अमर : बस आइसक्यो । छिट्टो झर न ।
पारु : सारी मिलाउँदैछु । बरु छोरालाई तयारी गर्नुभयो ?
अमर : बाबु त गइसके हरिमाया अन्टीसँग ।
पारु : शुक्रबार सेकङ्ग भिलेजमा मेला लाग्ने दिन । त्यहाँ त कार्ड चल्दैन । क्यास निकाल्नु भएको छ ?
अमर : ५ हजार डलर छ । पुग्छ होला नि !
वाह पारु ! कति राम्री देखिएकी । भर्याङबाट झर्दै, कालो, लामो सिल्की कपाल, पहेँलो सारी, टपक्क मिलेको ब्लाउज, छिनेको कम्मर कुनै सिनेमाको हिरोनीभन्दा कम थिइनन् ।
पारु : भाउज्यूले सिङ्गापुरबाट पठाइदिनुभएको सारी हो । कतिको सुहाएको छ अमर ?
अमर : पर्फेक्ट । ढिला भयो । चाँडो जाउँ न । सबैले जिस्काउँछन् । यिनीहरुको बुढाबूढी घर पसेपछि निस्कँनै जान्दैनन् ।
पारु : होस है । अमर यता आउ न ।
अमर : किन हो ?
पारु : एक पटक चुप्प गर न ।
अमर : बूढी पनि वेस्टर्न नै भयो यार । एक छिन छोड्दैन । ल पुग्यो ?
पारु : आइ लभ यू अमर ।
अमर : ओके मी टू ।
सबै बसमा चढिसकेका थिए । चाइनिज ड्राईभर फाइती फाइती भन्दै थिए । अमर भर्खरै बेलायतबाट सार्जेन्ट हुने कोर्स गरेर फर्केका थिए । छोरा आकाश तीन वर्षका थिए । ४५ मिनेटमा सेकङ्ग भिलेज पुगे । फ्राईडे मार्केटमा प्राय: सबै खालका सामानहरु पाइन्थे । सस्तो पनि । तीन घन्टा जतिको सपिङ सकेर घर फर्के ।
शुक्रबार आधा दिन । शनिबार, आइतबार पूरै छुट्टी थियो । पारुलाई अति घुम्नु पर्ने । रमाइलो गर्नु पर्ने । अमर भने आफ्नो जागिरमा फोकस गर्थे । उनीहरुको विवाह पनि लभ म्यारिज थिएन । पारु गोर्खा हाइस्कुलबाट एसएलसी पास गरेर नेपाल पढ्न गएका थिए । अमरले भने गाउँकै सरकारी स्कुलबाट पढेर फस्ट डिभिजन ल्याएका थिए । अति मिहिनेती थिए । पारुका बाबा वीरबल गुरुङ मिलिटेरी एकडेमी स्यान्ड्रस्टमा अफिसर कमान्डिङ थिए । अमर पनि त्यहीं १८ महिना कार्यरत थिए । अमरको अनुशासन, मिहिनेत सबै देखेर मेजर वीरबल प्रभावित थिए । पछि छोरीको विवाह पनि उनीसँग नै गरिदिए ।
उनीहरुको वैवाहिक जीवन राम्रो चलिरहेको थियो । दिन बित्दै जाँदा पारुको अरु दुई छोरीहरुको जन्म भयो । अमर पनि सर्जेन्ट रैंकसम्म पुगे । सेनाबाट अवकाश लिए । नेपाल फर्किए पछि पारु छोराछोरीहरुको हेरचाह, पढाईमा खटिए । अमर भने क्रुजमा जागिर गर्न अमेरिका पुगे । पारु साहित्यमा अति रुची राख्थिन् । उनले केही कृतिहरु पनि प्रकाशन गरिसकेकी थिइन् । जाडोको सिरक, बीग बेनको घन्टी, मुटुको टुक्रा, थेम्स र सीन रिभर उस्ताउस्तै, हल्का, बन्दुकको गोली, नसालु आँखा धेरैले मन पराएका कृतिहरु थिए ।
साहित्यिक क्षेत्रमा लागेको, धेरै व्यक्तिहरुसँग भेटघाट गरेको श्रीमान्लाई अलि मन परेको थिएन । उनीहरुबीच केही मीसअन्ड्रस्ट्यान्डिङ भइसकेको थियो । छोराछोरी सबैले आमालाई नै सपोर्ट गर्थे ।
