कुराले मलाई चिन्ता दियो । पछि यसो सोचेँ । बिचरा एक त दुर्व्यसनले गरेको सुनियो । फेरि दुर्व्यसनमा लाग्नुको पनि त कथा-व्यथा हुन्छ । त्यही पीडा भुलाउन त मान्छेले पिउँछ । उसको के थियो होला भन्ने भयो । तर खुसीको कुरा त्यो नानी हामीले रेस्क्यु गर्यौँ । आजको दिनमा उ खुसीसाथ स्कुल गइरहेको छ । भविष्य सुनिश्चित बनेको छ । अरू मलाई सम्झिँदा पनि आङ जिरिङ्ग हुने भनेको चितवनमा एक जना आमा हुनुहुन्थ्यो, ७० वर्ष नाघेको । बेसहारा हुनुहुन्थ्यो । आँखा राम्ररी देख्नुहुन्नथ्यो । सँगै उहाँको कुकुर पनि थियो । दुवैलाई रेस्क्यु गर्यौँ । त्यसपछि हामी फोहोर सफा गर्दिन्छौँ । नुहाइदिन्छौँ । सबैभन्दा पहिले कपाल काटिदियौँ । कपाल त कहिलेदेखि नधोएको । जुम्रा त मेला लागेजस्तो थियो । लुगा पनि फल्यौँ । अनि नुहाउन लग्यौँ । नुहाउँदा नुहाउँदै म झस्किएँ । आमा भन्ठानेको त बुबा हो कि क्या हो भन्ने भयो । उहाँको गुप्ताङ्ग हुने ठाउँमा मासु झुन्डिएको देखेँ । अनि मैले तुरुन्तै रुपा बहिनीलाई बोलाएर देखाएँ । त्यो त आङ खसेको रहेछ । त्योभन्दा पहिले मैले आङ खसेको भन्ने सुनेको मात्रै थिएँ । देखेको थिइनँ । कत्ति वर्षदेखि त्यो झुन्डिएको । तपाईं कल्पना गर्नुस् त मान्छेलाई पायल्स हुँदा त कति गाह्रो हुन्छ । उहाँको त गुप्ताङ्गभित्रबाट मासु खसिराखेको । एक त आँखा देख्दैन । कति धेरै लडेको रहेछ । जीउभर नीलडाम नै नीलडाम भएको । त्यत्रो मासु झुन्डिएको कति दुःख कति कष्ट होला ? ट्वाइलेट जाँदा कस्तो होला ? त्यो कल्पना गर्न नसक्ने खालको छटपटाहट मैले महसुस गरेँ ।
हामी सानो चोट पर्दा नि रुन्छौँ । कराउँछौँ । गुनासो गर्छौं । यस्ता त अनगिन्ती छ । तर मेरो मस्तिष्कमा छाप परेको मध्येमा चाहिँ त्यो आमा हुनुहुन्थ्यो । छोरी मान्छेहरूको आङ खस्ने समस्या नेपालमा धेरै छ । किनभने, गाउँघरतिर सुत्केरी भएर राम्ररी निको हुन नपाउँदै काममा लाग्नुपर्छ । स्याउला/भारी बोक्नुपर्छ । हलो जोत्नुपर्छ । जीउ बलियो हुन नपाउँदै गह्रौँ वस्तु बोक्दा आङ खस्छ भन्ने सुन्या हो ।उपचार हुन्छ कि हुँदैन भन्ने स्योर छैन । कतिले लाजले भन्न सक्दैन । भने पनि अप्रेसन गर्नुपर्दोरहेछ । कति धेरैले दुःख पीडा सहिरहेको हुन्छ ।
अनि अर्को एक जना दाजु थियो । उमेरले बुढो पनि देखिँदैनथ्यो । तर उहाँको घुँडादेखि तल सबै कुहिएको । अनि किरा परेको थियो, जिउँदो मान्छेमा । म त त्यो हेर्न पनि सकिनँ । त्यस्तो धेरै छ । सानै उमेरका दिदीबहिनीहरू मानसिक सन्तुलन गुमाएर बाँच्नुपरेको अवस्था कस्तो हुन्छ होला तपाईं आकलन गर्नुस् । कति बलात्कारको सिकार बन्नुपर्ने हुन्छ होला । त्यस्ता मान्छेलाई मानव सेवा आश्रमले उद्धार गरिरहेको छ । त्यो पनि माया ममताका साथ । सम्मानका साथ । त्यो अभियानबाट उद्धार गरिएका ८० जनाको त पुनर्मिलन भइसक्यो । मानसिक सन्तुलन गुमाएकाहरू पनि उपचारबाट निको भएर । यस्तो राम्रो कुराहरू पनि छ । यस्तै काममा आर्थिक सहयोग जुटाउन बेलायत आएको हुँ । तपाईंहरू सबैको साथले हामीले काम गर्नुपर्छ भन्ने हिसाबले पनि आएको हो । यो अत्यन्तै पुण्य कार्य हो । जीवनलाई सार्थक तुल्याउने सुन्दर तरिका हो ।
तपाईंको नाम लिने बित्तिकै ‘फूलको आँखामा फूलै संसार’ आइहाल्छ । यो गीत त कति चर्चित छ कति ! सुत्नुभन्दा पहिला सुन्दा एउटा मेडिटेसनकै काम गरिरहेको छ, यसले । विदेशमा बस्नेहरूका लागि एकदमै उपयोगी छ । यस गीतबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ तपाईं ?
