विश्वको विकसित र शक्तिशाली राष्ट्रमा नेपालीहरु छरिए पनि विभिन्न सरकारी र सार्वजनिक उच्च ओहोदामा पुग्न नेपाली भने विरलै पाइन्छ । त्यही पातलो उपस्थितिको एक नमुना हुनुहुन्छ, सिन्धुलीमा जन्मिनुभएका काउन्सिलर भद्रा वाइबा । उहाँ अस्ट्रेलियाको सिड्नी, क्यान्टरबरी ब्याङ्सटाउन सिटी काउन्सिलमा सन् २०२१ डिसेम्बरमा काउन्सिलर निर्वाचित हुनुभएको हो ।
नेपालमा हुँदा पेशाले रजिस्टर्ड नर्स हुनुहुन्थ्यो, उहाँ । विभिन्न सरकारी अस्पतालमा १८ वर्ष सेवापछि सन् २००८ मा अस्ट्रेलिया जानुभएकी वाइबाले नियमित कामको आलवा राजनीतिक क्षेत्रलाई अगाडि बढाउनुभयो । नेपालबाटै राजनीतिक संस्कारमा हुर्किनुभएकी उहाँ अस्ट्रेलियामा लेबर पार्टी पञ्चवल शाखाको सहसचिवको जिम्मेवारीमा पनि हुनुहुन्छ । केही हप्ताको लागि मातृभूमि नेपाल आउनुभएकी काउन्सिलर वाइबासँग कार्यानुभव, नेपाल र अस्ट्रेलियाबीचको राजनीतिको भिन्नतालगायत विषयमा अञ्जु तामाङले गर्नुभएको कुराकानीको सम्पादित अंश :
काउन्सिलर निर्वाचित हुनु भएपछिको कार्यानुभव कस्तो पाउनु भयो ?
म निर्वाचित भएपछि सो क्षेत्रमा दुई पटक बाढी पहिरो आएकोले त्यसमै धेरै व्यस्त भइयो । म पहिलादेखि नै लेबर पार्टीमा लागिराखेको थिएँ । निर्वाचित हुन सफल पनि भएँ । यसरी राजनीतिक रूपबाटै निर्वाचित हुने म पहिलो नेपाली महिला हुँ, त्यसमा पनि सिन्धुली जिल्ला र त्यो भन्दा पनि म तामाङको छोरी भएर यसरी देशको नाम पनि राख्न पाउँदा निकै खुशी लाग्यो ।
साथै नेपाल र अस्ट्रेलियाको राजनीतिक माहोल निकै फरक छ । सानो–सानो गल्तीले पनि मेरो राजनीतिक जीवन नै बर्बाद हुन्छ । त्यसैले पाइला– पाइलामा सम्हालेर काम गर्नुपर्ने हुन्छ । अस्ट्रेलियामा जनता सर्वश्रेष्ठ हुन्छ हामीले त्यहाँको नागरिकको माग, इच्छा, चाहनाअनुसार काम गर्नुपर्ने हुन्छ ।
अस्ट्रेलियामा पनि तीन तहको सरकार छ । संघीय (फेडरल), राज्य (स्टेट) र स्थानीय (लोकल) । सबैको आ–आफ्नो जिम्मेवारी हुन्छन् । फेडरल र स्टेटले लोकललाई यो गर्नु, त्यो गर्नु भन्दैन । स्वतन्त्ररुपमा काम गर्ने अधिकार छुट्याइदिएको हुन्छ । म नयाँ पनि भएकोले धेरै कुरा बुझ्नै पर्छ, बुझ्दै सिक्दै प्लानिङ, बजेटिङ सबै कुरा लोकल लेभलको गरिरहेको छु ।
त्यहाँ पनि लोकल भनेपछि फोहोर व्यवस्थापन, पार्क सफा गर्ने, घाँस कटिङ, रुखहरु बढेर काट्नु पर्नेलगायत गर्नुपर्ने हुन्छ । ह्वीलचियर गुडाउन समस्या परेको कुरा जनताबाट आउँछन् । ती सबै लोकल एरियाको जिम्मामा पर्ने भएकोले हामीले ती समस्याहरु हल गर्नका लागि सम्बन्धित निकायलाई भन्ने गर्छौं । हामी त एड्भोकेटजस्तो काम गर्ने हो ।
लेबर पार्टीमा आबद्ध हुनुभएको कति समय भयो ?
