लन्डन । बेलायत भ्रमणमा रहेका चलचित्र निर्देशक एवं नायक प्रितम गुरुङ सम्मानित भएका छन् ।
तमु समाज यूकेको आफ्नै भवन बह्रामपार्क वेम्ब्ली लन्डनमा शनिबार आयोजित कार्यक्रममा चलचित्रकर्मी गुरुङलाई विशिष्ट समाजसेवा सम्मानपत्रद्वारा सम्मान गरिएको हो । प्रथम गुरुङ (तमु) चलचित्र 'पातें'मा नायक कला क्षेत्रमा प्रवेश गरी प्रितम गुरुङले विशेषगरेर गुरुङ (तमु) कला क्षेत्रमा र समग्र नेपाली कला क्षेत्रमा पुर्याएको ऐतिहासिक योगदानको उच्च प्रशंसा गर्दै २५६७औं बुद्ध जयन्तीको पावन अवसरमा विशिष्ठ समाजसेवा सम्मानपत्र प्रदान गरेको समाजका अध्यक्ष शिवकुमार गुरुङले जनाए ।
कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष, कार्यसमिति, सल्लाहकार, सदस्यलगायतको उपस्थिति थियो ।
सम्मानित भएपछि चलचित्रकर्मी गुरुङले बेलायतमा यति ठूलो सम्मान गरेकोमा तमु समाज यूकेप्रति धन्यवाद दिए । उनले जीवनको महत्वपूर्ण समय आफ्नो समुदायलाई दिँदा केही परिवर्तन आएको महसुस भएको भन्दै सास छउन्जेल यही क्षेत्रमा रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रितम गुरुङ चलचित्र क्षेत्रमा लागेको ३ दशक पुग्न लागिसकेको छ । ब्रिटिस लाहुरे परिवारका सदस्य प्रितम चलचित्र निर्माण निर्देशनमा निरन्तर लागिपरेको कारण अहिले आफ्नो ४९ औं फिल्म 'रिपा' प्रदर्शनका क्रममा बेलायतमा छन् ।
रिपा, गुरुङ संस्कारमा मर्दापर्दा प्रयोग हुने बेसारले रगाइको धागो हो । रिपा लगाएपछि शुभ हुने विश्वास भएकोले रिपालाई सकारात्मक सोचको मनोवैज्ञानिक प्रतिरूप मानिनन्छ । यस चलचित्रमा आनन्द गुरुङ, सीमा गुरुङ, सन्तोषी गुरुङ, तालिशा गुरुङ, कृष्ण गुरुङ, डीबी गुरुङलगायत पुराना तथा नयाँ कलाकारले अभिनय गरेका छन् । यस चलचित्र लेखन, निर्माण र निर्देशन प्रितम गुरुङले गरेका छन् ।