अति नै सन्तुष्ट छु । म भाग्यमानी, असाध्यै भाग्यमानी । पूर्वजन्ममा मैले धेरै नै सत्कर्म गरेको हुनुपर्छ । यो जन्ममा मैले राम्रो जन्म लिनुमात्र नभई, एउटा सार्थक जीवन अपनाउनुमा सद्गुरुको शरण पाउनु र साथीसंगी पनि त्यत्तिकै राम्रो पाइराख्या छु । जीवन सार्थक बनाउने काममा लाग्न पाइराख्या छु । सबैबाट माया पाइराख्या छ । सबै मंगलमय छ । त्योभन्दा ठूलो सन्तुष्टि के हुन्छ र ?
तपाईंको किताब एकदमै चर्चित छ । सुरुमा ‘सिंगिङ फर फ्रिडम’ नाममा अंग्रेजीमा प्रकाशित भयो । पछि नेपालीमा ट्रान्सलेट गरेर ‘फूलको आँखामा’ भयो । अहिले १५ भाषामा प्रकाशित भइसक्यो । किताबमा तपाईंले लेख्नुभएको कुराले धेरैलाई भावुक बनाउँछ । सुरुआती कथाहरू, एकदमै दु:खको दिन । तपाईंको आफ्नो बाल्यकालको दिन । त्यो कुराहरू छ । अहिले त धेरै फड्को मारिसक्नुभयो । उमेरले पनि पाँच दशक काटिसक्नुभयो । जुन किताबमा लेखिएको आनी र अहिलेको आनीमा के फरक छ ?
अब, के फरक छ भन्ने ? सानो नानी एउटा घरेलु हिंसाबाट प्रताडित भएर, त्यो दुःख पीडाबाट उम्किने विकल्प खोज्ने क्रममा पाएको गुरुको शरण छ । आनी बन्न पुगेँ । घर गृहस्थी जीवनप्रतिको घृणा त्यो बेला थियो । आक्रोश थियो, समाजको कुरीतिप्रति । अहिले त्यो सबैबाट उन्मुक्ति पाएको अनुभव भइरहेको छ । समाजप्रति अनि आफ्नो बुबाप्रति रिस छैन । रिस त छाडिदिऊँ, उहाँप्रति एकदमै अनुगृहीत भावले म कृतज्ञता महसुस गर्छु । समय-समयमा उहाँलाई सम्झिँदा खेरी, सायद त्यो बेलामा त्यो अवस्था सिर्जना नभएको भए आनी बन्ने सोच ममा पलाउँदैनथ्यो होला । आनी नबनेको भए सदगुरूको शरण शायदै पाउने थिएँ होला । सद्गुरुको शरण नपाएको नभए त्यो अनुरूप संस्कार पाइँदैनथ्यो । संस्कार नपाउँदा म आजको अवस्थामा पुग्थेँ कि पुग्ने थिइन, त्यो त प्रश्नचिह्न नै हुन्नथ्यो । अहिले चाहिँ आक्रोश छैन । त्यो सानो आनी छोइङ डोल्मा आक्रोशले भरिएको, घृणाले भरिएको, गुनासोले भरिएको दुःखी र पीडित हुनुहुन्थ्यो । तर अहिले त्यस्तो छुइन ।
तपाईंको गीत, संगीत र किताबको चर्चा गर्दा मलाई अमेरिकन गायिका डोन्ना समरको याद आउँछ । उहाँलाई क्विन अफ डिस्को पनि भनिन्थ्यो । हामीलाई उहाँको गीतले निकै छोएको पनि थियो । उहाँको गीत पहिलो युरोपमा फेमस भएपछि मात्रै अमेरिकामा फेमस हुनुभयो । तपाईंको पनि बाल्यकालको पीडा, दुःख थोरै मान्छेलाई थाहा थियो होला । जब तपाईंले गीत गाएको सुनेर एउटा विदेशीले टिपेर पछि विदेशमा फेमस भइसकेपछि, किताब विदेशी भाषामा छापिइसकेपछि मात्रै हाम्रो देशमा आयो । कतै फेमस हुनलाई परको मान्छेले पहिले चिनेपछि मात्रै हुनेरहेछ कि के हो ? यसमा के भन्नुहुन्छ?