पार्टीमा आबद्ध भएको ९ वर्ष भयो । स्वयम्सेवकको रुपमा त्यहाँका समुदायलाई सहयोग गर्थे । जसले गर्दा मलाई सन् २०१९ को नारी दिवसमा 'इअर अफ द ओमेन्स' अवार्डबाट पनि दिइएको थियो । अस्ट्रेलियामा शिक्षादेखि व्यक्तित्व हेरेर अवसर दिने गरिन्छ । मैले व्याचलर अफ ल, व्याचलर अफ नर्सिङ र व्याचलर अफ एजुकेसन गरेको हुँदा सहज भएको छ । मुख्यगरी कानुनलाई महत्व दिने गरिन्छ र पार्टीमा पनि निरन्तररुपमा काम गरिरहेको हुँदा अवसर पाएकी हुँ ।
राजनीतिमा कसरी लाग्नुभयो ?
मेरो परिवार पनि राजनीतिक पार्टीमै आबद्ध थियो । पछि मेरो दिदी कृष्णकुमारी वाइबा पनि सक्रियरुपमा राजनीतिमा लाग्नु भयो । पुँजीवादप्रथा मन नपर्ने र पारिवारिक वातावरण पनि त्यस्तै भएकोले विस्तारै राजनीतिमा चासो बढ्न थाल्यो । मैले पनि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र बुद्धिजीवी संगठनको सदस्य भएर पनि काम गरेको छु । जसले गर्दा मेरो झुकाव पनि समाजवादतिर जान थाल्यो ।
अस्ट्रेलियामा पनि लेबर पार्टी भनेको सोसियल ब्याकग्राउन्डको भएकोले त्यही पार्टीमा जोडिन्छु भनेर लागेकी थिएँ । मेरो श्रीमान् पनि लेबर पार्टीमा हुनुभएकोले मलाई यहाँसम्म आउन सहज भएको हो ।
तपाईं नेपालीमुलको एक महिला काउन्सिलर, स्थानीय नागरिकको सहयोग कतिको पाउनु भएको छ त ?
अस्ट्रेलिया मल्टिकल्चरल कन्ट्री हो । त्यहाँ सबै भाषा, धर्म संस्कार, संस्कृतिलाई सम्मान गर्ने भएको हुँदा काम गर्नलाई गाह्रो भएको छैन । लेबर पार्टीको शाखाको बैठक हुन्छ । बैठकबाट जे कुरा आउँछ ती समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाउने काम मेरो जिम्मामा पर्छ । दुर्घटना भएको, सडकमा सीसीक्यामेरा नभएकाजस्ता नागरिकको समस्यालाई समाधान गर्नुपर्ने हुन्छ ।
नेपालमा दलहरुबाट स्थानीय नागरिकको ध्यान आफूतर्फ पार्नका लागि विभिन्न खालका घोषणाहरू हुने गर्छन्, कति त अनावश्यक पनि हुन्छन् । ती निर्वाचनका प्रतिबद्धता बिर्सन्छन्, अस्ट्रेलियाको हकमा के हुन्छ ?
