काठमाडौं । कवि दुर्गा ढकालको प्रथम कवितासंग्रह 'अक्षरको परकम्पन' लोकार्पण गरिएको छ ।
सेप्टेम्बर ३ तारिख २०२२ (२०७९ भाद्र १८ गते) आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गंगाप्रसाद उप्रेतीलगायतले पुस्तक लोकार्पण गरेका हुन् । प्रमुख अतिथि कुलपति उप्रेतीले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन पनि गरेका थिए ।
प्रमुख अतिथि उप्रेतीले विदेशमा बसेर पनि नेपाली साहित्यका लागि कलम चलाएकी स्रष्टा दुर्गा ढकाललाई आगामी दिनमा अझ सशक्तरुपमा साहित्यमा कलम चलोस् भन्ने शुभेच्छा व्यक्त गरे ।
समारोहमा त्रिभुवन विश्वविद्यालयका प्रा डा रमेशराज भट्टराईले कवितासंग्रहको बारेमा समीक्षात्मक धारणा राख्दै कवितासंग्रहभित्र प्रकृति र लैंगिक चेतना बोलेको बताए । त्यस्तै प्रा डा शान्तिमाया गिरिले एउटा नारी भएर सिर्जनात्मक कार्य गर्न त्यति सजिलो नहुने र त्यसमा पनि विदेशमा बसेर नेपाली भाषामा कवितासंग्रह तयार गर्नु भनेको निकै गौरवको कुरा भएको बताइन् । उनले पुस्तकको समीक्षा गर्दै कवि दुर्गा ढकाललाई सुझावसहित बधाई तथा शुभकामना प्रदान गरिन् ।
त्यसैगरी मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार युवराज नयाँघरेले कवि ढकाललाई बधाई दिँदै कविता लेख्ने आँट गर्नु एक दुस्साहसपूर्ण काम रहेको उल्लेख गरे । उनले भने, 'गीता, रामायण, माधव घिमिरेका कविताहरु पनि कविता र दुर्गाजीका कविता पनि कविता नै हो ।'
इतिहासविद् डा सुरेन्द्र केसीले स्रस्टाहरुलाई विदेश बसेपछि देश, गाउँघरको माया र सम्झनाले सताउने गरेको भन्दै कवि दुर्गा ढकालका कविताहरु पढ्दा पनि त्यस्तै झल्को आउने बताए ।
रास्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष रिशवदेव घिमिरेको सभापतित्वमा संचालन भएको कार्यक्रममा साहित्यलगायत विभिन्न क्षेत्रबाट उपस्थित व्यक्तित्वहरुलाई कवि दुर्गा ढकालकी छोरी नेहा ढकाल तथा भाउजु रिना शर्माले खादा ओडाएर सम्मान गरेका थिए । कार्यक्रममा साहित्यिक क्षेत्र, लगायत विभिन्न पेशामा आबद्ध वरिष्ठ व्यक्तित्वहरु र दुर्गा ढकालका आफन्त, साथीभाइहरुको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा कवि ढकालकी छोरी नेहालगायत विभिन्न व्यक्तित्वहरुले दुर्गा ढकालको पुस्तकबाट कविता वाचन गरेका थिए । राष्ट्रका साहित्य प्रतिष्ठानकी कवि तथा लेखक सुमन वर्षाले स्वागत मन्तव्यसहित अक्षरको परकम्पन कवितासंग्रहबाट कविता वाचन गरेर सुनाएकी थिइन् । कवितासंग्रहको विमोचन कार्यक्रम संचालन रास्ट्रिका साहित्य प्रतिष्ठानकी सचिव, कवि तथा लेखक रन्जना निरौलाले गरेका थिए । कवि ढकालले विदेशी भूमिमा पीडा हुने र तिनै पीडाबाट सिर्जनाहरु फुल्ने बताइन् ।
हाल एनआरएनए राज्य परिषद्, बक्साएर एण्ड अक्सफोर्डसायरकी सचिवसमेत रहेकी कवि दुर्गा ढकाल आफ्नो परिवारसहित विगत १४ वर्षदेखि बेलयातको रिडिङ सहरमा बसोबास गर्दै आएकी छिन् ।