गोर्खाहरुको मुद्दामा नेपाल सरकार, बेलायत सरकार र गोर्खाहरुको बीचमा त्रिपक्षीय वार्ता चलिरहेको छ । यसलाई निर्णायक वार्ता भनिएको बेला अर्को विषयले माहोल तताएको छ, हालै लन्डनमा प्रिमियर सो गरिएको चलचित्र गोर्खा वारियरले ।
गोर्खा वारियर मिलन चाम्सद्वारा निर्देशित चलचित्र हो । यसले विश्वको प्रतिष्ठित चलचित्रहरु मात्र प्रिमियर गरिने लन्डनको लेसिस्टर स्क्वायरस्थित आइम्यास सिनेमा हलमा १० सेप्टेम्बरमा प्रदर्शन गर्ने मौका पायो । यसरी मौका पाउने यो नै पहिलो नेपाली चलचित्र हो । यसको बारेमा बीबीसीलगायत अन्य प्रतिस्ठित सञ्चारमाध्यमले समाचार प्रसारण गरे।
चलचित्र गोर्खा वारियर मलेसियाको विद्रोही कम्युनिस्टहरुले बन्दी बनाएर लगेका आफ्ना साथीहरुलाई उद्धार गर्न हिँडेका ब्रिटिस गोर्खाली सेनाको कथा हो । कथामा उद्धारमा हिँडेका सेनाले सामना गरेको चुनौती र कठिनाईलाई समेटिएको छ । चलचित्रमा पात्रले भौतिकरुपमा लडेको युद्धसँगै, टाढाको परिवार सम्झेर सामना गर्नु परेको मनोवैज्ञानिक द्वन्द्व पनि देखाइएको छ ।
हामी गोर्खाका सन्तानले विश्वयुद्धका किस्साहरु सुन्दै आएका हौं । त्यही कारण हामीलाई यो चलचित्रको कथाबस्तु आफ्नै बाउबाजेको कथाजस्तो लाग्न सक्छ । ब्रिटिस गोर्खालीहरुको वीरताका कथाको मार्मिक प्रस्तुति नै यो चलचित्रको सबल पक्ष हो । यो चलचित्रमा बलिउड र हलिउड बराबरको गुणस्तर खोज्नु अतिसयोक्ति हुन्छ । नेपालमा पनि चलचित्र बनाउँदा रहेछन् भनेर विश्वजगतलाई सन्देश दिन भने यो चलचित्र सफल छ ।
अब गोर्खाका सन्तानहरुले पुर्खाको वीरताको गाथामात्र गाएर पुग्दैन । यो सँग जोडिएको राजनीतिबारे चेत पनि राख्नु पर्दछ । चलचित्रको माध्यमबाट निर्देशकले राज्यलाई धेरै राजनीतिक प्रश्नहरु तेर्साउन सक्थे । जसकारण राज्यसत्ताबाट जबरजस्ती सिमान्तकृत पारिएका गोर्खाहरुको बारेमा आउने पिढीले यथार्थ बुझ्न सक्दथे ।
गोर्खा भर्ती सही थियो कि गलत थियो भन्ने सन्दर्भमा चलचित्र मौन छ । हामीले अब त्यो मौनता तोड्ने समय आएको छ । ऐतिहासिक तथ्यको आधारमा टेकेर भन्नु पर्दा हामीले गोर्खा भर्ती गलत थियो भन्नै पर्दछ ।
राजा पृथ्वीनारायण शाह हिन्दु दर्शनको आडमा नेपाललाई असली हिन्दुस्तान बनाउन चाहन्थे । उनको त्यो सपनालाई साकार पार्न उनीपछिका राजाहरुले राज्य सञ्चालनको एकमात्र मन्त्र एक जात (आर्य), एक धर्म (हिन्दु) र एक भाषा (खस)को नीतिलाई अख्तियार गरेर अगाडि बढे । फलस्वरुप अन्य जाति, भाषा र धर्म अवलम्बन गर्ने मानिसहरुमाथि राज्यले निर्मम दमन र अत्याचार गर्न सुरु गर्यो । त्यसको एउटा ज्वलन्त उदाहरण गोर्खा भर्ती हो ।
