लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीको नयाँ वर्ष कार्यक्रमका लागि लोकदोहोरी गायिका शर्मिला बिसी बेलायत आइपुगेकी छन् ।
१४ अप्रिल (१ वैशाख २०८०) मा अल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रमका लागि गायिका बिसी बुधबार लन्डनको हिथ्रो विमानस्थल उत्रिएकी हुन् । गायिकाको स्वागतका लागि जीआरएनसीका अध्यक्ष मान गुरुङ, सांस्कृतिक सचिव दिनेश गुरुङ, सहायक मिडिया सेक्रेटरी इर्जा श्रेष्ठ, विनोद पुरीलगायत कार्यक्रम आयोजकमा सदस्यहरु विमानस्थल पुगेका थिए ।
यस वर्ष चर्चित लोकदोहोरी गायक, गायिकाहरु बबिता बानियाँ (जेरी), शर्मिला बिसी, सुदीप क्षेत्री, पृथ्वी गुरुङ, सागर गुरुङलगायतको प्रस्तुति रहनेछ । मास्टर कन्सियसनेश कोच इन्द्र गुरुङ र हिलर राजी श्रेष्ठ गुरुङ पनि उपस्थित हुने भएकोले यसपटक कार्यक्रम पृथक् हुने अध्यक्ष गुरुङले बताएका छन् । उनले नेपाली नयाँ वर्ष २०८० कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको पनि बताए ।
कार्यक्रममा ३ वर्षमाथिका नानीहरुको नाच हुनेछ । युवाको पनि साँस्कृतिक कार्यक्रम हुने उनले बताए । कार्यक्रममा प्रमुख अतिथिमा नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, विशेष अतिथिमा रसमोर बरो काउन्सिलका मेयर जोन मार्सन, काउन्सिलका डेपुटी लिडर काउन्सिलर मौरिस सिहन, मेजर रिटायर्ड मणि राई, डिपुटी काउन्सिल लिडरहरु, कमिटी लिडर, आ–आफ्नो पेसामा दक्षता हासिल गरेकाहरु सहभागी हुनेछन् ।
सहभागिताका लागि ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १० पाउन्ड र जेष्ठ नागरिकलाई २० पाउन्ड राखिएको छ ।
जीआरएनसीले सन् २००३ मा च्यारिटीमा संस्थाका रुपमा दर्ता भएपछि निरन्तर नयाँ वर्ष मनाउँदै आएको छ ।