लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी)ले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
उपमेयर काउन्सिलर क्लाइभ गर्यटनको प्रमुख आतिथ्यतामा आइतबार एम्पायर हल अल्डरसटमा दिवस मनाइएको हो । विशेष अतिथि काउन्सिलका डेपुटी लिडर काउन्सिलर मौरिस सिहन थिए । प्रमुख अतिथि उपमेयर गर्यटन र जीआरएनसीका अध्यक्ष मन गुरुङले पानसमा बत्ती बाली कार्यक्रम सुरु गरिएको थियो ।
पहिलो सत्रको कार्यक्रममा सचिव सुशीला मगरले हेल्थ एन्ड सेफ्टी र कार्यक्रम संयोजक उपाध्यक्ष लीला सेलिङ्ग माबोले स्वागत मन्तव्य र प्रमुख अतिथि उपमेयर गर्यटनले छोटो शुभकामना र अध्यक्ष मन गुरुङले धन्यवाद दिएका थिए ।
दोस्रो सत्रमा घरेलु हिंसा जागरणसम्बन्धी नाटक मन्थन गरिएको थियो । जसको परिकल्पना अध्यक्ष मन गुरुङ, निर्देशक कार्यक्रम सहसंयोजक सुष्मा गुरुङ, कलाकारहरु क्याप्टेन रिटार्यड वीर थापा मगर, लीला सेलिङ्ग माबो, कविता घर्ती मगर गुरुङ र मनसुदन थापा थिए भने मन गुरुङले ध्यान, ताइची (छिकोंग) र परिवर्तन (हिलिङ्ग), डा जित तामाङले मुटु रोग सम्बन्धमा, सेकेन्ड लेफ्टिनेन्ट डा रेश्मा राज भण्डारीले आफ्नो परिचय, सामुदायिक प्रहरी अधिकृत दुर्गा थापा र निलम रेले प्रहरी र सुरक्षा र रोजगारीको बारे, एलिजा गुरुङले सिटिजन एडभाइस र घरेलु हिंसाबाट कसरी बच्ने र भएमा के गर्ने, निशा शर्माले क्यान्सर, सोयिन्गनाले समावेसी, लीला सेलिङ्ग माबो र जगन गुरुङले कविता, अनुषा गुरुङले प्रोजेक्ट टुगेदर र सूचना र संचार बारे, मधु गुरुङले वृद्धहरूको लागि घर भाडा सम्बन्धमा, सुशीला थापामगरले सोसियल प्रिस्क्रेयाब, सुष्मा गुरुङले मेन्टल हेल्थ सम्बन्धी जानकारी गराएका थिए भने मनोरन्जनमा सयपत्री समूहले नृत्य, दिनेश गुरुङ र मिन गुरुङले संगीत, कविता घर्ती मगर गुरुङले गीत, रजनी गुरुङले नृत्य र मनसुधन थापा मगरले दोहारी गीत प्रस्तुत गरेका थिए ।
करिब २०० जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रममा धेरैजसो वृद्ध आमाहरू सहभागी थिए । कार्यक्रममा करिब आठ वटा स्टल थिए ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरू सबैलाई र विशेषगरी रो हिल वार्डका काउन्सिलरहरु डेपुटी काउन्सिल लिडर मौरिस सिहान, काउन्सिलर चार्ल्स चौधरी र काउन्सिलर स्टुवार्ट त्रुसलरलाई अध्यक्ष मन गुरुङले धन्यवाद दिएका थिए ।