नेपाली पात्रोअनुसार अब नयाँ साल २०८० सुरु हुँदै छ । नयाँ वर्षको आगमनसँगै देश, विदेशमा रहेका नेपाली र नेपाली समुदायले विभिन्न योजना बुनेको पाइन्छन् । यसै सन्दर्भमा ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेूले नेपाली नयाँ वर्ष २०८० आयोजना गरेको छ । १४ अप्रिल २०२३ (वैशाख १ गते २०८०) शुक्रबार अल्डरसटको एम्पायर हलमा हुने कार्यक्रममा विभिन्न सांस्कृतिक हुनेछन् । नयाँ वर्ष कार्यक्रमको सेरोफेरोमा रहेर गोर्खा मिडियाका लागि प्रबन्ध निर्देशक मिलन तमुले जीआरएनसी यूकेका अध्यक्ष मान गुरुङ गर्नुभएको कुराकानी ।
अचेल कत्तिको व्यस्त हुनुहुन्छ ?
आजभोलि एकदम व्यस्त छु । नेपाली नयाँ वर्ष २०८० कार्यक्रमको तयारीमा जुटेका छौं । भेटघाट, छलफल, बैठक भइरहेका छन् । समितिहरु बनेका छन् । कामहरु भइरहेको छ ।
नेपाली नयाँ वर्षको कार्यक्रमको योजना कसरी बन्यो ?
हामी नेपाली युकेमा आएर बसेको धेरै समय भएको छैन । नेपालीलाई युकेमा बस्ने अधिकार दिएपछि भने केही ठाउँमा घनाबस्ती भएको छ । विशेषगरी अल्डरसट र फार्नब्रोमा धेरै नेपाली छन् । जहाँ १५ हजार नेपाली रहेको अनुमान गरिएको छ । नेपालबाट यहाँ बसेको हामी पहिलो पुस्ता हो । हामी नेपाली भाषा बोल्छौं । नेपाली भाषा, कला, संस्कृति संरक्षणमा जोड दिएका छौं । सन् २००३ मा च्यारिटीमा संस्था दर्ता भएदेखि नै सक्रिय छौं । त्यसपछि यहाँ हामीले निरन्तर नयाँ वर्ष मनाउँदै आएका छौं । नाचगानको कार्यक्रम हुँदै आएको छ ।
मैले कार्यभार सम्हालेको दुई वर्ष भयो । गत वर्ष पनि कार्यक्रम भएको थियो । कार्यक्रमका लागि आयोजक समिति बनेको छ । यो नयाँ वर्ष उत्साहका साथ मनाउनेछौं । भरपुर मनोरञ्जन दिने लक्ष्य छ ।
कस्ता-कस्ता कार्यक्रम हुन्छन् ? कलाकार को को आउँदैछन् ?
गत वर्ष नेपालबाट ४ जना कलाकार ल्याएका थियौं । यस वर्ष ७ जना कलाकार ल्याउने योजना बनाएका छौं । चर्चित लोकदोहोरी गायक, गायिकाहरु बबिता बानियाँ (जेरी), शर्मिला बिसी, सुदीप क्षेत्री, पृथ्वी गुरुङ, सागर गुरुङलगायत आउनुहुनेछ । मास्टर कन्सियसनेश कोच इन्द्र गुरुङ र हिलर राजी श्रेष्ठ गुरुङ पनि आउनुहुन्छ । यसपटक कार्यक्रम पृथक् हुन्छ ।
मनोरञ्जनात्मक कार्यक्रमबाहेक केही छन् कि ?
नेपाली भएकाले नेपाली बाद्यबादनको संरक्षण गर्नुपर्छ । हामीले नेपाली बाद्यबादन बजाउने कार्यक्रम राखेका छौं । शुद्ध सांगीतिक माध्यमबाट मनोरञ्जन दिन्छौं । ३ वर्षमाथिका नानीहरुको नाच हुनेछ । युवाको पनि साँस्कृतिक कार्यक्रम हुन्छ । हाम्रो कार्यक्रम एकदम फरक हुन्छ ।
अतिथिहरु को-को आउनुहुन्छ ?