कुन पार्टीको सरकार छ त्यहीअनुसार आ–आफ्नो पोलिसीमा जान्छन् । पहिला गरिराखेको कामलाई रोकेर नयाँ गर्छु भन्ने हुँदैन । विभिन्न छलफल, बैठकपछि बजेट आउँछ । वार्डलाई कति बजेट पार्ने, कुन काउन्सिललाई कति बजेट पार्ने विषयमा पनि छलफल हुन्छ । आफ्नो क्षेत्रमा काम गर्नको लागि काउन्सिलरलाई पनि बजेट आउँछ । यसपालिको मेरो बजेटमा नेपाली कम्युनिटीको स्तूपको प्रतिमूर्तिजस्तै निर्माण गर्ने योजना बनाएकी छु । त्यहाँ काउन्सिलले जग्गा पनि दिएको छ र सरसफाइ पनि काउन्सिलले गर्नेछ । एक जना नेपालीमुलका नेवार समुदायको महिलाले हिन्दु मनाउने कुराहरूलाई अघि सार्दा धेरै छलफल भएपछि पुरै गुम्बाजस्तै नबनाएर मण्डला र बुद्धको फोटोहरू पनि राखेर तेमाल जात्रा मनाउने विषयमा सहमति भएको छ । आर्थिक सकेको व्यक्तिहरुले नै सहयोग गर्ने र डिजाइरदेखि सबै कुरा काउन्सिलले हेर्ने भनिएको छ ।
काउन्सिलरको शपथ लिने समयमा तपाईं तामाङ पोसाकमा सजिनुभएको थियो, त्यत्ति बेला कस्तो महसुस भयो ?
अस्ट्रेलिया मल्टिकल्चरल कन्ट्री हो । भाषा, सस्कार, संस्कृतिलाई प्रिजर्भ गर्छ । हाम्रो देशमा शपथ लिने समयमा पोसाकको धेरै चर्चा आउँछ । तर अस्ट्रेलियामा सबै पोसाक लगाउन पाउनु पर्छ भन्ने छ, यो राम्रो कुरा हो ।
नेपालको राष्ट्रिय पोसाक भनेको महिलाको लागि साडीमात्रै लाग्थ्यो तर साडीलाई अस्ट्रेलियामा इन्डियन ड्रेस भन्ने गरिन्छ । त्यसैले म नेपाली त्यसमा पनि तामाङ समुदायको हो भनेर देखाउन न पनि शपथमा तामाङ पोसाक लगाएको हुँ । निकै खुशी लागेको थियो । औपचारिक पोसाक लगाएर पनि म जान सक्थें तर म त अस्ट्रेलियामै विलिन भएछु जस्तो फिलिङ नआओस् भनेर आफ्नो पोशाक लगाएको हुँ ।
नेपालबाट अध्ययन र कामका अस्ट्रेलियामा जानेको संख्या बढिरहेको छ, त्यहाँ समग्र नेपालीको अवस्था कस्तो पाउनुहुन्छ ?
अस्ट्रेलियामा सुरुमा त नेपाली विद्यार्थीलाई यहाँ पढ्नै आएको हो, भन्ने तरिकाले बुझ्ने गर्छन् । परिवारले पढाउन सक्ने सक्षम अवस्थाको भएरमात्रै आएको हो भन्ने बुझ्ने गरिन्छ । हप्तामा ७६ घण्टामात्रै काम गर्न पाइन्छ । जसले गर्दा विद्यार्थीलाई गाह्रो नै छ । नेपालबाट पठाउने परिवारको बुझाई अस्ट्रेलिया पठाएपछि काम गर्दै पढ्छन् भन्ने छ । पैसा कमाउन २० घण्टाभन्दा धेरै काम गर्न पाउँदैन । अध्ययन शुल्क धेरै महँगो छ, अन्य खर्चहरु पनि धेरै महँगो । अस्ट्रेलियाको सिटीजनसिप लिनलाई पनि निकै गाह्रो छ । त्यहाँको नागरिक बनेपछि अस्ट्रेलियन सरकारलले सबैलाई समान व्यवहार गर्ने गरेको छ । नागरिक बनिसकेपछि कुनै पनि विभेद हुँदैन ।
अस्ट्रेलियामा समस्यामा परेका नेपालीहरुलाई कहाँ कहाँबाट सहायता मिल्छ ?
