काठमाडौँ । नेपाली लोक तथा दोहोरी संगीतमा चम्किँदै गरेकी लोक दोहोरी गायिका हुन्, शर्मिला गुरुङ । आठ वर्षयता दोहोरी क्षेत्रमा सक्रिय गुरुङ आफ्नो सुरिलो स्वरले पछिल्लो समय दर्शक तथा श्रोताको मन जित्न सफल भएकी छन् ।
सन् १९९० जनवरी १३ मा तनहुँको व्यास–७ मा जन्मिएकी उनको संगीतप्रति रुचि बाल्यकालमै विकसित भएको थियो । क्यामिन माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेपछि उनी संगीतलाई अघि बढाउन काठमाडौँ छिरिन्, गायिका बन्ने सपना बोकेर । अनि २०७४ सालदेखि औपचारिक रूपमा लोकदोहोरी गायनमा सक्रिय बनिन् ।

बाहिरबाट आएको मान्छेलाई काठमाडौँमा संघर्ष गर्न सजिलो थिएन । तर पनि उनले हिम्मत हारिनन् । अनेक बाधा अड्चनलाई चिर्दै मिहेनत गर्न छाडिनन् र सफलताको सिँढी चढ्दै गइन् । सोही क्रममा काठमाडौँको सुनधारास्थित सुनौला दोहोरी साँझमा जोडिइन् । हाल उक्त दोहोरी साँझमा नै नियमित रूपमा प्रस्तुति दिँदै आएकी छन् ।
उनले नेपालमा विभिन्न सहरमा सयभन्दा बढी स्टेज शो गरेर फ्यान तथा फलोअर्स बटुलेकी छन् । युट्युब गायिका तथा स्टेज परफर्मरका रूपमा परिचित छिन् । उनका लोकदोहोरी तथा जातीय लोक भाकामा आधारित गीतहरू चर्चित छन् ।

उनले गाएका ‘माया गर्ने मुटु’, ‘डाँडैमा पिपलु छाया’, ‘ह्या माया’, ‘रुन्छु घरी घरी’लगायत गीत चर्चित छन् । लोक गायनमा गरेको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले ‘बेस्ट युगल गायिका’का रूपमा सम्मान प्रदान गरेको थियो ।
हाल सोही प्रतिष्ठानको सुनधारा शाखा सदस्यका रूपमा पनि सक्रिय छिन् ।