भारतीय आर्मीमा लाहुरे हुनबाट असफल भएपछि हतारहतार विद्यालय अर्धवार्षिक परीक्षा दिन बसें । मेरो विचारमा अर्धवार्षिक परीक्षा फेल भइन्छ जस्तो लागेको थियो । किनकि स्कुल पौष महिनामा भर्ना हुनुपर्ने थियो । म भने चैत्र महिनामा भर्ना भएको थिएँ । त्यसमा पनि लाहुर जाँदा झण्डै पन्ध्रबीस दिन पढाइ छुटेको थियो । तर अर्धवार्षिक परीक्षाको नतिजा राम्रै आयो ।
मेरो कक्षाका झण्डै आधाभन्दा धेरै विद्यार्थीलाई पछाडि पार्न सफल भएँ । त्यसैले म निक्कै खुसी भएँ । असार र श्रावण महिनामा विद्यालय बन्द हुन्थ्यो । बिदाको महिनामा घरमा गएर मकै गोड्ने, दोहोऱ्याउने, आलु गोड्ने र कोदो गोड्ने परिमो लागेर काम गरें । भाद्र महिना लागेपछि फेरि विद्यालय फर्केर पढ्न थालेँ । आश्विन महिनामा हाम्रै गाउँका ब्रिटिशका गल्लावाला समबहादुर पुन भेनाले मलाई भर्तीका लागि छाती नापे । एआरओले कहिले नाप्ने हो, थाहा थिएन । मङ्सिर महिनामा ९ कक्षाको वार्षिक परीक्षा दिनुपर्ने थियो । वार्षिक परीक्षा हुने दिनमै छिमेकी गाउँ बेगमा ब्रिटिशको एआरओले भर्तीका लागि नाप्ने भएको रहेछ । त्यसपालि छाती नाप्नेले पनि फेरि दोधार बनायो । छाती नाप्न जाने कि वार्षिक परीक्षा दिने ? अन्त्यमा छाती नाप्न जाने निर्णय लिएँ ।
अर्को दिन बेग जानुपर्ने थियो । पहिलो दिनको बेलुकी मेरो साइँला बाजे हवल्दार गमबहादुर गर्बुजाकी छोरी प्यारी गर्बुजा थाने पुन फुपू सुपौली रुपन्देहीबाट उहाँको जेठो छोरा किसन पुनलाई लिएर मेरो डेरामा टुप्लुक्कै आउनुभयो । किसन पनि भर्ती हुन आएका रहेछन् । फुपूहरू मेरो डेरामा राप्न गएँ । त्यसप एक रात बसेपछि भोलिपल्ट हामी बेग गयौँ । बेगमा चिम्खोलाबाट आएका ठिटाहरू र गल्लावालासँग भेट भयो । चिम्खोलाबाट आएका ठिटाहरूमध्ये पुलका साथी रहे इन्डियामा भर्ती हुन गई असफल भएर आएका मनबहादुर तिलिजा, चौबहादुर पुन र समबहादुर तिलिजा पनि थिए । भोलिपल्ट सबैभन्दा पहिला उचाइ नाप्ने थियो । उचाइ नाप्ने बेला तल खुट्टा हेर्नेमा मेरा कान्छा बाबा क्याप्टेन बेगबहादुर पुन थिए भने माथि हेर्नेमा राखुका अर्का गल्लावाला गोपी शाही थिए । मैले आफ्नै कान्छा बाबा हुनुहुन्छ क्यारे भनेर अलिकति उचालें तर कान्छा बाबाले 'खुट्टा नउचाल् काइँला ।' भन्नुभयो । वास्तवमा उचाइ पुगेको थियो तर कान्छा बाबाले त्यसो भनेपछि माथि उचाइ नाप्ने गल्लावालाले तल थिचिदिएपछि मेरो उचाइ पुगेन । कान्छा बाबाले पनि 'कलिलै छस्, अर्को वर्ष आउने छोरा ।' भनेपछि म लुगा लगाएर दगुर्दै राखु पुगेर वार्षिक परीक्षामा सामेल भएँ ।
वार्षिक परीक्षाको नतिजा प्रकाशित हुनुपर्ने भयो । म कुनै पनि विषय नलागीकन चौथो नम्बरमा उत्तीर्ण भएछु । म विद्यालयमा पछि भर्ना भएको हुँदा मेरो रोल नम्बर अन्त्यमा थियो । शिक्षक अनि विद्यार्थीहरू 'यो दुतबहादुर पुन चरीले बेग हानेजस्तै बेग हानेर चौथो नम्बरमा आयो ।' भन्दै आश्चर्यचकित भए ।
कक्षा ९ उत्तीर्ण भएपछि पौष महिनामा १० कक्षामा भर्ना भएँ । अध्ययनलाई अलि बढी फोकस गर्न लागेको थिएँ । एकदिन विद्यालयमा पढ्दै फेरि विद्या गरेको समयमा घरका बाबाआमाबाट तुरुन्त घरमा आउनू भन्ने खबर आयो । बाबाआमा सिकिस्त बिरामी पर्नुभएछ कि क्या हो भनेर दगुर्दै घरमा पुगेँ । घर अलि अबेर पुगेको थिएँ किनकि विद्यालयमा खबर पनि अबेर पाएको थिएँ । घरमा सबैजना ठिकै देखेँ । बोलाउनुको कारण आमालाई सोधें । तर मैले सोचेजस्तो कारण रहेनछ ।
हाम्रो गाउँ चिम्खोलामा इन्डियाको एआरओ फेरि छाती नाप्न पुगेका रहेछन् । बाबाआमाले मलाई फेरि छाती नाप्नका लागि बोलाउनुभएको रहेछ । मैले यो वर्ष तनमन दिएर अध्ययन गर्ने र प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने विचार राखेको थिएँ । तर बाबाआमाको कारणले गर्दा फेरि मेरो अध्ययनलाई असर पर्ला जस्तो लाग्यो । एक मनले सोचें, यसरी आफ्नै गाउँमा आएको मौकालाई फुत्काउन हुन्न । त्यसैले एआरओ साहेबसँग छाती नाप्न गएँ । त्यसपटकको एआरओ साहेब मेरो मामा (हागेट) सुवेदार तबहादुर पुनका साथी रहेछन् । ती एआरओ साहेबले हाम्रो गाउँका धेरै ठिटाहरूको छाती नाप्दा चिम्खोलाका केही ठिटाहरू एआरओ साहेबको छनोटमा पयौं । त्यसपछि म फेरि विद्यालय गएर निरन्तर पढ्न थालेँ ।
(चिम्खोले काइँलाको 'लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म' आत्मवृत्तान्त तथा व्यक्तित्वबाट साभार)