गएको साता नेपालका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा एउटा कुरा छायो, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको क्रिसमससँग सम्बन्धित अभिव्यक्ति । त्यसपछि यसको पक्ष र विपक्षमा मत आइरहेका छन् ।
इसाई धर्म विश्वको सबैभन्दा ठुलो धर्म हो । धर्मले आफ्नै सीमा निर्धारण गर्दछ । यद्यपि म यो धर्म तुलनात्मक हिसाबले प्रगतिशील देख्छु । किनकि यसमा जातीय विभेद तथा उचनीचको भावना छैन । धर्मनिरपेक्ष राष्ट्र नेपालमा सबै धर्ममा आस्था राख्नेहरुको समान अधिकार र समान हैसियत रहन्छ । तर अरुको खाएर आफ्नो दुनो सोझाउने केही समूह धर्म र राजतन्त्रको नाममा संविधानमाथि नै धावा बोल्दैछन्।
मन्त्री किरातीको अभिव्यक्तिले धर्मको नाममा हैकम जमाउन खोज्नेको मन दुखेको हो । उनी कुनै धर्म विशेषमा झुकाव राख्दैनन् भन्ने कुरा उनको विगतका गतिविधिले प्रस्ट पारेका छन् । उनले पशुपति क्षेत्रमा वर्षौदेखि थुप्रेर रहेको फोहोर सफा गर्न अगुवाइ लिए । पशुपतिमा हिन्दू विश्वविद्यालय खोल्ने भनेर कार्यदल समेत गठन गरी त्यसको प्रतिवेदनसमेत बुझिसकेका छन् । त्यसबेला उनले हिन्दू धर्मको खुलेरै वकालत गरेका थिए ।
त्यसैगरी, लुम्बिनीमा गएर पनि बुद्ध धर्मको लामै व्याख्या गरेका थिए । किरातहरुको माङहिम हात्तीवनमा गएर किरात धर्मको बारेमा पनि धेरै कुरा भनेका थिए । त्यतिबेलासम्म उनले प्रशंसा नै बटुलेका थिए । तर इसाइहरुको कार्यक्रममा दिएको अभिव्यक्तिमा विवाद झिकिएको छ, जसका केही कारण छन् ।
दसवर्षे जनयुद्ध र उन्नाइसदिने जनआन्दोलन जगमा उभिएको यो व्यवस्थालाई नस्वीकार्ने समूह पनि छ । उसले सकेसम्म यो व्यवस्था र व्यवस्थाका हिमायतीमा खोट लगाउने प्रयास गर्छ । यसबाट उत्पन्न द्वन्द्व हाम्रो देशको आन्तरिक संघर्ष हो । आन्तरिक संघर्ष आजको राजनीतिक व्यवस्थासँग सिधैँ जोडिएको छ । यसलाई अझ बिस्तारमा बुझ्न हामीले इतिहासतिर फर्केर हेर्न जरुरी छ । पृथ्वीनारायण शाहले नेपालको भौगोलक एकीकरण गरिसकेपछि नेपाललाई शक्तिसम्पन्न र समृद्ध बनाउन उनीसँंग कुनै वैज्ञानिक विचार त थिएन, उनीसँग भएको थोरै विचार हिन्दू दर्शनमा आधारित मनुवादी विचारमात्र थियो । अतः उनले नेपाललाई असली हिन्दूस्तान बनाउने सपना देखे । र, भनिदिए नेपाल चार जात, छत्तिस वर्णको साझा फूलबारी हो । तर व्यवहारमा एक जात, एक भाषा र एक धर्मको बाटो हँुदै हिन्दूस्तान निर्माणको यात्रा सुरु गरे ।
त्यस यात्राभरी हिन्दू धर्म मान्दिनँ भन्ने जतिलाई संख्या यकिन नभए पनि धेरैलाई शुलीमै चढाइयो । कतिलाई देश निकाला गरियो । स्मरणरहोस्, नेपालको संविधान २०७२ जारी नहुँदासम्म नेपाल विश्वको एकमात्र हिन्दू राज्य हो भनेर चर्चा गरिन्थ्यो । नेपालको संविधान २०७२ जारी भएसँगै असली हिन्दूस्तान निर्माणको २५० वर्षको लामो यात्रामा पूर्णबिराम लाग्यो । नेपालको संविधान अर्को शब्दमा भन्दा धर्मको आधारमा देश चलाउनु पर्छ भन्ने विचार बिस्थापित भयो ।