सन् २००४ सालमा भूपू ब्रिटिस गोर्खाहरुले ब्रिटेनमा बस्न पाउने अधिकार खुलेपछि अमरको परिवार पनि बेलायत आए । नौलो ठाउँ रमाइलो भइरहेको थियो । छोराछोरी कलेज सकेर युनिभर्सिटी पढ्दै थिए । बाआमा पनि कस्सिएर काम गरिरहेका थिए । दिन राम्रो चलिरहेको थियो । अमरलाई पनि युनी पढ्ने भूत चढ्यो । सिकुरेटी काम गर्दै, पढ्दै गए । सजिलो थिएन । तर ग्रेज्यूट गरेरै छाडे । घरमा छोराछोरी बाआमा पाँचै जना ग्रेज्यूटहरुको फोटो लिभीङ्ग रुममा लहरै टाँगिएको थियो ।
भित्रभित्रै भने अमर र पारुको बीचमा विस्तारै दूरी बढ्दै गएको थियो । अमर रिसालु स्वभावका भैसकेका थिए । कहिलेकाहीं नशाका बेला श्रीमतीलाई हातपात पनि गर्थे । तर पारु अति सहनशील थिइन् । सहेर बस्थिन् ।
घटनाक्रम साम्यभन्दा पनि बढ्दै गयो । कहिलेकाहीं रिसको झोकमा खुकुरी निकालेर ढोकामा पनि हाने । एक पटक कान्छी छोरी, सुम्निमाले देखिहालेछ । बेलायतमा हुर्के, पढेको घरेलु हिंसाको बारे सुनेकी छोरीले प्रहरीमा खबर गरिदिए । तुरुन्तै प्रहरी आएर अमरलाई कस्टडीमा लगिहाल्यो । पारुलाई पर्नु पीर पर्यो । जसोतसो खपेर, सहेर जीवन चलिरहेको थियो । अब बर्बाद भयो । छोराछोरीको कुरा नसुनी भएन । तपाईंको हेरचाह हामी गर्छौं । अब तपाईं दुईजना सँगै बस्नु सुरक्षित छैन । कुनै बेला नराम्रो घटना हुन सक्छ । मनमा हो कि जस्तो पनि लाग्यो ।
अमरलाई तीन दिनमा प्रहरीले छाड्यो । तर घरको तीन माईल वरिपरि आउन नपाउने बन्देजसहित र परिवारको कसैसँग पनि फोनमा कुराकानी गर्न नपाउने नियम लगाइयो ।
उता पारु भने छोराछोरी कोही नभएको बेला भक्कानिएर एक्लै रुन्थिन् घरमा । सधैं भेटघाट भैरहने साथीभाइ पनि सबै टाढिँदै गए । बाटोमा भेट्दा पनि छोटो बोलेर हिँडिहाल्न खोज्थे । अमर सेक्युरिटी जागिरबाट पनि बर्खास्त भए । जीवन दुवैतिर कठिन हुँदै गयो । आफन्तहरुले मिलाउन निकै कोसिस गरे तर छोराछोरीहरु नै सबैको तगारो बने । छोराभन्दा पनि छोरीहरु आमाको सुरक्षाका लागि कुनै हालतमा पनि बाबासँग मिलेर बस्न नसकिने जिकिर गरे । अमर र पारुबीच भएको घटना छरछिमेकमा फैलियो । अमर एक जना पल्टने साथीको घरमा कोठा लिएर बस्न थाले । दिनप्रतिदिन सम्बन्ध सुधारभन्दा बिग्रिँदै गयो । डिभोर्सको प्रोसेस सुरु भयो । छ महिनामा सम्बन्ध विच्छेद पूरा भयो ।
अमरलाई एक प्रकारले निकै हल्का भएको अनुभव भयो तर एक्लै जिउन सजिलो थिएन । आफन्त, साथीभाइहरुले बिहे गर्नु पर्छ भन्न थाले । एक्लै बस्नु हुँदैन । कसैले आफ्नै आफन्तहरुलाई नै देखाए । अन्तत: दुई छोरी भएकी सरिता थापासँग नेपालमा विवाह भयो । सर्त छोरीहरु र आमालाई बेलायत लाने गरी । अमर कस्सिएर काम गर्ने प्रयासमा थिए तर उनको फेमिली भ्वालेन्सको खराब रेकर्डले गर्दा कुनै सरकारी राम्रो जागिर गर्न पाउदैन थियो । जसोतसो काम खोजेर गुजारा चलाए । श्रीमती सरितालाई नेपालबाट बेलायत ल्याए । सरिताले पनि काम खोजिन् । छोरीहरुलाई उनीले नै स्पोन्सर गरेर बेलायत झिकाए । बच्चाहरुको स्कुल बाआमाको काम, दैनिकी राम्रै चलिरहेको थियो । सरिताको कहींकतै स्वार्थीपन त देखिन्थो तर अमरले त्यति ध्यान दिएका थिएनन् ।
