लन्डन १० अप्रिल २०२३ । जन्मथलो नेपाल भ्रमणमा रहेका किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्रबहादुर राई र छिमेकी मुलुक भारतको सिक्किम प्रान्तका पूर्वमुख्यमन्त्री पवन चाम्लिङबीच भेटघाट भएको छ ।
पारिवारिक भेटघाटको क्रममा सिक्किम पुगेका अध्यक्ष राईले पूर्वमुख्यमन्त्री चाम्लिङसँग भेटघाट गरेका हुन् । उक्त अनौपचारिक भेटमा किराया बेलायतको अध्यक्षको हैसियतले बेलायतमा मनाउन लागिएको किरात राई जातिको महान् चाड उभौलीको अवसरमा, विशिष्ट अतिथिको रुपमा उपस्थित हुन मौखिक निमन्त्रणा गरेको र पूर्वमुख्यमन्त्रीले सकारात्मक जवाफ दिएको अध्यक्ष राईले बताए ।
किराया बेलायतका अध्यक्ष राईले पूर्वमुख्यमन्त्री चाम्लिङसँग गरेको मौखिक निमन्त्रणालाई आधार मान्दै पूर्वमुख्यमन्त्री चाम्लिङलाई तत्काल औपचारिक निमन्त्रणापत्र पठाइने र त्यसको फलोअप गर्ने संस्थाले निर्णय गरेको किराया बेलायतका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख जितेन्द्र साम्पाङ राईले बताए ।
किरात राई जातिले भूमिचक्रअनुसार वर्षमा दुई पटक महान् चाडको रुपमा उधौली र उभौली मनाउँदै आएका छन् । यसै उधौली उभौली चाडलाई बहुभाषिक/बहुथरि किरात राईहरुले, खाउमो, तोस, तोसी, तोसु, वास, साकेन्वा, साकेवा, साकेला, साखेवा, हङ, सेग्रो आदि विभिन्न भाषागत शब्दहरुले जनाउने गरिएको पाइन्छ । किराया बेलायतका कार्यवाहक अध्यक्ष तथा उभौली कार्यक्रम संयोजक रि. क्या. सुमनचन्द्र राईका अनुसार, किराया बेलायतले संयुक्त अधिराज्यमा प्रत्येक वर्ष, वैशाखे पूर्णिमा अर्थात् बुद्ध जयन्तीको पहिलो शनिबार धुमधामका साथ उभौली चाड मनाउँदै आएको छ । यसै तिथि र मितिअनुसार किराया बेलायतले यस वर्षको उभौली आउँदो ६ मे २०२३ का दिन किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा मनाउन गइरहेको जानकारी गराउँदै समस्त बेलायतवासी किरात राई तथा गैरकिरात राईहरु उपस्थित भैदिन कार्यक्रम संयोजक राईले अनुरोध गरेका छन् ।