सुरुआतमा गुरुङ र मगरलाई मात्र ब्रिटिस सेनामा पठाइयो । तर बिस्तारै गुरुङ, मगरले मात्र बेलायतको मागलाई धान्न नसकेपछि उनीहरुको आँखा पूर्वी नेपालका राई लिम्बूमाथि पर्यो । विस्तारै राई लिम्बूलाई पनि ब्रिटिस सेनामा भर्ती हुन पठाए । काठमाडौं वरिपरि रहेका तामाङहरुलाई शासकहरुले सित्तैमा काम लगाउन पाउँथे । त्यसैले उनीहरुलाई पठाउने कुरै भएन । पछि गएर तामाङलाई जंगबहादुरको मुलुकी ऐनले मासिन्या जातमा राख्यो, जसलाई सेनाको नोकरी बर्जित थियो ।
जति धेरै सेना ब्रिटिसलाई दियो उति नै धेरै उनीहरु खुशी हुन्थे, उता देशका युवाशक्तिलाई विदेश पठाएपछि देशभित्र विद्रोह हुने सम्भावना पनि कम भएर जाने भयो । जसकारण नेपाललाई असली हिन्दुस्तान बनाउने पृथ्वीनारायण शाहको सपना साकार पार्न मद्दत पनि पुग्ने थियो । त्यो बेला बहादुरको नाममा विदेशी सेनामा मर्न पठाइएको थियो । त्यही समय पहिलो र दोस्रो विश्वयुद्ध भए । त्यस समय लाहुर गएका ४ मध्ये १ जनामात्र फर्केर आएको तथ्यांकले देखाउँछ । आधिकारिक तथ्यांक नभए पनि त्यस समय झन्डै चार लाख गोर्खाहरु मारिएको अनुमान गरिन्छ । त्यसरी उनीहरुको नमारिएको भए आज जनसंख्याको बनोट फरक हुन सक्थ्यो । त्यसले राजनीतिक, आर्थिक, सामाजिक प्रणाली नै फरक पार्न सक्थ्यो ।
सन् १८१६ मा नेपालले आफ्नो एक तिहाई भूभाग ब्रिटिसहरुलाई सुम्पेर गरिएको सुगौली सन्धिसँगै नेपालले विश्व महाशक्ति राष्ट्र बेलायतसँग विश्वमै पहिलो पटक कूटनीतिक सम्बन्ध स्थापित गर्यो । तर उक्त सन्धि हुनु अगाडि सन् १८१५ बाट नै गोर्खाहरुले ब्रिटिस सेनामा तालिम लिन सुरु गरेको इतिहासकारहरु बताउँछन् ।
बेलायत र नेपाल सरकारबीचमा कूटनीतिक सम्बन्ध स्थापना भइसकेपछि यी दुई देशका सम्बन्ध अझ प्रगाढ हुँदै गयो । ब्रिटिससँगको युद्धमा भएको हारसँगै काजी भिमसेन थापाको पतन र जंगबहादुर राणाको नेपाली राजनीतिमा उदय हुन्छ । जंगबहादुर राणाले ब्रिटिस सरकारलाई दुस्मनीभन्दा उनीहरुलाई रिझाउने रबैया अपनाए । परिणाम त गोर्खा भर्ती जारी रह्यो ।
यसबीचमा गोर्खालीहरुले बेलायतको तर्फबाट पहिलो र दोस्रो विश्वयुद्धमा भाग लिए । परिणाम त नेपालका आदिवासी जनजाति युद्धमा मारिए । धेरैको अंगभंग भयो । शासकको स्वार्थको निम्ति गोर्खा भर्तीका नाममा राई, लिम्बू, गुरुङ र मगरले भने ठूलो मूल्य चुकाउनु पर्यो, जो एक सुनियोजित थियो ।
गोर्खाहरु विश्वमा सबैभन्दा खतरनाक लडाकु हुन् भन्ने जबरजस्त मान्यता स्थापित गरियो । गोर्खा वारियरमा यही विषयको उठान गरिएको छ । त्यसको प्रत्यक्ष फाइदा बेलायतलाई भयो । धेरै ठाउँमा उनीहरुले त्यसको दुरुपयोग समेत गरेको देखिन्छ । आजको प्रविधियुक्त युद्धमा बेलायतलाई गोर्खाली सेनाको सहास र बहादुरी कम आवश्यक छ । परिणाम त बेलायतले निरन्तर गोर्खाली सेनाको संख्या घटाउँदै लगेको छ । यद्यपि कुनै पनि युद्धको मैदानमा भने बेलायतले गोर्खाली सेनालाई नै अगाडि सार्छ, जसको पछिल्लो उदाहरण अफगानिस्तानमा मारिएका गोर्खा सैनिकहरु हेरे पुग्छ ।