प्रमुख अतिथिमा नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, विशेष अतिथिमा रसमोर बरो काउन्सिलका मेयर जोन मार्सन, काउन्सिलका डेपुटी लिडर काउन्सिलर मौरिस सिहन, मेजर रिटायर्ड मणि राई, डिपुटी काउन्सिल लिडरहरु, कमिटी लिडर, आ–आफ्नो पेसामा दक्षता हासिल गरेकाहरु आउनुहुनेछ ।
कार्यक्रममा सहभागिताको प्रक्रिया र टिकट दर के छ ?
कार्यक्रम अल्डरसटको एम्पायर हलमा साँझ ५ बजेदेखि सुरु हुने छ । टिकट शुल्क २५ पाउन्ड राखेका छौं । बालबालिका र जेष्ठ नागरिकलाई छुट गरेका छौं । ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १० पाउन्ड र जेष्ठ नागरिकलाई २० पाउन्ड राखिएको छ ।
टिकट कहाँ पाइन्छ अनि कसरी सुरक्षित राख्ने ?
टिकट अनलाइनबाट पनि लिन सकिन्छ । पेपर प्रिन्टहरु पनि लिन सकिन्छ । कोषाध्यक्ष श्याम श्रेष्ठलाई सम्पर्क गर्न सकिने छ । आयोजक कमिटीका सबैलाई र मलाई पनि भन्न सक्नुहुन्छ ।
कार्यक्रम सञ्चालन गर्न सहयोग चाहिन्छ नै, स्पोन्सरका लागि के-के गर्नुभएको छ ?
अवश्य पनि कुनै पनि कार्यक्रम गर्न आर्थिक सहयोग चाहिन्छ । १०० पाउन्डभन्दा माथि स्पोन्सर गरेमा २ टिकट फ्रिमा पाउँछ । लोगो, फोटोसहित विज्ञापन पनि हुन्छ । २०० पाउन्ड स्पोन्सर गरेमा प्रिन्टमा पनि विज्ञापन हुन्छ । ४०० पाउन्ड स्पोन्सर गरेमा संस्थाले विशेष सम्मान गर्छ । आर्थिक सहयोग त आ–आफ्नो इच्छाले गर्न सक्नुहुन्छ । सहयोगको बारेमा कार्यक्रमस्थलमा पावर पोइन्टमार्फत पनि देखाइन्छ ।
कार्यक्रममा राफल ड्र छ कि छ्रैन ? के छ पुरस्कार ?
सधैंझैं यसपटक पनि राफल ड्र राखिएको छ । विजेताले सुन पाउनेछन् । प्रायोजकलाई १ तोला सुन राख्न भनेका छौं । प्रथम हुनेले सुनको गहना पाउनेछन् ।
कार्यक्रम कसरी सञ्चालन हुन्छ ? प्रक्रियाबारे बताइदिनुस् न ?
हामीले अतिथिलाई निमन्त्रणा गर्ने हो । उहाँहरु आउनुहुन्छ । अफिसियल कार्यक्रम गर्छौं । अध्यक्षको नाताले मैले समाजको बारेमा भन्ने छु । मनोरञ्जन कार्यक्रम हुने छ । खानाहरुको व्यवस्था हुन्छ । राफल ड्र हुन्छ । भलाकुसारी, छलफल पनि गर्ने मौका मिल्नेछ । सबैजना आइदिनुहोस् । आफूले पनि कार्यक्रमबाट फाइदा लिनुहोस् भन्न चाहन्छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
कार्यक्रममा आएर हेरिदिन सबै दर्शक महानुभावलाई अनुरोध छ । कार्यक्रमको बारे भने जति प्रचारप्रसार नहुन सक्छ । धेरै प्रचार गर्न नभ्याउन सक्छ । आउनुहोस् । बुझ्नुहोस् । कार्यक्रमले तपाईंलाई अवश्य खुशी दिने छ । लाभ लिनुहुने छ । भोलिका लागि समाजको संवाहक, प्रभावशाली व्यक्ति हुन सक्नुहुने छ । रचनात्मक सहयोगको अपेक्षा गरेको छु । कार्यक्रमबाट भरपुर मनोरञ्जन लिनुहोला ।