लन्डन । तमु समाज युकेले सभ्य र भव्य रुपमा देउसी भैलो कार्यक्रम २०२३ लाई सफल बनाएको छ ।
यही नोभेम्बर ११ र १२ तारिखमा तमु समाज युकेको भवन बारहाम पार्क र वरिष्ठ उपाध्यक्ष हर्कबहादुर गुरुङको घरमा देउसी भैलो कार्यक्रम गरिएको अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिए । उनका अनुसार संसारको जुनै ठाउँमा रहे तापनि नेपाली संस्कृतिको जगेर्नो गर्ने उद्देश्यले तमु समाज युकेले यस वर्ष पनि देउसी भैलो कार्यक्रम गरेको हो ।
अध्यक्ष शिवकुमारले देउसी भैलो कार्यक्रम सफल पारिदिएकोमा धन्यवाद तथा आभार प्रकट गरेका छन् । 'तमु समाज युकेले आयोजना गरेको २०२३ सालको देउसी भैलो कार्यक्रम भव्य र सभ्यरुपमा सफल बनाई दिनु भएकोमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु,' अध्यक्ष गुरुङले फेसबुकमार्फत भनेका छन्,'तमु समाज युकेका आदरणीय संस्थापक अध्यक्ष, पूर्वअध्यक्षज्युहरु, सल्लाहकारज्युहरु, कार्यसमितिका पदाधिकारीज्युहरु, आमा समूहका वर्तमान अध्यक्षज्यु पूर्वअध्यक्षज्यु तथा निवर्तमान अध्यक्षज्यु, युवा समूहका अध्यक्षज्यु, आमाहरु, दिदीबहिनीहरु र युवा भाइबहिनीहरु, भान्जाभान्जीहरु र सम्पूर्ण आजीवन सदस्यज्यूहरुमा हार्दिक नमन अर्पण गर्दछु ।'
अध्यक्ष गुरुङले आफ्नो कार्यव्यस्तताको बाबजुद पनि समय मिलाई देउसी भैलो कार्यक्रममा सहभागी बनि कार्यक्रमलाई शोभा बढाईदिनुको साथै नेपाली संस्कृति र परम्परालाई अनन्तकालसम्म जोगाई राख्नुमा मद्दत पुर्याउने सम्पूर्ण व्यक्तित्वहरुमा धन्यवाद व्यक्त गरे । साथै समाजप्रति अत्यन्तै माया र आस्था राख्दै हाम्रो परम्पराअनुसार तिहार पर्वको अवसर पारी समाजका लागि सामूहिकरुपमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा आफू पनि सहभागी बनि आफूले सकेको दान दिई समाजलाई आर्थिकरुपमा सबल बनाउन सहयोग पुर्याउने र आफ्नो कार्यव्यस्तताले कार्यक्रममा सहभागी हुने अवसर नमिले पनि आफूले सकेको दान प्रतिबद्धता गरी अनलाईनमार्फत दान प्रदान गर्ने सम्पूर्ण व्यक्तित्वहरुलाई पनि धन्यवादसहित आभार व्यक्त गरेका छन् ।
उक्त देउसी भैलो कार्यक्रममा आमा समूहका अध्यक्ष उमादेवी गुरुङ, निवर्तमान अध्यक्ष तथा तमु समाज युकेका वर्तमान उपाध्यक्ष बिन्दु घले र सचिव मिरा गुरुङको अगुवाईमा विभिन्न परिकारको स्वादिष्ठ भोजन तथा पेयपदार्थ उपलब्ध गरिदिएकोमा र उनीहरुलाई सहयोग पुर्याउने सम्पूर्ण आमा दिदी बहिनीहरुमा पनि अध्यक्ष गुरुङले धन्यवाद दिए ।
