लन्डन । नेपालमा नि:शुल्क आँखा तथा स्वास्थ्य शिविर गरी फर्किएका डा. विशाल गुरुङलाई बेलायतमा सम्मान गरिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके स्वास्थ्य विभाग संयोजक समाजसेवी चिकित्सक डा. गुरुङलाई मिनिस्टर अफ यूके फर युरोप एन्ड अमेरिका एमपी लियो डकर्टीसहित कम्युनिटी नेताहरुले बधाइसहित सम्मान गरेका हुन् । उनी तमुधिं यूकेका महासचिव एवम् एनआरएनए इन्ङल्यान्ड राज्य समन्वय परिषद्का प्रवक्ता हुन् ।
विशाल नेपालमा नि:शुल्क आँखा शिविर गरी हालै कर्मभूमि बेलायत फर्किएका थिए । शिविरमा मोतीबिन्दूको शल्यक्रिया, चश्मा वितरण तथा अन्य स्वास्थ्य परीक्षण गरिएको थियो । शिविर स्याङ्जाको पुतलीबजार नगरपालिकालाई मोतीबिन्दू मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत थियो । शिविरमा पहिला १४ दिन आंखाको परीक्षण गरिएको विशालले जनाए । १४ वटा वडामा २८ स्टेशन राखी परीक्षण गर्दा ३९२८ जनाले सुविधा पाएको उनी बताउंछन् । सो क्रममा ९२२ चश्मा बाँडिएको थियो ।
गत फागुन ४, ५ र ६ मा १५३ जना विरामीलाई मोतिबिन्दुको शल्यक्रिया प्रबन्ध मिलाइएको थियो । तर ५९ जना बिरामी विभिन्न कारणले अप्रेशन गर्न आउन नसकेपछि ९४ जनाको शल्यक्रिया गरियो । डा. विशालका अनुसार, फागुन ४, ५, ६ मा स्वास्थ्य शिविर गरी करिब ६०० बिरामीको परीक्षण गरी थप १९९ वटा चस्मा र करिब ५ लाख रुपैयाँ जतिको औषधि वितरण गरियो ।
नेत्र ज्योति संघ, रोटरी क्लब अफ हिमालय पाटन, हिमालय आँखा अस्पताल, भूपू स्कूल, पुतलीबजार नगरपालिका, स्याङ्जा जिल्ला अस्पताल र तमू ह्युल छोंज धिंले शिविरका लागि विशेष सहयोग गरेका थिए । डा. विशालले तमु ह्युल छोजधिंले खाना बस्न भरपुर सहयोग गरेको भन्दै धन्यवादसमेत दिए । मेयर तुलसी रेग्मीले शिविर उद्घाटन गरेका थिए भने समापन कांग्रेस उपसभापति सांसद धनराज गुरुङले गरेका थिए ।
विशालले भविष्यमा पनि अरु जिल्लामा समेत यस्ता शिविर लैजाने योजना रहेको बताए । आँखा शिविर सफल गराएर फर्किएको भन्दै डा विशाललाई थप हौसला र बधाई दिन अल्डरसटवासी समाजसेवी दिलरास गुरुङ र व्यवसायी विमला तामाङले समाजका अभियन्ताहरुलाई निमन्त्रणा गरी सम्मान गरे । सो क्रममा खाना र केक समेत काटिएको थियो । एमपी लियोले भविष्यमा पनि यस्तै राम्रो काम गर्नु भनि खादा लगाई हौसला प्रदान गरेका थिए।
कार्यक्रममा तमुधिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष मीन गुरुङलगायत युवा व्यवसायी अजय थापा, काउन्सिलर जीव बेल्बासे, वाइबीसीका निर्देशक योगेन क्षेत्री लगायतको सहभागिता थियो ।