लन्डन । हरि गुरुङ नेतृत्वको तमुधिं यूके नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।
तमुधिं भवन मिचेटमा अध्यक्ष हरि गुरुङको अध्यक्षतामा शनिबार आयोजित बैठकमा वरिष्ठ उपाध्यक्ष जुम काजी गुरुङले स्वागत मन्तव्य दिएका थिए । तमु ल्होछार कार्यक्रम संयोजकसमेत रहेका वरिष्ठ उपाध्यक्ष गुरुङ तमु ल्होछारको विस्तृत विवरण प्रस्तुत गरेका थिए । तमु धिं यूकेले ल्होछार कार्यक्रम ३१ डिसेम्बर २०२२ मा एम्पायर हल अल्डरसटमा आयोजना गरेको थियो ।
त्यसपछि खेलकुद सचिव क्याप्टेन दिपक घलेले स्लाइड सोमार्फत गोर्खा कपबारे जानकारी दिएका थिए । बेलायतमा चर्चित फुटबल प्रतियोगिता 'गोर्खा कप' आउँदो मे २८ तारिखमा क्वीन्स एभिन्यूमा हुँदैछ ।
बैठकमा संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, आमा समूहका अध्यक्ष, निवर्तमान अध्यक्ष, सल्लाहकार, ट्रस्टी, कार्यसमिति सदस्यको बाक्लो उपस्थिति थियो ।
सिक्किमबाट बेलायत भ्रमणमा आएका युवा टुल्कु साङ्गेयोन्तेन ग्यात्सो रिन्पोछेलाई तमुधिं भवनमा खादा, पुष्पगुच्छासहित पदाधिकारी र कार्यसमितिले स्वागत गरेका थिए । त्यस क्रममा दीप प्रज्ज्वलन गरी वेलकम केकसमेत काटिएको थियो । त्यसपछि अध्यक्ष हरि गुरुङले तमुधिं स्थापना, उद्देश्यबारे संक्षिप्त मन्तव्य दिए भने टुल्क रिम्पोछेले प्रवचन दिएका थिए । प्रवचनपश्चात् तमुधिं यूकेको मुखपत्र फ्रेंसी र मायाको चिनो अध्यक्ष गुरुङले रिम्पोछेलाई हस्तान्तरण गरेका थिए ।
अन्त्यमा, मोटिभेसनल स्पीकर सुदन ज्ञवालीलाई स्वागत गरिएको थियो । उनले सकारात्मक परिवर्तनको विषयमा आफ्नो प्रस्तुति राखेका थिए । उपस्थित सबै जनाले ज्ञवालीको प्रस्तुति चासोपर्वक सुनेका थिए । ज्ञवालीलाई पनि अध्यक्ष गुरुङले प्रमाणपत्र र फ्रेंसी दिएका थिए ।
औपचारिक कार्यक्रम सचिव विमल गुरुङले चलाएका थिए । आमा समूहले बैठकका सहभागीलाई खानाको प्रबन्ध गरेको थियो । कार्यक्रमको प्रत्यक्ष प्रसारण गोर्खा मिडियाले गरेको थियो भने फोटो/भिडियो ग्राफी गोर्खा मिडिया प्रबन्ध निर्देशक मिलन तमुले गरेका थिए । तमु तमुधिं यूकेका कार्यसमिति सदस्य समेत हुन् ।