देउसी भैलो कार्यक्रमको दिनमा आमा समूहकी अध्यक्ष उमादेवी गुरूङले ल्याम्ब करी, तमु समाज युकेका उपाध्यक्ष बिन्दु घलेले ५० थान सेलरोटी र भाते जाँड, आमा समूहको पूर्वअध्यक्ष तथा सल्लाहकार माया गुरुङबाटचामल र कोक एक केस, पूर्वउपाध्यक्ष तथा सल्लाहकार बिजु गुरुङ चामल र एक केस कोक, आमा समूहकी सचिव मिरा गुरुङबाट आलु चनाको तरकारी, आजीवन सदस्य मनकुमारी गुरुङबाट एक बोतल ह्विस्की, ईच्छाकुमारी गुरुङले एक बोतल रेड वाइन र फलफूल, चन्द्रकुमारी गुरुङबाट ३० थान सेलरोटी, आमा समूहका पूर्वउपाध्यक्ष पुष्पा गुरुङबाट दाल र ल्याम्ब करी, कार्यसमिति सदस्य सूर्यकुमारी गुरुङबाट १ बोटल पोर्ट, आजीवन सदस्य बिमला गुरुङ १ बोतल रेडलेभल ह्विस्की, पदमकुमारी गुरुङ आचार र दुई केस मिनरल वाटर, लक्ष्मी गुरुङ ल्याम्ब सेकुवा, मैत गुरुङ आचार, गोमा देवी पनिरको तरकारी, लिलकुमारी गुरुङ १ बोतल रेड वाईन, प्रथम महिला मिना गुरुङबाट आलु गोभी करेलाको तरकारी, बिना गुरुङ १ बोतल ह्विस्की, जयन्तीदेवी गुरुङ चिकेन करी र बिजयता गुरुङबाट दुई बोतल रेड वाइन सहयोग गरेका थिए ।
यसै प्रकारले देउसी भैलो कार्यक्रम संयोजक उपाध्यक्ष भिमबहादुर गुरुङ, कार्यक्रम संचालक महासचिव धरम बल गुरुङले गरेका थिए । आर्थिक तथा दान संकलनकर्ता आमा समूहका सचिव मिरा गुरुङ, पिय सिस्टम संचालक युवा सदस्य प्रज्जवल गुरुङले भूमिका निभाएका थिए । लक्ष्मी पूजा स्थान सजावटमा सहयोग पुर्याउनेमा उमादेवी गुरुङ, बिमाल गुरुङ, मिरा गुरुङ, प्रितमकुमारी गुरुङ, उमर गुरुङ थिए ।
यसैगरी देउसी भैलो भट्टाउने मुख्य भूमिका निभाउनेहरुमा सल्लाहकार केदारबहादुर गुरुङ, आजीवन सदस्य काजीमान गुरुङ, आमा समूहका पूर्वअध्यक्ष तथा सल्लाहकार माया गरुङ, सल्लाहकार बिजु गुरुङ थिए भने कार्यक्रम फेसबुक माध्यमबाट लाईभ प्रसारण गरिदिन सल्लाहकार माया गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिव चन्द्र गुरुङले मद्दत पुर्याएका थिए ।
अध्यक्ष गुरुङले देउसी भैलो कार्यक्रममा दान दिनेहरुको नामावली सम्प्रेषण गरेको जनाउँदै कसैको नाम छुट्न पुगेमा अध्यक्ष शिवकुमार गुरुङ र महासचिव धरम बल गुरुङलाई तु सम्पर्क गरी सच्च्याउन सहयोग गरिदिन पनि अनुरोध गरेका छन् । दोस्रो दिनको देउसी भैलो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हर्कबहादुर गुरुङले ५६० पाउन्ड दान गरेका थिए । उनको परिवारले नयाँ घर खरिद गरी नयाँ घरमा प्रवेश गरेको उपलक्ष्यमा र छोराको विवाह यसै वर्ष सम्पन्न भएको, छोरीले गत वर्ष एमबीबीएस पास गरी युकेको रजिस्टर डाक्टर हुन सफल भएको छोरी सुमी गुरुङ, छोरा सुमन गुरुङ, बुहारी अस्मिता गुरुङ र सम्पूर्ण परिवारलाई बधाई तथा उत्तरोतर प्रगतिको शुभकामना दिने कार्यक्रम पनि भएको थियो ।