केही वर्षको बेलायत बसाईपछि सरिताले आईएलआर पाइन् । छोरीहरु पनि हुर्किँदै थिए । छ महिना जति भयो । सरिता लिभ इन केयरर गर्थिन् । अमरले किन त्यस्तो काम गर्ने, हामी घरमा सँगै बस्नै पाउँदैनौं । तर उनी सुनेको नसुने गरी त्यही काम गरिरहे । मुस्किलले महिनाको दुईपटक जस्तो परिवारमा भेट हुने गर्थ्यो । तैपनि छोरीहरुका लागि सपिङ्ग जानुछ भनेर घरबाट निस्किहाल्थिन् । आईएलआर पाएपछि त बोलीमा पनि फरक हुँदै गएको थियो । एक पटक अमरले दिदीसँग बोल्दै गर्दा अधुरो त सुनेको थियो । "कागज पाएपछि कहाँ बस्छु ।" वास्ता गरिएन । कुरा त पछि मात्र बुझे । लिभ इन केरर काम छोड भनेर पटक-पटक भन्दा, काम गरेर पनि खाना नदिने भनेर मुखमुखै लागे । झगडा नै सुरु भयो । मुस्किलले भेटघाट हुने । निहुँ बनाएर घरबाट निस्किहाल्ने आदि कारणले अमर फेरि सम्बन्ध विच्छेदबाहेक उपाय देखेनन् । केही साथीहरुसँग सल्लाह गरे ।
कामबाट थाकेर फर्किएका थिए । घरमा टीभी हेर्दै थिइन् । तिमीसँग सिरियस कुरा गर्नुछ भने । के को कुरा उनी झर्किए । मलाई धोका भयो । अब म तिमीसँग बस्न सक्दिनँ । मलाई पनि त्यस्तै भैरहेछ । धोकेबाज । एक दिन तिम्रो दिदीसँग फोनमा बोलेको त सुनेको थिएँ । मैले त राम्रै मनले वास्ता गरिनँ । पापिनीहरुको चाला त यस्तो पो रहेछ । अर्काको जीवनमा कागजको लागि खेलबाड गर्ने । तिमी जस्ताको जीवनमा कहिल्यै घाम उदाउँदैन । बुझिस् । मलाई डिभोर्स दे । मैले पनि त्यही कुरिरहेथेँ । तलाई लाज छैन । अर्काको छोरालाई पाँच वर्षसम्म धोका दिएर जीवन बर्बाद गर्ने । जसरी म माथि खेलबाड गरिस् । तैले पनि मेरै आँखाको अगाडि भोग्नेछस् । तेरो अनुहार एक सेकेन्ड हेर्नुछैन ।
अनलाइन डिभोर्स एप्लिकेसन गरिहाले । दुई महिनामा सबै काम भयो । टाउको हाल्का भयो । फेरि समस्या त त्यही हो । बिहे गर्ने कुरा । किनकि मेरो दुइटा पेन्सन थियो । गोर्खा पेन्सन र स्टेट पेन्सन । दुवै गरेर झन्डै ने.रु. १ लाख ७० हजार । केही महिना नेपाल अरामसँग बस्नु पर्यो भनेर गए । आफन्तले दिनदिनै कुरै त्यही । ८०, ९० वर्षका बुढाहरु त तरुनी बिहे गरेर बेलायत लगेका छन्। तिमी त ७० पनि पुगेका छैनौं । के को मरिच जस्तै खुम्चिएर बस्छौं बाबै । कानै खायो । एक दिन होइन, दुई दिन । सुनाएका सनायै छन् । ल ठीकै छ । खोज्देऔं तरुनी । आफन्त बुढाहरुले ५ वर्ष छोरी सहितको ३६ वर्षीया फूलमाया तामाङ भिराईहाले । के गर्ने । मान्नै पर्यो । स्वीकारेँ । एउटी चाहिने ।
फूलमायालाई पनि बेलायत ल्याउने प्रोसेस गरे । निकै मुस्किल भयो । पहिलेका रेकर्डहरुले गर्दा । छोरी आमा दुबै बेलायत आए । फेरि नयाँ परिवार सुरु भयो । पहिलो पटक बेलायत आएकी फूलमाया त्यही पनि समरमा, अति खुसी भइन् । अलि गरिब परिवार, दुई छाकका लागि पनि धौ धौ भइरहेको परिवारबाट यो परिवेशमा आउँदा उनको खुट्टा भुइँमा थिएनन् । अमर भने 'अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सन्छ' भनेझैं विगत सम्झिँदै सतर्क हुन्थे ।