गोर्खा भर्तीको करिब दुई शताब्दीको इतिहास निर्माण हुँदै गर्दा धेरै कुरा परिवर्तन भएको छ । बेलायत एक उपनिवेशवादी देशबाट लोकतान्त्रिक देश बनेको छ । नेपालले शाही राजतन्त्र, राणातन्त्र हुँदै लोकतन्त्रको इतिहास बनाएको छ । यही क्रममा गोर्खाहरुको हकहितको लागि लड्न गोर्खा भूतपूर्व सैनिक संगठन स्थापना भयो । गोर्खालीहरुलाई ब्रिटिस सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै भूतपर्व गोर्खाहरुले बेलायतको अदालतमा मुद्दा दायर गर्यो । लन्डनमा ठूला ठूला आन्दोलनहरु भए । हजारौं गोर्खालीहरुले उक्त आन्दोलनमा भाग लिए । त्यसलाई बेलायती जनताले पनि साथमा साथ दिए । विस्तारै न्यायपूर्ण आन्दोलनले सफलता हासिल गर्दै गयो ।
गोर्खाहरुले लगाएका कैयौ मुद्दाहरुमा बेलायतका अदालतले गोर्खाहरुको पक्षमा फैसला सुनायो । ब्रिटिस सरकारले पनि गोर्खाहरुका मागलाई सम्बोधन गर्न नीतिगत कुराहरुमा परिमार्जन गर्यो । जसले गर्दा गोर्खाका सन्तानहरुले बेलायत आउन पाए । गोर्खा सेटलमेन्ट स्किमअन्तर्गत गोर्खाहरुले बेलायतमा बसोबास गर्ने मौका पाएका छन् । तर अझै पनि बेलायतले गोर्खाहरुलाई धेरै कुरामा असमान व्यवहार गरिरहेकै छन्।
गोर्खा सम्बद्ध संगठनहरुको लामो संघर्ष र पुष्प राणा घले, धनबहादुर गुरुङ र ज्ञानराज राई प्रधानमन्त्री कार्यालय अगाडि आनसान बसेर मात्र नेपाल सरकार र बेलायत सरकारको बीच वार्ता बस्न बाध्य भएको हो। पहिलो चरणको वार्ताले गोर्खाहरुको सबैखाले मुद्दालाई आपसी समझदारीद्वारा समाधान गर्ने निर्णय गरेको छ । त्यसपछि दोस्रो चरणको वार्ताको तयारी भइरहेको छ । त्यसमा गोर्खा सम्बद्ध संगठनहरु जी १० का नामले प्रत्यक्षरुपमा सहभागी छन् ।
गोर्खाहरुको समस्या धेरै लामो र जटिल विषय भएकोले त्यति सजिलै गरी समाधान हुने कुरामा विश्वस्त हुन सकिँदैन । तर पनि अहिलेको वार्तालाई एउटा सकारात्मक सुरुआतको रुपमा लिन सकिन्छ । त्यसलाई जतिसक्दो गोर्खाको हितमा हुनेगरि एउटा निष्कर्षमा पुर्याउनु ब्रिटिस गोर्खालीका सन्तान र आम नेपालीहरुले नेपालका राज्यसत्ता र बेलायत सरकारलाई दबाव दिनु अहिलेको आवश्यकता हो।
गोर्खाहरुको आन्दोलनको कारण ब्रिटिस सरकारले एक हदसम्म आफ्नो कमजोरी स्वीकारेको छ । त्यसको क्षतिपूर्ति स्वरुपमा बेलायतमा विभिन्न अवसर दिइरहेको पनि छ । नेपाल सरकारले पनि गोर्खा भर्तीको नाममा निश्चित समुदायमाथि भएको षड्यन्त्रको बारेमा केही सोच्न र गर्न जरुरी छ ।
तसर्थ चलचित्रमा देखाए झैं गोर्खा वारियरको जीवनमा बहादुरीको कथामात्र थिएन । आफू जन्मेको र आफूले योगदान पुर्याएको दुवै देशले उनीहरुमाथि अन्याय गरेको थियो । त्यो अन्यायको पूर्ण सुनुवाइ अझै पनि भएको छैन । आजको युग भनेको समानताको युग हो । समानताको युगमा हिजोको विभेदकारी कार्यको परिणामलाई अब बदल्ने गरी बेलायत र नेपाल दुवैले काम गर्नुपर्छ ।