त्यही हो । सधैँ सँगै बसिरहँदाखेरी त्यसको विशेषता बुझिँदैन । नजिकको तीर्थ हेला, टाढाको तीर्थ मेला भनेजस्तै होला । तर त्यसप्रति खासै मेरो गुनासो छैन । जे हुनु थियो, भइहाल्यो । तर राम्रै भयो । कहिलेकाहीँ अरूले त्यसको मूल्यांकन सही गरिरहेको पाउँदा आफ्नो मान्छेले ग्लानी महसुस गरिराखेको । मलाई आफ्नो मान्छेले चिनेको, माया गरेको र साथ दिएको पाउँदा नै खुसी छु ।
एआर रहमानको कोक स्टुडियोमा गएर एउटा गीत रेकर्ड गर्नुभयो । त्यसको भ्युज कति पुगेको छ थाहा छ तपाईंलाई ? ४४ मिलियन । हामी आफैँलाई पनि कति गर्व लाग्छ । नेपालीहरूका लागि ठूलो गर्वको कुरा हो । हामी गरिब देशको मान्छे । यहीँबाट निस्किएको एक जना आनी गायिकाले त्यो स्तरसम्म छोएको छ । त्यो क्षण बताइदिनुस् न कसरी त्यहाँ पुग्नुभयो ?
देश गरिब भए पनि ट्यालेन्टमा हामी गरिब छैनौँ । ट्यालेन्ट जाहाँ गए पनि त्यो चम्किन्छ । त्यसले मान्यता पाइहाल्छ । त्यसैले पनि एआर रहमानज्युले खोजेर/फोन गरेर मलाई निम्त्याउनुभयो । उहाँको कार्यक्रमको कोलाब्रेसनको निम्ति । त्यहाँ अन्य कलाकार बहिनी पनि हुनुहुन्थ्यो । बराबर ढंगले सुरमा सुर, तालमा ताल मिलाएर गाएर आएँ । सबैले खुसी व्यक्त गर्नुभयो । त्यत्तिकै इन्डियामा कहिलेकाहीँ यात्रा गर्दाखेरी, धेरैले बाटोमा चिनिरहेको हुन्छ । एकदमै माया र सद्भावका साथ मलाई व्यवहार गर्नुहुन्छ । उहाँमात्र नभइकन अन्य बलिउडका चर्चित संगीतकर्मीहरूसँग काम गर्ने मौका मिलेको छ मलाई । थ्रि इडिएट्स, परिनीति, मुन्नाभाइकोमा संगीत दिने शान्तानु महोत्रा हुनुहुन्छ, उहाँसँग धेरै पटक मैले लाइभ कन्सर्टहरू गरेको छु । पछिल्लो समयमा अजय अतुलजी नेपालमा पुगेर मेरो आवाज माग्नु भाथ्यो, प्रोजेक्टका लागि । मैले धेरै मौकाहरू पाइरहेको छु । म धेरै भाग्यमानी छु । कलामा हामी कति धनी छौँ, भनेर चिनाउन धेरै मौका मिलिराख्या छ ।
अनि आनी त आजभोलि प्राय:जसो हेलम्बुतिर एक्लै हिँडिराखेको, अलिकति त्यो तपाईंको उमेरको हिसाबले हो कि, अझै आनन्द र सन्तुष्टिको लागि त्यो बाटो लाग्न खोज्नुभएको ?
