लन्डन । कोरोना महामारीका कारण रोकिएको दुई वर्षपछि गोर्खा प्यालेस रेस्टुरेन्ट फानबोरोले २४ औं वार्षिकोत्सव मनाएको छ । गत फेब्रुअरी २६ तारिख आइतबार प्यालेसले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा नियमित ग्राहक र रेस्टुरेन्ट परिवारका झन्डै ७० जनाको उपस्थिति थियो ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, रसमूर बोरो काउन्सिलर जोन मार्सले गोर्खा प्यालेस रेस्टुरेन्टको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै गोर्खा प्यालेस रेस्टुरेन्टको सेवा प्रवाह र सामाजिक कार्यको उच्च प्रशंसा गरेका थिए ।
गोर्खा प्यालेस नेपाली रेस्टुरेन्टका प्रोपाइटर सूर्य गुरुङले कोरोना भाइरसका कारण दुई वर्ष वार्षिकोत्स्व र च्यारिटी कार्यक्रम रोकिएकोले यसपटक विशेष भएको बताए । च्यारिटीबाट उठेको रकम पालैपालो एक वर्ष नेपालमा र अर्को वर्ष बेलायतका संघ संस्थालाई सहयोग गर्ने निर्णयअनुरुप यसपटक बगर भाइखलक पोखरालाई सहयोग गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
पोखरा बगर भाइ खलकले पछिल्लो १२/१३ वर्षदेखि भेटेरन टुर्नामेन्ट गर्दै आएको छ । १४ वर्षमुनिका छात्रछात्राहरुलाई प्रशिक्षकहरुबाट नि:शुल्क फुटबल तालिम गराउँदै आएको छ । फुटबलमार्फत उनीहरुलाई मोटिभेसन गराउने, राम्रो शैक्षिक परामर्श गराउने प्रतिबद्धतासहित बगर भाइखलक पोखरा अगाडि बढेकोले यस वर्ष अक्षय कोष स्थापनाका लागि गोर्खा प्यालेसको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको प्रोपाइटर गुरुङले बताए । कोषबाट आउने ब्याच रकमले परिवारले इफोर्ट गर्न नसक्ने नानीबाबुहरुलाई खेलकुद र शैक्षिक रुपमा सहयोग पुग्ने गरी सहायता दिने योजना रहेको प्रोपाइटर गुरुङले बताए ।
बगर भाइखलक पोखराका अग्रजहरुले भिन्दै खालका कन्सेप्ट ल्याएकोले आफूहरुले रेस्टुरेन्टको वार्षिकोत्सवका अवसरमा यस वर्ष उठाइएको ३ हजार पाउन्ड (नेपाली ५ लाख रुपैयाँ) नै अक्षय कोषका लागि दिने निर्णय आफ्नो दम्पत्तीले गरेको उनले जनाए ।
कार्यक्रम सञ्चालन गुरुङ दम्पतीकी १६ वर्षीया छोरी सिल्भ्या गुरुङले गरेकी थिइन् । त्यस्तै स्वागत मन्तव्य र सहयोग संकलन केका लागि भन्ने विषयमा छोरा ९ वर्षीय साकार गुरुङले राखेका थिए ।
उपस्थित सबै जना खुसीसाथ बिंगोमा, राफल ड्र, अक्सनमा भाग लिएर खानपिन रमाइलो मानेकाले कार्यक्रम एकदमै सफल भएको गुरुङले बताए ।