अल्डरसट यूके । शिव कल्चर कम्युनिटी सेन्टर रसमुर यूकेको आयोजनामा शनिबार अल्डरसटको शिव मन्दिरमा महाशिवरात्रि पर्व भव्य रुपमा मनाइएको छ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, काउन्सिल लिडर डेभिड क्लिफर्ड, काउन्सिलरहरु र बेलायतमा सक्रिय नेपाली संघ संस्थाका विशिष्ट अतिथिहरूको उपस्थितिमा महाशिवरात्रि मनाइएको हो ।
कार्यक्रममा काउन्सिलर जीव बेल्वासे, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, तमुधिं यूके आमा समूह अध्यक्ष सन्ध्या गुरुङ, निवर्तमान अध्यक्ष मन्जु सीता गुरुङ, तमुधिं यूके आमा समूहका वरिष्ठ उपाध्यक्ष कमलदेवी गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष मिनबहादुर गुरुङ, तमु फोरम यूकेका डाइरेक्टर क्या राजु गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायत सयौं जना उपस्थित थिए ।
उपाध्यक्ष विक्रम भट्टराईले भने, 'आज महादेवको विशेष दिन हो । महाशिवरात्रिमा संसारभर रहेका सनातन धर्मालम्बीले चतुर्मुखी शिवलिङमा जल र दूधले सेचन गरिन्छ । सदियौंदेखि भगवान शिवलाई दूध र जल, प्रसाद, घिउले नुहाउने चलन हो । सोही विधि कार्य हामीले यहाँ शिवमूर्तिमा गरेका छौं ।'
कार्यक्रममा शिव कल्चर कम्युनिटी सेन्टर रसमुर यूके अध्यक्ष वाचस्पति रेग्मी, उपाध्यक्ष भट्टराई, संरक्षक एवं पूर्वअध्यक्ष रोहित गुरुङ, कोषाध्यक्ष हरि भट्टराईलगायत पदाधिकारी, कार्यसमिति, सल्लाहकार, संरक्षक सबै जना बिहानैदेखि ब्यस्त रहेका थिए । भजनकीर्तन, पूजा, लगायतका लागि शिव मन्दिरमा बाक्लो संख्यामा धर्माबलम्बीहरु सहभागी थिए । जसमा बालबालिका, युवादेखि जेष्ठ नागरिकसम्मका उपस्थित थिए ।