तमु धीं यूकेको नेपालको अवलोकन भ्रमणमा घान्द्रुक पनि रहेको थियो । पूर्वको रुम्जाटारको स्थलगत भ्रमण सकेपछि हामी घान्द्रुक जानको लागि व्यग्र थियौं । व्यक्तिगतरुपमा धेरैले घान्द्रुक पुगिसकेको भए तापनि समूहमा मिलेर जानुको मज्जै बेग्लै हुन्छ, त्यसैले हामी सबै रोमान्चित भएका थियौं । हाम्रो दलमा घान्द्रुकवासी खासै कोही पनि थिएन तर घान्द्रुक समाज यूकेका अध्यक्ष नारायण सिं गुरुङको हार्दिकता र सदासयता भने नभएको होइन ।
हाम्रो भ्रमण दलमा रहेर हामीसँगै रमाएर हिँड्ने आमा समूह यूकेको निवर्तमान अध्यक्ष सीता (मञ्जु) गुरुङ भने घान्द्रुक जाने दिनमा हामीसँग हुनु भएन । पछि थाहा भयो उहाँ हामीलाई स्वागत गर्न अघि नै गइसक्नुभएको रहेछ । किनभने घान्द्रुक उहाँको माइती गाउँ हो । घान्द्रुक घरदेशी र परदेशी पर्यटकहरु आइरहने एउटा महत्वपूर्ण गन्तव्य हो । फूलको माला लगाई दिएर नौमती बाजा बजाएर पाहुनाको सत्कार गर्न कतै कमीकमजोरी हुन नदिन उहाँ अघिल्लो दिन घान्द्रुक पुगिसक्नुभएको रहेछ । हाम्रो टोलीमाः
१. हरि गुरुङ अध्यक्ष तमु धीं यूके
२. सन्ध्या गुरुङ अध्यक्ष तमु धीं यूके आमा समूह
३. जुमकाजी गुरुङ वरिष्ठ उपाध्यक्ष तमु धीं यूके
४. कमला गुरुङ वरिष्ठ उपाध्यक्ष तमु धीं यूके आमा समूह
५. हित काजी गुरुङ निवर्तमान अध्यक्ष तमु धीं यूके
६. मिनप्रसाद गुरुङ संस्थापक अध्यक्ष तमु धीं यूके
७. ले. चन्द्र गुरुङ अध्यक्ष अन्तर्राष्ट्रिय चारभन्ज्याङ तमु समाज
८. मञ्जु गुरुङ राई संस्थापक सदस्य तमु धीं यूके
९. अप्सरा गुरुङ अध्यक्ष पर्वत वेलफेयर समाज यूके
१०. भोज गुरुङ का.स.स. तमु धीं यूके
११. सिरी गुरुङ पूर्व का.स. सदस्य तमु धीं यूके
१२. मिलन तमु गुरुङ प्रबन्धक निर्देशक गोर्खा मिडिया
१३. टेकबहादुर गुरुङ सल्लाहकार तमु धीं यूके
१४. वेञ्जामिन गुरुङ छोरा संस्थापक तमु धीं यूके
१४. सोनिया गुरुङ वैज्ञानिक यूके (छोरी निवर्तमान अध्यक्ष हित काजी गुरुङ)
१६. सुजित गुरुङ भानिज मिनप्रसाद गुरुङ
१७. युग गुरुङ प्रबन्ध निर्देशक तमु मैं ताँ
१८. सुमन गुरुङ मिडिया फोटोग्राफर
१९. एकेन्द्र गुरुङ सल्लाहकार ट्रष्टी तमु धीं यूके
अघि पोखराबाट घान्द्रुक जानलाई याम्दी, हेम्जा, लुम्ले, तान्चोक हुदै मोदी तरेर पैदल हिँड्ने मूलबाटो थियो । पोखरा बागलुङ मोटरबाटो बनेपछि काँडेबाट लुम्ले, चन्द्रकोट र तामीगाउँ हुँदै मोदी तरेर घान्द्रुक पुग्न सकिन्छ । आजकल पोखराबाट नयाँपुल, बिरेठाँटी हुँदै घान्द्रुकसँग गाडीमा जान सकिन्छ ।