फूलमाया र पहिलो श्रीमतीको छोरीको उमेर एकै थियो । माया गरेर बाबा भनि बोलाउँथ्यो । छोरी प्राईमेरी स्कुल जान्थिन् । बुढाको पेन्सन कमाई राम्रै थियो । उनीहरु निकै रोमान्चित भएर हिँड्थे । श्रीमती उमेरकै भएकाले कतै भविष्यमा धोका नहोस् भनि अमर फेरि पिता बन्नलाई कस्सिए । फूलमाया जिस्काउँछिन्, "बाउछोरा सँगै भित्ता समाउने हो कि क्या हो ।" अमर धेरै अनुभवी थिए । बेलायतमा सबैभन्दा बढी गर्भधारण हुने महिना सेप्टेम्बर हो । त्यही मौका छोपी फूलमायालाई दुई ज्यानको बनाए । सेप्टेम्बरमा कन्सिभ भएपछि जून महिनामा बच्चा जन्मिन्छन् । बेलायतको लागि राम्रो न्यानो महिना पनि हो । सबै कुरा अमरको योजनानुसार भयो ।
नभन्दै जूनको १८ गते रोयल बार्कस्यार हस्पिटलमा फूलमायाले छोरा जन्माइन् । अमरको उमेर ७३ वर्ष पुगे तापनि ५५, ६० को जत्तिको देखिन्थे । परिवारमा नयाँ उमङ्ग छायो । दुवैको घर र माइती तिरकाहरु असाध्यै खुसी भए । छोराको नाम युद्ध राखे । पहिलो जन्मदिन धुमधाम मनाइयो । केही वर्षमा प्ले स्कूल जाने भैहाल्यो ।
फूलमाया आफ्नै छोरी र अमरको छोरालाई हुर्काउँदै व्यस्त थिए । अमर पनि पेन्सनर लाईफमा पिता बनेर रमाइरहेका थिए । दुवै बच्चाहरुले पढाईमा राम्रो गरेका थिए । लगभग १५, १६ वर्ष बितेको उनीहरुलाई पत्तै भएन । छोरी कलेज सकेर युनी तेस्रो वर्षमा पढ्दै थिइन् । केही वर्षपछि युद्ध पनि रेडिङ युनिभर्सिटीमा ऐग्रीकल्चर एन्ड फरेष्टी पढ्न भर्ना भए । त्यही विभागको प्रोफेसर रोहिनी लामा थिइन् ।
रोहिनी अमरका पहिलो श्रीमती तिरको पहिलो छोरी थिइन् । तर युद्धलाई आफ्नो पिताको विगतबारे केही थाहा थिएन । रोहिनी र युद्धको अनुहार ठ्याक्कै पिताको जस्तै थियो । रोहिनीलाई शंका लाग्यो र युद्धको इनरोलमेन्ट चेक गरे । उनले पिताको नामबाट थाहा पाइहाले । तर रोहिनीले कहिल्यै पनि आफ्नो भाइ भनेन तर भित्रभित्रै माया गर्थिन् । क्लासमा मद्दत गर्थिन्।
छोरा युद्ध युनी सुरु गर्ने बेला अमर ८२ वर्ष पुगिसकेका थिए । त्यसैले युनीमा छोरी रोहिनीले पढाउँछन् भन्ने हेक्का नै थिएन । रोहिनीले "गोर्खाज एन्ड ट्र्यू ड्याड" भन्ने पुस्तक लेख्दै थिए । युद्धले फस्ट क्लास अनर हासिल गरेर ग्रेज्यूट भए । परिवारमा खुसीको सीमा रहेन ।
अमर अलि बुढो नै भैसकेका थिए । ट्राभल गर्न त्यति मन पराउँदैनथे । छोराछोरीको प्रगति समालेर खुसी बाँड्न फूलमाया छोराछोरीसहित नेपाल गए । बाजेबज्यै धरान बस्थे । एक महिनाको बिदा रमाइलो गर्दै बित्यो ।
