लन्डन । एभरेष्ट म्याराथनमा भाग लिन जाने पूर्वगोर्खा टोलीलाई घान्द्रुक समाज यूकेले सम्मान र शुभकामनाको साथमा बिदाइ गरेको छ ।
यही २३ अप्रिल २०२३ आइतबार अल्डरसटको एम्पाएर हलमा समाजका अध्यक्ष नारायण सिंह गुरुङको सभापतित्वमा आयोजित समारोहमा आउँदो मे २९ तारिखको दिन हुने तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन दौडमा भाग लिने टोलीलाई सम्मान तथा बिदाइ गरिएको हो । म्याराथनका लागि टोली आउँदो मे महिनाको १२ तारिखमा नेपाल जाने तयारीमा छ ।
महासचिव राजकुमार गुरुङले सञ्चालन गरेको कार्यक्रममा तृतीय उपाध्यक्ष नारायणबहादुर गुरुङले स्वागत मन्तव्य राख्नको साथै हेल्थ एण्ड सेफ्टीबारेमा प्रकाश पारेर कार्यक्रम अगाडि बढाएका थिए । अध्यक्ष नारायणसिंह गुरुङ, पूर्वअध्यक्ष तथा सल्लाहकार ई. खेमबहादुर गुरुङ र आमा समूहका अध्यक्ष हरिमाया गुरुङले संयुक्त रुपमा अबिर, नौसरो, नौगाँठो रुप (धागो) र फूल लगाएर सम्मान गर्दै सफलताको शुभकामनाको साथमा बिदाई गर्यो।
कार्यक्रममा मन्तव्य दिने क्रममा धावक टोलीका नेता सूर्य गुरुङले आफू घान्द्रुकमा जन्मेर हुर्केर आफूले अध्ययन गरेको विद्यालय श्री मेश्रम बराह माध्यमिक विद्यालयलाई केही आर्थिक सहयोग गर्ने उद्देश्यले केही कोष संकलन गर्न उक्त दौडमा सहभागी हुने कुरा बताए । गुरुङले बेलायतबाट दौडमा भाग लिन आफू स्वयं, तर्कजंग गुरुङ (ताङतिङ समाजका अध्यक्ष), घान्द्रुक समाजका सदस्य जुमप्रसाद गुरुङ र ल्वाङ निवासी तर घान्द्रुकेको ज्वाइँ जीतबहादुर गुरूङ र बाँकी ५ जना नेपालबाट जोडी जम्मा ९ जनाको टोली दौडमा भाग लिन जाने पनि जानकारी दिए । उक्त अवसरमै ट्याप ट्याप सेन्ड र गो फन्ड जस्ता माध्यमहरू प्रयोग गरी ५ पाँच हजार पाउन्ड जति कोष जम्मा गर्ने लक्ष्य रहेको र सो लक्ष्यअनुरुप कोष पनि संकलन भएको व्यहोरा जानकारी गराए । अभियानमा बलियो सपोर्ट गर्ने आफ्नै घान्द्रुक समाज यूके, ट्याप ट्याप सेन्ड, गो फन्ड नेटवर्कमार्फत सहयोग गरेका सबै जनालाई टोलीको तर्फबाट धन्यवाद दिए ।
त्यस्तैगरी नेपालस्थित घान्द्रुकवासीले आगामी जुन महिनाको ३ तारिखमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुक गाउँसम्मको बर्सेनि आयोजना गर्ने गरेको म्याराथन दौडको बारेमा जानकारी गराउँदै उक्त म्याराथन दौडको समापन समारोहमा आफूले संकलन गरेको कोष हस्तान्तरण गर्ने पनि जानकारी गराए ।
मन्तव्य दिने क्रममा अर्का धावक सहभागी तर्कजंग गुरुङले स्कुलजस्ता पवित्र संस्थाको लागि एक धावकको रूपमा सहभागी भई सहयोग गर्न पाउनु खुसीको कुरा बताउँदै घान्द्रुक समाजले आफूहरुलाई यसरी हौसला बढाउन सम्मान र शुभकामनाको साथमा बिदाई गरेकोमा धन्यवाद दिए । अर्का धावक जुमप्रसाद गुरुङले पनि समाजले यसरी सम्मान गर्दै हौसला बढाउने कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गरे । यसै क्रममा समाजका पूर्वअध्यक्षद्वय ई. खेमबहादुर गुरुङ र अर्जुन गुरुङले धावक टोलीलाई आशीर्वादसहितको शुभकामना मन्तव्य राखे । यसरी पहिलो चरणको औपचारिक कार्यक्रमको बिट मार्दै समाजका अध्यक्ष नारायण सिंह गुरुङले म्याराथनमा सहभागिताको माध्यमबाट अर्थ संकलनको अभियान चलाउँदै आफू जन्मेको, हुर्केको र अध्ययन गरेको विद्यालयलाई आर्थिक सहयोग गर्ने सकारात्मक सोच तथा पवित्र कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्यो र यो पुण्य आर्जन गर्ने काममा समाजले सहयोगका लागि गरेको अपिलमा होस्टेमा हैंसे गर्ने सम्पूर्ण गाउँले सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै दौडमा भाग लिन जाने टोलीलाई सफलताको शुभकामना मन्तव्य राख्दै पहिलो चरणको कार्यक्रमको अन्त गराएको थियो ।
दोस्रो चरणको कार्यक्रममा समाजको समसामयिक भावी कार्यक्रमहरू जस्तै नजिकै आउँदै गरेको गोर्खा कप र नेपाली मेला कार्यक्रममा कसरी प्रभावकारीरूपमा सहभागिता जनाउने भन्ने विषयवस्तुमा केन्द्रित रहेर आवश्यक छलफल, सरसल्लाह र निर्णयहरु गरी कार्यक्रम अन्त भएको अध्यक्ष नारायण सिंह गुरुङले जानकारी दिए ।