नेपालबाट जानुभएका नेपालीहरु नै आबद्ध विभिन्न संघसंस्थाहरु रहेका छन् । अस्ट्रेलियामा समस्यामा पर्नुभएका नेपालीहरुलाई हामीले व्यक्तिगत र संघसंस्थाबाट सहयोग गर्दै आइरहेका छौं । सरकारकै तर्फबाट भने नेपालबाट जाने नेपालीहरुका लागि खासै कार्यक्रम छैनन् ।
तीन वर्ष कार्यकालका अरु केही योजना बनाउनुभएको छ ?
मेरो जिम्मेवारी रहेको क्षेत्रमा पूरा र सफल कार्यकालका लागि नागरिकको हरसमस्या समाधान गर्नेर्छु । मेरो क्षेत्रका महिलामा के समस्या छ, कस्ता विषयवस्तुलाई अघि सार्दा राम्रो हुन्छ छलफल गरेर सम्बोधन गर्नेछु । क्यान्टरबरी र ब्याङ्सटाउन दुई सिटी मर्ज भएर अहिले एउटै भएको छ । त्यहाँका नागरिकले चाहेको विषयवस्तुलाई अघि सार्दै समस्या समाधान गर्नेछौं ।
अस्ट्रेलियाको राजनीति र स्थानीय सरकारबाट नेपालले के सिक्नुपर्छ, जस्तो लाग्छ ?
नेपालको राजनीतिमा व्यक्तिवाद बढी देखिन्छ । यहाँ जनताको वास्ता छैन । निर्वाचनअघि धेरै काम गर्ने कुरा गरिन्छ निर्वाचनपछि बिर्सिन्छन् । अस्ट्रेलियाको हकमा भने जुन विषयवस्तु लिएर निर्वाचनमा जान्छौं, त्यो पूरा गर्नु नै पर्छ । यदि पूरा भएन भने पनि स्पष्टीकरण जनतालाई दिनुपर्छ ।
म वा सार्वजनिक पद धारण गरेका व्यक्ति त्यहाँको समुदायमा गएर एक कप पनि चिया खान मिल्दैन । यदि खाएको खण्डमा आफैले पैसा तिर्नुपर्ने हुन्छ । उपहार दिएको विषयमा त पदबाट राजीनामा दिनुपर्छ भने नेपालमा त गाह्रो छ अवस्था । राजनीति गर्न पनि अस्ट्रेलियामा ३ पटकसम्म मात्रै अवसर दिइन्छ । उमेर बढ्दै गएपछि आफैंले राजनीतिबाट संन्यास लिने चलन छ । किनभने उमेरको आधारले त्यो व्यक्तिलाई अर्काको सहारा जरुरत पर्छ भने देशको सेवा कसरी गर्न सक्छ ।
अस्ट्रेलियामा जनजातिका लागि प्राथमिकता दिइन्छ । बेरोजगारी भत्ता पनि डबल दिइन्छ । अन्य धेरै सेवा सुविधा छन् । कुनै पनि कार्यक्रम सुरु गर्नुभन्दा पहिला भूमि जनजातिको हो भनेर स्वीकार गरेर कार्यक्रम सुरु गरिन्छ । अस्ट्रेलियाका कुनै पनि क्षेत्रमा देशको, राज्यको र जनजातिका झन्डा कुनै पनि क्षेत्रमा राखेकै हुन्छ । जनजातिलाई पहिला गरेको विभेदबारेमा ‘सरी डे’ भनेर हरेक वर्ष मनाउने गरिन्छ । नेपालमा यी कुराहरु कहिल्यै भएन । जस्तो तामाङ, माथिल्लो पोस्टमा जानै नपाउने, काम गर्न नपाउने विभेदकारी समस्याहरु अझै पनि छन् । खै त अहिले राज्यले जनजातिका बारेमा केही बोलेको ? यातना दिएकोबापत केही न केही त भन्नु पर्थ्यो नि ! त्यो चाहिँ अलि खल्लो लाग्छ ।