काठमाडौं । अंग्रेज फौजलाई विश्वमा पहिलोपटक पराजय गराएको सिन्धुलीगढी युद्धमा विशेष योगदान गरेका शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरमा रहेका वंशु (वंश) गुरुङका सन्ततिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज भेट गरी यस्तो माग गरेका हुन् । शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानको तर्फबाट ज्ञापनपत्र बुझाउँदै सिन्धुली गढीको युद्धमा वीरतापूर्ण कदम चालेर नेपालको स्वाभिमान रक्षा गरेको भन्दै वंशु (वंश) गुरुङलाई उच्च सम्मान गर्न माग गरेका हुन् ।
प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङ र बेलायत संयोजक लेख गुरुङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा इतिहासको कालखण्डमा नेपाली भूमिको रक्षाका लागि योगदान गर्ने वीर योद्धाको राज्यले सम्मान गर्नुपर्ने माग गरिएको छ ।
प्रतिष्ठानले शिकारी सरदार वंशु (वंश) गुरुङको तस्विर अंकित हुलाक टिकट प्रकाशन गर्नुपर्ने, इतिहासमा वीर योद्धाको भूमिकालाई उचित सम्मान गर्दै पुनर्लेखन गर्नुपर्ने र प्रतिष्ठानका लागि उचित बजेट विनियोजन गर्नुपर्ने लगायत माग राखिएको थियो ।
सिन्धुलीगढीमा अंग्रेजसँग १८२४ साल असोजमा भएको युद्धमा वीरता प्रदर्शन गरेर नेपाल भूमि जोगाउने काममा वंशु (वंश) गुरुङको अतुलनीय योगदान रहेको भन्दै प्रतिष्ठानका अध्यक्ष क्या. लालजंगले सरकारले उच्च सम्मान गरिनुपर्ने बताए । ज्यानको बाजी राखेर नेपाली भूमि रक्षाका लागि खेलेको भूमिकाको सम्मानका लागि नेपाल सरकारले ऐतिहासिक निर्णय गर्नेमा आफूहरु आशावादी रहेको प्रतिष्ठानका बेलायत संयोजक लेख गुरुङले बताए । उनले भने, ‘इतिहास जित्नेहरुको लेखिन्छ भनिए पनि वंशु (वंश) गुरुङको सवालमा न इतिहास लेखियो, न त उचित सम्मान नै भयो ।’
ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधि मण्डलसँगै रहेका तनहुँ १ का प्रतिनिधिसभा सांसद शंकर भण्डारीले सरकारले वंशु (वंश) गुरुङलाई उचित सम्मान गर्नुपर्ने र आफ्नो तर्फबाट निरन्तर पहल गरिने बताए ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसबारेमा थप अध्ययन गरिने र यथोचित निर्णय लिइने बताए । सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, लेम तमू (लाम्छाने गुरुङ) समाजका अध्यक्ष क्या. ओम गुरुङ लगायतको उपस्थिति थियो ।
विश्वको कुनै पनि युद्धमा पराजित नभएका इष्ट–इण्डिया कम्पनीका अंग्रेज फौज सिन्धुली गढीमा भएको युद्धमा १८२४ साल असोज १५ गते पहिलोपटक पराजित भएका थिए । विश्वमा नहारेका अंग्रेजलाई पराजित गराउने नाइकेमध्येका शिकारी सरदर वंशु (वंश) गुरुङ एक थिए । उनले अंग्रेज फौजको परास्त गरी नेपाली भूमिको रक्षाका लागि योगदान गर्ने वीरयोद्धा शिकारी सरदार वंशु (वंश) गुरुङप्रति राज्यको तर्फबाट कुनै सम्मान नभएको गुनासो उनका सन्ततिहरुको छ ।
अहिलेसम्म शिकारी सरदार वंशु (वंश) गुरुङका सन्तानहरुले २०७६ साल असोजमा प्रतिष्ठान स्थापना गरी विभिन्न कार्यक्रम गर्दै आएका समेत प्रधानमन्त्री समक्ष जानकारी गराएका थिए । प्रतिष्ठानको निजी खर्चमा वंशु (वंश) गुरुङकै पुख्र्यौली थलो तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरमा अर्धकदको शालिक निर्माण गरिएको छ ।