संविधान लेख्नेक्रममा हिन्दूवादी विचारधाराको हार भए पनि त्यस्ता विचार राख्ने मानिसहरु जीवित थिए र रहिरहनेछन् । पूर्व राजा ज्ञानेन्द्र र पहिलेदेखि उनका नजिक रहेका मानिसहरु यो व्यवस्था कुनै पनि बेला बदल्न सकिन्छ भन्ने सपना देखिरहेका छन् । मानवीय स्वभावको दृष्टिमा यो स्वभाविक पनि हो । मान्छेले गुमेको चिजमा सन्तुष्ट भएर माया मार्दैन । गुमेको बिरासत फर्काउने हरसम्भव कोशिस गर्छ । क्रान्तिपछि प्रतिक्रान्तिको सम्भावना मानिसको यही स्वभाव र सोचले जन्माउने गर्छ ।
माक्र्सवादी विचारक आहुतीको भनाइ सापटी लिने हो भने, हिजो राजा महाराजाहरुको आसपास रहेर खाइपाइ आएकाको केही पुस्तासम्म पुरानो धङधङी रहिरहन्छ । मन्त्री किरातीको अभिव्यक्तिप्रति आएको प्रतिक्रिया यही धङधङ्गीको परिणाम हो ।
अर्को बाह्य कारण पनि छ, जो इसाई धर्मवलम्बीहरुको विश्वमा रहेको दबदबा । मन्त्री किरातीले भने जस्तै इसाई धर्म वास्तवमै अरु धर्मभन्दा जनसंख्याको आधारमा ठुलै हो । यसले तेस्रो विश्वमा प्रभाव पारेर त्यहाँको जनसंख्यालाई राम्रैसँग आकृष्ट गरिरहेको छ । यसले सबभन्दा बढी ठुलो प्रभाव देशमा संख्याको नाममा दबदबा राख्न खोज्ने धार्मिक समुदायलाई पनि पर्छ ।
त्यसैले नेपालमा देखिएको हिन्दूवादी संघसंस्था र हिन्दूवादी विचार बोक्ने राजनीतिक दलले मन्त्री किरातीको अभिव्यक्तिमा नकारात्मक प्रतिक्रिया जनाउनु स्वभाविक हो । यो नेपालमा इसाईहरुको बढ्दो दबदबा र हिन्दूहरुको घट्दो लोकप्रियताले जन्माएको पीडा पनि हो । तर मन्त्री किरातीको अभिव्यक्तिले उनीहरुको मनमा जलिरहेको चिन्ताको आगोमा घिउ थपेको चाहिँ पक्कै हो ।
तर नेपालमा इसाईहरु बढ्नुमा भने मन्त्री किरातीभन्दा हिजोका राजा महाराजाहरु बढी जिम्मेवार देखिन्छन् । नेपालमा अंग्रेजी शिक्षा भित्राउने नाममा सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुल खोल्न दिएर हिजोका राजा र राणाहरुले आफ्ना छोराछारीलाई अंग्रेजी पढाएर नेपालमा एकछत्र राज गरेको इतिहास धेरै अगाडिको त होइन । साथै धार्मिक गतिविधिलाई मलजल गर्ने कतिपय आइएनजियोहरु नेपालमा भित्रिन पनि उनीहरुले अनुमति दिएका थिए ।
नेपाल बहुजाति, बहुभाषी र बहुधार्मिक राज्य भएकोले यहाँको सामाजिक संरचना खलबलिन नदिन सबै व्यक्ति, संघसंस्था र राजनीतिक नेतृत्वले संयमतापूर्वक बोल्न र कदम चाल्न जरुरी देखिन्छ । विविधता सम्हाल्न जाने शक्ति र सम्हाल्न नजाने द्वन्द्वको स्रोत पनि हो । त्यसैले अहिलेको अवस्थामा धार्मिक तथा सामुदायिक द्वन्द्व फैलिने जोखिम हेर्दै सबै संयम हुनुपर्छ ।