हामी यूकेबाट आएदेखि नै तीनवटा जिप लिएर घुमिरहेको थियौं । हामी त्यही जिप लिएर घान्द्रुक पुग्दा बस बिसौनीदेखि नै नौमती बाजा बजाएर फूलको माला र खादा लिएर विद्यालयको शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु आमा समूह र युवा क्लबको युवाहरु तयार रहेछन् । गाउँको बीचबाट कुनै विशिष्ट व्यक्तिहरुझैं विशेष स्वागत र सम्मानको साथ हामीलाई होटेल स्नो लैण्ड एण्ड लजमा लगिएको थियो । त्यहाँ पुगेपछि मात्रै थाहा भयो त्यो होटल त यूकेबाट हामीसँगै आउनुभएको मिनकुमारी गुरुङ (हित काजी गुरुङ निवर्तमान अध्यक्ष तमु धीं यूकेको सासु आमा) पो रहेछ । पुग्न साथ वियर, कोक, लसि, चिया साथमा भुटुवा, सेलरोटी, झिलिंगे, खिउनी के खाना मनपर्छ टक्राएको थियो ।
हाम्रो स्वागत र सम्मानमा रतिभर कमीकमजोरी हुन नदिन निवर्तमान आमा समूहकी अध्यक्ष सीता, छोरी सोनिया, आमा सबै दौडधुप गरिरहेका थिए । हामी भने हातले छुन मिल्नेझैं देखिने नजिकको हिमालको मोहोनी रुप, ढुंगाको छानो, ढुंगाकै गारो र ढुंगाकै चपरीले सजिएको विशुद्ध गुरुङ फ्लेवरको सुन्दरतामा लठ्ठीएका थियौं । सायद घान्द्रुकको पहिचान नै यही होला । घरधनी अमृत गुरुङ पनि हामीसँगै यूके बस्नुहुन्छ तर उहाँ केही वर्षयता आफ्नो नयाँ घर निर्माण गर्नको लागि नेपालमा रहनुभएको थियो । उहाँको स्नोलैण्ड होटल बाहिरबाट हेर्दा मौलिक गुरुङ घर र भित्र पसेर हेर्दा सुविधासम्पन्न आधुनिक युरोपियन स्तरको स्तरीय होटलभन्दा कम थिएन । प्रत्येक कोठामा एट्याच टोइलेट र बाथरुम निर्माण गरिएको रहेछ ।
ओढ्ने सिरक र डसना (गद्दा) सबै यूकेबाट ल्याइएको रहेछ । जाडोमा गमी र गर्मीमा शितल हुने वातावरण अनुकूलित मेसिन जडान गरिएको रहेछ । हामी बाहिर एक चरणको खानपिनपश्चात् नुहाईधुवाँई गरेर बीचमा आगो फुक्न मिल्ने त्यसको चारैतिर बसेर खाना खान, पेय पदार्थ पिउन मिल्ने विशेष प्रकारको ठाउँको निर्माण गरेको रहेछ । गाउँघरमा यस प्रकारको सुविधासम्पन्न होटल बिरलै पाइन्छ । बेलुकी खाना खाएपछि हाम्रो सम्मान र स्वागतको लागि आमा समूहको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । अरु गाउँमा जाँदा हामी सबैले बराबरी उठाएर पैसा दिने गर्थ्यौ तर यहाँ हामीले केही गर्नु परेन । किनभने सबै रकम हित काजीको परिवारले दिने कार्यक्रम बनाएको रहेछ । अरु ठाउँमा झैं सँगै नाचियो, गाइयो, हाँसियो मात्रै पैसा दिन परेन ।
भोलिपल्ट बिहानको खाजा घान्द्रुक समाज यूकेको अध्यक्ष नारायण सिंह गुरुङ दाइको घरमा मिलाएको रहेछ । मिठो खाजा खाएर चियाबारी र घान्द्रुक गाउँको संग्रहालय अवलोकन र गाउँ घुम्दै गर्दा खाना खाने बेला ढिला भइसकेको थियो । हामी खाना खान नसक्दै बिदाइको लागि पञ्चेबाजाको टोली आएर बजाउन सुरु गरिसकेको थियो । खाना खाएर घरबेटीसँग बिदाइ माग्न थालेका मात्र