बेलायतका अर्थमन्त्री जेरेमी हन्टले मार्च ६ मा जारी गरेको बजेटको एउटा महत्त्वपूर्ण पक्ष भनेको नेसनल इन्स्योरेन्समा कटौती हो । ६ अप्रिल २०२४ देखि लागू हुने गरी राष्ट्रिय बीमाको मुख्य दर २ प्रतिशतले घटाइएको छ ।
पहिले १० प्रतिशत नेसनल इन्स्योरेन्स तिर्नुपर्थ्यो भने अब त्यो कटौती भएर ८ प्रतिशतमा झरेको छ । यसबाट हरेक कामदारले वार्षिक ४५० पाउन्डसम्म बचत गर्न सक्ने बताइएको छ । तलब वेतनसम्बन्धी सफ्टवेयरहरू जस्तै: क्वीकबुकले नेसनल इन्स्योरेन्समा भएको यो परिवर्तन स्वतः घटाउने छ ।
स्वरोजगार (सेल्फ इम्प्लोएड)हरूले तिर्नुपर्ने नेसनल इन्स्योरेन्सको दर पनि ८ प्रतिशतबाट ६ प्रतिशतमा झरेको छ । जसबाट वार्षिक २८ हजार पाउन्ड आम्दानी गरिरहेका स्वरोजगारले वार्षिक ६५० पाउन्ड बचत गर्नेछन् ।
उता व्यवसायहरूले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुनुपर्ने शुल्क पनि बढाइएको छ । पहिले वार्षिक ८५ हजार पाउन्डको कारोबार हुने व्यवसायले मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्नेमा त्यसलाई ९० हजार पाउन्ड बनाइएको छ । यसैगरी, महामारीपश्चात् ल्याइएको रिकभरी लोन योजनाका लागि २०० मिलियन पाउन्ड छुट्याइएको छ । यसबाट करिब ११ हजार व्यवसायलाई सहायता उपलब्ध गराइने छ । रिकभरी लोन स्किमलाई ग्रोथ ग्यारेन्टी स्किममा बदलिएको छ ।
बजेटमा नयाँ ब्रिटिस आइएसएको व्यवस्था गरिएको छ । जसबाट ५ हजार पाउन्ड युकेको शेयर बजारमा लगानी गरिएमा त्यसमा कर लाग्ने छैन । यसैगरी, आफैँ बसोबास गरिरहेको घर विक्री गर्दा लाग्ने पुँजीगत लाभकर पनि घटाइएको छ । यसअघि २८ प्रतिशत रहेको सो कर अहिले २४ प्रतिशतमा झारिएको छ । यसबाट घर बिक्रीमा सहयोग पुग्ने आशा गरिएको छ ।
इन्धनको मूल्यमा कटौती अर्को वर्षको लागिसमेत जारी राखिएको छ । सरकारले इन्धनको मूल्यमा ५ प्रतिशत कटौती गरिरहेको छ ।
६ अप्रिल २०२५ देखि सबै फर्निचर, भाँडावर्तन लगायतका सामानको व्यवस्था गरिएको छ । बिदा मनाउने घरमा लगाइएको कर खारेज गरिनेछ । यसबाट अब छोटो अवधि र दीर्घकालीन अवधिका लागि घर भाडामा लगाउँदा लाग्ने करलाई एकै बनाइएको छ । यस्तै, १ जुन २०२४ देखि एकभन्दा धेरै घर किन्दा मिल्दै आएको कर छुट पनि खारेज गरिएको छ ।
(चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट तथा कर सल्लाहकार श्रेष्ठ बेलायतमा सञ्चालित पेपरवर्क सोलुसनका निर्देशक हुन् ।)