लन्डन । बेलायती विदेश राज्यमन्त्री एन्ड्रयू मिचेलको नेपाल भ्रमण गोर्खा समुदायका समान पेन्सनलगायत समस्या समाधान गर्ने विषयमा केन्द्रित गर्न भूतपूर्व सैनिक संघ (गेसो) ले माग गरेको छ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै गेसोले गोर्खाहरूका मुद्दा सधैँका लागि समाधान गर्नेबारे ध्यानाकर्षण गराएको हो। विदेश राज्यमन्त्रीको यसै हप्ता हुने भ्रमणमा वार्तामार्फत गोर्खाहरूका समान पेन्सनलगायत समस्या तत्काल समाधान गर्ने, वार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सकारात्मक सोच र निर्देशनबमोजिम परराष्ट्र सचिवस्तरीय तयारीमा दुवै देशका परराष्ट्र मन्त्रीस्तरमा हुनुपर्ने विषयमा समेत केन्द्रित गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ।
गेसो सभापति कृष्णकुमार राईद्वारा जारी गरिएको विज्ञप्तिमा वार्तामा गोर्खा समुदायका सम्पूर्ण संघसंस्था तथा अभियन्ताको समान प्रतिनिधित्व हुनुपर्ने र वार्ताका विषयवस्तु र शैली अग्रिम रूपमा नै टुंगो लगाउनसमेत माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा अब हुने वार्ताको पनि कुनै अर्थ रहने छैन र हामी गोर्खाहरू थप वार्तामा अल्मलिनसमेत जरुरी छैन।’ अब हुने वार्ता आगामी फेब्रुअरी २१ र मार्च २७ का लागि तय भएको छ।
बेलायतका सेनाध्यक्ष सर प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरेर फर्केको केही समयमै हुन लागेको राज्यमन्त्रीको भ्रमणलाई गेसोले महत्वका साथ हेर्न जरुरी रहेको गेसोले जनाएको छ।
पछिल्ला भ्रमण बेलायत सरकारसँग गोर्खा सैनिकका समान पेन्सनलगायत समस्या समाधानका लागि भइरहेका वार्ता निस्तेज गर्न भइरहेको हो कि भन्ने आशंका पनि विज्ञप्तिमा गरिएको छ। ‘गेसोले केही समय अघि मात्र अबको वार्ताको परराष्ट्र सचिवस्तरीय तयारी र मन्त्रीस्तरीय वार्ताबाट आगामी छ महिनाभित्र सार्थकतापूर्वक सम्पन्न भइसक्नु पर्ने अन्यथा गेसोले कडा आन्दोलन घोषणा गर्ने जानकारीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष एक ज्ञापनपत्र पेस गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘सो वार्तामा गोर्खा समुदायका सबै संघसंस्था र आमरण अनसनकारी अभियन्ताहरूसमेतको सहभागितामा हुनुपर्ने भनी परराष्ट्र मन्त्रालयलाई आवश्यक निर्देशनका लागि अनुरोध गरेको थियो।’
राज्यमन्त्री मिचेलको यो भ्रमण नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न पहिलो शान्ति तथा मैत्री सन्धिको शतवार्षिकीका अवसरमा हुन लागेको जनाइएको छ।