थियौं पुन फूलको माला र खादाले काँध र गला धान्नै नसकिने भएको थियो । हामी बस बिसौनीमा आएर बिदाइको हात हल्लाएर बिदा हुँदा घान्द्रुकको अन्यन्त सुखद् र रंगीन स्मरण मनभरि तैरिन थालेको थियो । घान्द्रुकमा सुनेका केही जनश्रुतिहरु र केही रमाइला किस्साहरु थिए । घान्द्रुकको घृसिप्लहन गुरुङ १५७२ चैत्रमा पर्वतको मुकाम बेनीमा सिर्तो बुझाउन जाँदा भुरुङ्दी खोलामा चोरले काटी उक्त खोलामा खुकुरी पखालेकोले २०११ सम्म उहाँको सन्तानहरुले उक्त खोलाको पानी पिउँदैनथे । कर्म दिदी मेरो सहपाठी हुनुहुन्थ्यो उहाँले तमु धीं नेपालमा ३५ वर्ष अध्यक्ष गर्नुभयो, घान्द्रुकको कुरा गर्दा उहाँ बिर्सनै नमिल्ने नाम हो । उहाँ घान्द्रुकको हुनुहुन्थ्यो । त्यसरी नै समाजसेवा राष्ट्र सेवामा घान्द्रुकवासीको धेरै योगदान रहेको छ । प्रकाश बहादुर गुरुङ नेपाल सरकारको मन्त्री बन्नुभएको थियो । उहाँ घान्द्रुककै छोरा हुनुहन्छ ।
नेपाल र भोटको युद्धमा जंगबहादुर राणा मुस्ताङको निरीक्षणमा आउँदा घान्द्रुकको वीरबल गुरुङको सन्तान खड्क सिं गुरुङलाई १९३२ मा घान्द्रुकको पारि लान्द्रुकमा जग्गा विर्ता दिएको थियो । बलबहादुर गुरुङ, जंगबहादुर गुरुङ र सिंहबहादुर गुरुङ नेपाली सेनामा लेफेप्नेन्ट कर्णेलको दर्जामा पुगेको रहेछ । ओम गुरुङ भारतीय सेनामा ब्रिगेडियर जनरल हुनुभएको रहेछ । त्यसरी ब्रिटिस र भारतीय सेनाको उच्च र सम्मानित पदमा पुगेर सेवा गरेको धेरै घान्द्रुकेहरु छन् । शोभना गुरुङ एमएससी वरिष्ठ नेत्र विशेषज्ञ रामप्रसाद पोख्रेलको धर्मपत्नी हुन् । डा. रिता गुरुङ वरिष्ठ नेत्र विशेषज्ञ घान्द्रुककै हुन् । डा. अनेकमान गुरुङ, उहाँकी धर्मपत्नी, डा. गुरास लावती गुरुङ, डा. रविन्द्र गुरुङ, डा. प्रिति गुरुङ, डा. बुद्ध गुरुङ घान्द्रुककै हुन् । प्रा. जुद्धबहादुर गुरुङलगायतका थुप्रै सपुतहरु घान्द्रुकले जन्माएका छन् ।
२००२ सालमा गणेशबहादुर गुरुङले बासु रिसाल, डा. सुरेन्द्र राज शर्मा, डा. मृगेन्द्र लोहनी, तेजबहादुर प्रसाई, कृष्ण बाबु, गोरक्षबहादुर, ऐश्वर्यलाल समेतको डेविटिंग क्लब खोलेका रहेछन् पछि नेपाल छात्र संघ भएर अन्तमा नेपाल विद्यार्थी संघमा रुपान्तरण भएको रहेछ । त्यस्तै नेपालमा प्रजातन्त्रको बहालीमा धीरबहादुर गुरुङ (कल्पना सिनेमा हल पोखरा) को ठूलो योगदान रहेको छ । (इन्द्र बहादुर गुरुङ, गुरुङ सांस्कृतिक दिग्दर्शन) पछि घान्द्रुकलाई सिक्लेसको डा. चन्द्रप्रसाद गुरुङ निर्देशक भएको अन्नपूर्ण संरक्षण क्षेत्र विकास योजनामार्फत तत्कालीन प्रधानपञ्च मीनबहादुर गुरुङले संरक्षणमा गरेको कदरस्वरुप अन्तर्राष्ट्रियस्तरको संरक्षण पदक पाउनुभएको थियो ।