मैले समयमा बुद्धि पुर्याइराख्या छु कि जस्तो लाग्छ । किनभने म जिद्दी स्वभावको पनि हो । मन लागेको चिज मात्र गरेर हिँड्ने बानी छ, मेरो । समयमा, उमेरमा बुद्धि पुर्याउनु भनेको तीनवटा खुट्टा टेक्नुभन्दा अघि नै यसो डाँडाकाँडातिर गएर, एकान्तमा बसेर आनन्दले ध्यानमा लिन भएर, साधनामा लिन भएर चोखो हावापानीको आनन्द उठाउँदै, चोखो प्रकृतिमा रमाउँदै बस्न पाउनु भनेको एक्काइसौँ शताब्दीमा सबैभन्दा लक्जरियस लाइफ भनेर म मान्छु । म अत्यन्तै आफूलाई धनी ठान्छु । प्रकृतिको धनी देशमा म धनी मान्छे भएर आनन्दित भएर बाँकी जीवन बिताऊँ भन्ने मेरो योजना छ । त्यो बाटो कोर्दै छु ।
यहाँ लता मङ्गेस्करको प्रसंग जोडौँ । उहाँ ५० हजार गीत र १४ भाषामा गीत गाएर देहान्त पनि हुनुभयो । उहाँलाई यस्तै एउटा अन्तर्वार्तामा सोधिएको थियो- अर्को जुनीमा के बन्न चाहनुहुन्छ ? भनेर । उहाँले ‘म लता मङ्गेस्कर हुन चाहन्न’ भन्नुभयो । हाम्रो आनीलाई चाहिँ के लाग्छ ?
म त्यति सोच्दिनँ । मुख्य कुरा यो जन्ममा मैले गरेको कर्म सही छ कि छैन भन्नेतिर ध्यान दिन्छु । अब पछि पाउने जन्मचाहिँ यो जन्मको कर्ममा भर पर्छ भनेर गुरुले संस्कार दिनुभएको छ । त्यसैले पछि को के हुन्छ, हुँदैन भनेर चिन्तित हुनुभन्दा पनि अहिले बाँचिराखेको समयमा, यो जीवनकालमा चाहिँ कत्तिको सार्थक काममा आफ्नो समय व्यतीत गरिराख्या छु । सही संगतमा कसरी लाग्न सक्या छु । गुरुको शरणमा कत्तिको जान सक्या छु । ध्यान साधना कत्तिको गर्न सक्या छु । त्यतातिर धेरै हिसाबकिताब लगाउँछु । पछि हुने त देखा जाएगा ।
जीवन के हो जस्तो लाग्छ ?
जीवन जति आनन्दले जिउन सक्यो त्यति सफल भन्छु । पैसा र नाम मात्र कमाउँदैमा त सफल हुन्छ भन्ने पनि निश्चित छैन । तपाईंले भनेजस्तै लता मङ्गेस्करले जति पीडादायी जीवन भोग्नुपरेको थियो । सायद त्यही कारणले होला उहाँले पछिको जन्ममा लता मङ्गेस्कर जन्मिनु नपरोस् भन्नुभएको होला । गाह्रो होला उहाँलाई । उहाँ जतिको चर्चा र सफलता त मलाई मिल्या छैन नि । त्यतिसम्म मेरो जीवन कष्टकर छैन । मेरो जीवन अत्यन्तै सरल र सहज छ जस्तो लाग्छ । जीवन कसरी अघि बढाउने भन्ने आफैँमा भर पर्छ । अरूले के भन्छ भन्दा पनि आफूले के गरिरहेको छु भन्नेतिर हिसाबकिताब लगाउँदै सुधार्दै हिँड्यो भने लामो श्वास फेरेर म कति भाग्यमानी भन्दै श्वास छाड्न पाए त मजा आउँथ्यो नि ।
अन्त्यमा,
काठमाडौँदेखि महँगो टिकट काटेर बेलायत आएको छु । आफन्तसँग भलाकुसारी गर्न आएको छु । विशेष गरेर सबैलाई मानवसेवा आश्रमसँग जोड्नका लागि आह्वान गर्नलाई म यहाँ आएको छु । मेरो गीत संगीतले आनन्द त तुल्याउँछ नै पक्कै पनि, त्यसमा म कन्फिडेन्स नै छु । साथसाथै, सत्कार्यमा, सेवामा लागिपरौँ, हामी सबै मिलीजुली भन्नलाई मात्र हो । ५ तारिखको बेलुका पाँच बजे भेटौँला ।