लन्डन । धम्पुस परिवार युकेले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ७ धम्पुस पोखरीटोल निवासी मिर्गौलापीडित आसबहादुर गुरुङको उपचारार्थ ४ लाख २५ हजार ७६० (२६ सय ६१ पाउन्ड) सहयोग गरेको छ ।
समाजका अध्यक्ष कुमार गुरुङको अगुवाईमा संकलित सहयोग रकम माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बैकुण्ठ भण्डारीले शुक्रबार बिरामीका काका एवं ल्हेंगे परिवार धम्पुसका अध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा धम्पुस परिवार यूकेका संस्थापक अध्यक्ष तथा क्याप्टेन देवबहादुर गुरुङ सहभागी थिए । संस्थापक अध्यक्ष गुरुङले नै सहयोग हस्तान्तरण कार्यक्रमको समन्वय गरेका थिए ।
धम्पुस बस्ने कर्णबहादुर गुरुङका छोरा वर्ष ५० का आसबहादुर गुरुङ मिर्गौला रोगले ग्रस्त भई मणिपाल अस्पतालमा उपचाररत थिए । उनी अहिले भारतको नयाँ दिल्लीमा उपचाररत रहेका छन् ।
उनको परिवारको आर्थिक अवस्था कमजोर रहेकोले उपचारका लागि सहयोग गर्नुपर्ने आवश्यकता संरक्षक मेजर खुशीमान गुरुङ एमभिओले वर्तमान अध्यक्ष कुमार गुरुङलाई जानकारी गराएका थिए । त्यसपछि प्रक्रियागतरुपमा अघि बढ्न माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसका वडाध्यक्ष बैकुण्ठ भण्डारीले धम्पुस परिवार यूकेलाई पत्र लेखेका थिए । पत्र प्राप्त भएपछि १२ मार्चदेखि २४ तारिखसम्म १२ दिनको अवधिमा जम्मा भएको २ हजार ६ सय ६१ पाउन्डबापतको नेपाली रुपैयाँ शुक्रबार पहिलो चरणमा हस्तान्तरण गरिएको अध्यक्ष कुमार गुरुङले जानकारी दिए । उनले नेपाली रुपैयाँ सहयोग दिने घोषणा गरेका दाजुभाइबाट संकलन भइसकेपछि फेरि ६५ हजार रुपैयाँ बिरामीलाई हस्तान्तरण गरिने बताए ।
आसबहादुरको उपचारका लागि धम्पुसका दाजुभाइले ५० पाउन्डदेखि १२० पाउन्डसम्म सहयोग गरेका छन् । ८४ घरधुरी सामेल धम्पुस परिवार यूकेका झन्डै ८० प्रतिशतले आसबहादुरका लागि गच्छेअनुसार दान गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
छैटौं कार्यसमितिका अध्यक्ष कुमार गुरुङले दाजुभाइ या एउटा गाउँलेका लागि छोटो समयमा बिनाकन्जुस्याइँ सहयोग दिनुभएकोमा धम्पुस परिवारका कार्यसमिति र सदस्यहरुलाई धन्यवाद दिएका छन् । उनले आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेका छन् । अध्यक्ष गुरुङले धम्पुस परिवार यूकेको सहयोगले आसबहादुर गुरुङको उपचारका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
धम्पुस परिवार यूकेमार्फत आफ्नो गाउँमा काम गर्नका लागि संस्थापक अध्यक्ष क्या देवबहादुर गुरुङको नेपाल बसाइ लम्बिँदा सजिलो भएको अध्यक्ष गुरुङले बताए । 'हाम्रा संस्थापक अध्यक्षज्यू नेपालको लामो बसाइका लागि जानु भएको छ । धम्पुसमा गर्ने कामका लागि उहाँ नेपाल हुँदा निकै सजिलो हुन्छ । गाउँमा केही गर्नु परेमा उहाँलाई नै सोध्ने गर्छु । अहिलेको कार्यक्रम सबै उहाँले नै समन्वय गर्नुभएको हो,' अध्यक्ष गुरुङको भनाइ छ ।
सन् २००८ मा स्थापना भएको धम्पुस परिवार यूकेले कुनै गाउँले दाजुभाइको सुख, दु:खमा सहयोग गर्न, आफ्नो संस्कार, संस्कृति जगेर्ना गराउने गतिविधि गर्ने, वार्षिक भेटघाट, नयाँ पुस्ताका नानीबाबुहरुको शिक्षा, रोजगारीका विषयमा प्रोत्साहन र नेपालमा विपत्ति तथा पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ ।