बेलायत । मगर संघ यूकेले आउँदो मे १३ तारिखमा हुने नेपाली ओपन कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
अल्डरसटस्थित द प्यालेस रेष्टुरेन्टमा आइतबार आयोजित प्रेस मिट (पत्रकार भेटघाट)मा ओपन कन्सर्टका प्रमुख संयोजक तथा मगर संघ यूकेका वरिष्ठ उपाध्यक्ष लालबहादुर (लालु) पुनले नेपालबाट बेलायत आउने कलाकारहरुको भिसा लागिसकेको र ओपन कन्सर्टको लागि सम्पूर्ण तयारी सम्पन्न भइसकेको जानकारी गराएका हुन् । उनका अनुसार यस वर्ष नेपाली ओपन कन्सर्ट शनिबार १३ मे २०२३ मा फार्नबोरो फुटबल क्लबमा संचालन हुनेछ ।
नेपाली ओपन कन्सर्टको लागि मगर संघ यूकेको निमन्त्रणामा नेपालबाट लोकप्रिय कलाकारहरु प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामा बेलायत आउने भएका छन् । पत्रकार सम्मेलनमा ओपन कन्सर्टका संयोजक होम रोकाले नेपाली ओपन कन्सर्टको इतिहास, उद्देश्य, जिम्मेवारी बाँडफाँट, टिकटदर र स्टलहरुबारे जानकारी गराएका थिए ।
उनले ३ सयभन्दा बढी अतिथि र ५ हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य रहेको बताए । एड्भन्स टिकटका दर: प्लटुनियम टिकट £१००, भिआइपी टिकट £५०, बयस्क टिकट £२५ र जेष्ठ नागरिक तथा १२ देखि १६ वर्षसम्मका बालबालिकाहरुका लागि £२० छ ।
पत्रकार सम्मेलनमा मगर संघ यूकेका अध्यक्ष सिता पुन, प्रमुख संयोजक तथा वरिष्ठ पुन, संयोजक होम रोका, सांस्कृतिक सचिव सरु राना (तेन्याङ), नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष गोमा राना, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, एभरेस्ट टाइम्स यूकेका प्रबन्ध निर्देशक नगेन्द्र नेम्वाङ, सहसम्पादक जमुना पुन र अनलाइन प्रमुख सविन्द्रकुमार (एसके) गुरुङ, शितलपाटीका पत्रकार एवं अवकाशप्राप्त डिएसपी बाचस्पति रेग्मीलगायत विभिन्न सञ्चारमाध्यमबाट सञ्चारकर्मीहरु र मगर संघ यूकेका विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।