छोरा युद्ध पोखरामा साथी भेट्न गएका थिए । छोरी र फूलमाया विराटनगर एयरपोर्टबाट काठमाडौं उड्दै थिए । चैत महिना हुरीबतास जोडले चलिरहेको थियो । काठमाडौं अवतरण गर्न नसकी जहाज विराटनगर नै फर्किंदै थियो । हुरीबतास यति जोडले चल्यो, क्रस विइन्डका कारण विराटनगर पनि ल्यान्ड गर्न सकेन । अकाशमा उड्दाउड्दै मौसमको चरम खराबीले गर्दा जहाज बाहुनी डाँडामाथि दुर्घटना भयो । फूलमायाको खुसी छोरीसहित सदाको लागि अन्त भयो ।
यता बुढो अमर फूलमाया र छोरीको दुर्घटनामा परी मृत्युको खबरले अर्ध पागल झैं भएका थिए । युद्ध आमा र दिदीको अन्येष्टि गरी सकेर मन भारी गर्दै बुढो पितालाई भेट्न युके फर्किए ।
डा. प्रो. रोहिनी लामाले किताब लेखिसकेका थिए । त्यस किताबमा आफ्नो पिताले बेलायतमा बच्चाहरुलाई ल्याएर यहाँको उच्चा शिक्षा हासिल गर्न खेलेको भूमिका, छोरीहरुसँगै आफै पनि युनी पढ्न गएको बारे र आमासँगको सम्बन्ध छोरीहरुकै गल्तीले भएकोसम्म उल्लेख गरिएको थियो।
रोहिनीले उक्त पुस्तक युद्धलाई दिँदै तपाईंको पिता भूपू ब्रिटिस गोर्खा हो, सायद मन पराउनुहुन्छ होला । लैजानुस् है । थ्याङ्क यू आई एम स्योर हि विल लाइक ईट ।
अमर पत्नी शोकले झोक्रिएका थिए । छोराले दिएको किताब पढ्दै गए । उनीमा एक प्रकारको खुसी अनुहारमा देखिँदै गयो । थाहा भैहाल्यो कि छोरी रोहिनीले लेखेको पुस्तक भनेर । बल्ल, अमरले छोरा युद्धलाई विगतको बारे बेलिविस्तार लगाए । युद्ध अचम्म मान्दै सुन्दै गए । जब युद्धले यथार्थ थाहा पाए । रोहिनी दिदीलाई तुरुन्त फोन गरिहाले । भाइ मलाई तिमी युनी आएकै दिन थाहा थियो । भाइ हो भनेर । म सधैं नजिकबाट हेर्थे । तिम्रो रिजल्टहरु देख्दा म एक्लै प्रशन्न हुन्थें । बधाई छ तिमीलाई । क्यान आई मिट यूअर मम ? अफ कोर्स ।
युद्धले पिता अमरलाई घुम्ना जाउँ भनेर सिधै पहिलो श्रीमतीको घरमा सरप्राइजली पुर्याइदिए । रोहिनीसँग त कुरा गरिसकेका थिए । सबै छोराछोरी मिलेर ४० वर्ष बढी छुटेर बसेका बाआमालाई भेट गराइदिए ।
हेराहेर भए । कोही बोलेनन् । डा. रोहिनी आँखाभरि आँसु झार्दै, हामीलाई माफ गर्नुस् बाबा । गल्ती हाम्रै थियो । हामीले बुझेनौं । भर्खरै युके आउँदा हामीले नेपाली र बेलायती नियम कानुनलाई ठीक ढंगसँग बुझ्न सकेनौं । त्यसको असर जिन्दगीभरि तपाईंहरुलाई पर्यो । हाम्रो हम्बल रिक्योष्ट अबको रिमेनिङ्ग लाईफ सँगै बस्नुहोला ।
जन्म दिने आमाले छोड्नु भए पनि ठूली आमालाई बाबासँग मै राख्न चाहन्छु । बाबाको अनुहारमा खुसी हेर्न चाहन्छु । छोराछोरीले गरेको सरप्राइज भेटलाई स्वीकार्दै पारु र अमर अँगालोमा लामो समय कस्सिरहे । सेकङ्ग भिलेजको फ्राईडे मार्केट, पहेँलो सारी, घरबाट निस्कँदाको चुप्प सबै याद बिजुलीको तेजमा घुमिरह्यो । छोराछोरी सबै मिलेर पार्टीको तयारीमा जुटे । अमरले छोरी रोहिनी र युद्धलाई विशेष धन्यवाद दिँदै, खुसीको लामो श्वास लिए ।
(पात्रहरु काल्पनिक हुन् । कोही कसैका जीवनसँग मेल खान गएमा संयोगमात्र हुनेछ । लेखक जिम्मेवार हुने छैन ।)