लन्डन । तमु कलाकार सांस्कृतिक मञ्च यूकेले तेस्रो रोधी साँझ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
गुरूङ भाषाका गीतहरू, सोरठी घाटु कौडा ठाडो भाकाजस्ता मौलिक र सांस्कृतिक नृत्यहरूलाई संरक्षण र संवर्द्धन गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने मूल उद्देश्यसहित गत अप्रिल ८ तारिख २०२३ का दिन अल्डरसटको एम्पायर हलमा भव्य र सभ्य रूपमा रोधी साँझ सम्पन्न गरेको हो ।
कार्यक्रमको पहिलो चरणमा संस्थाका अध्यक्ष कुमार गुरूङको सभापतित्व तथा विशेष अतिथिहरू तमुधिं यूके, तमु प्ये ल्हु संघ यूके तथा तमु समाज यूकेका अध्यक्ष्यहरूको उपस्थितिमा छोटो औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । जसमा नेपालबाट आएका कलाकारहरू चलचित्र निर्देशक तथा नायक प्रितम गुरूङ, लोकगायक पृथ्वी गुरूङ, नायिका रजनी गुरूङ र लोकगायक सागर गुरूङलाई स्वागत गरिएको थियो । त्यसपछि संस्थाका उपाध्यक्ष पदम गुरूङबाट लेखेर संगीत दिएको रोधी गीतको म्युजिक भिडियो विमोचन गरिएको थियो । उक्त म्यूजिक भिडियोको संक्षिप्त समीक्षा प्रमुख सल्लाहकार एकेन्द्र तमुले गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा स्थानीय तमु कलाकारहरूको तर्फबाट रोधीघरको आँगनमा विविध गुरूङ गीत तथा नाँचलाई प्रस्तुत गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षण ईलमपोखरी समाज यूकेको सोरठी नाच र लमजुङ समाज यूकेको घाटु नाच रहेको थियो । तर बेलायतको रंगमञ्चमा पहिलो पटक ठाडो भाका घन्किँदा हलमा उपस्थित सबै दर्शकहरू एकदमै ख़ुसी भएका थिए । कार्यक्रममा नेपालबाट आएका कलाकारहरूले साथ दिएर सुनमा सुगन्ध छरिदिएका थिए ।
कार्यक्रमलाई संस्थापक अध्यक्ष सुर्य गुरूङले संयोजन गरेका थिए भने सहसंयोजकमा सल्लाहकार पूर्णराज गुरूङले साथ दिएका थिए । गीत तथा बाद्यवादन तर्फको संयोजन संस्थाका उपाध्यक्ष पदम गुरूङले गरेका थिए भने नृत्यतर्फ कार्यसमितिका कोषाध्यक्ष शशी गुरूङ तथा श्री गुरूङले गरेका थिए ।
कार्यक्रमलाई बेलायतस्थित धेरै गुरूङ संघसंस्थामा आबद्ध अग्रज तमु तमुश्योहरूबाट आर्थिक भौतिक र नैतिक रूपले प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गरेर कार्यक्रमलाई एकदमै सफल बनाई दिएका थिए । तेस्रो रोधी साँझ कार्यक्रमलाई सफल बनाइदिने संयोजक, सहसंयोजक, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारहरू, कलाकार साथीहरू, स्पोन्सरहरू, मिडियाका साथीहरू र विशेष गरेर प्रत्यक्ष उपस्थित दर्शक महानुभावहरूलाई तेस्रो रोधी साँझका निर्देशक तथा तमु कलाकार सांस्कृतिक मञ्च यूकेका अध्यक्ष कुमार गुरूङबाट धन्यवाद दिँदै यसरी नै आउने रोधी साँझहरूमा साथ र सहयोग दिन अनुरोध गरेका छन् ।