काठमाडौं ।अहिले तनहुँ–१, चितवन–२ र बारा–२ गरी तीनवटा उपनिर्वाचन क्षेत्रको मतगणना जारी छ।
राति ११ बजेसम्मको परिणामअनुसार तनहुँ–१ मा ६ वटा मात्रै वडाको मतगणना बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन्।
अहिलेसम्म ३६ वटा वडाको मतगणना सकिँदा वाग्ले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा १२ हजार १८ मतान्तरले अगाडि छन्।
कुल ६३ हजार ७ सय ५७ मत खसेकामा अहिलेसम्म ५३ हजार १ सय २८ मतगणना भइसकेको छ। अहिलेसम्म वाग्लेले २७ हजार ९ सय ८७ मत ल्याएका छन्। हालसम्म गनिएको मतका आधारमा वाग्लेले प्राप्त गरेको मत ५२.६७ प्रतिशत छ।
यहाँ कांग्रेसका गोविन्द भट्टराईले १५ हजार ९ सय ६९ मत ल्याएका छन्। गणना भएको मतमध्ये उनले ३० प्रतिशत मत ल्याएका छन्।
एमाले उम्मेदवार सर्वेन्द्र खनालले कुल गणना भएको मतको १३.८८ प्रतिशत अर्थात् ७ हजार ३ सय ७९ मत ल्याएका छन्।
तनहुँ–१ मा अब व्यास नगरपालिकाका वडा नम्बर ७, ८, ९, १०, ११ र १२ को मतपरिणाम आउन बाँकी छ।
यहाँ रास्वपाका वाग्लेले सुरूआतदेखि नै अग्रता लिएका थिए। मतगणना अन्तिमतिर आइपुग्दा वाग्लेको मतान्तर फराकिलो भएपछि कांग्रेस उम्मेदवार भट्टराईले हार स्विकारेको अभिव्यक्ति आफ्नो फेसबुकमा व्यक्त गरेका छन्। उनले मतदातालाई धन्यवाद दिँदै आफूलाई अब्बल सावित गर्न नसकेको बताएका छन्।
त्यस्तै, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणामअनुसार लामिछाने १० हजार १३० मतसहित अगाडि छन्।
नेकपा एमालेका रामप्रसाद न्यौपाने ३ हजार ३५७ मतसहित दोस्रो र नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ ३ हजार १६८ मतसहित तेस्रो स्थानमा छन्।
बारा क्षेत्र नम्बर २ मा भने जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले अग्रता लिएका छन्। उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्।
ताजा परिणामअनुसार यादवले ३ हजार ७८१ मत प्राप्त गरेका छन् भने कुशवाहाले २ हजार ९८१ मत पाएका छन्। नेकपा एमालेका पुरूषोत्तम पौडेल एक हजार ६४० मतसहित तेस्रो स्थानमा छन्।