लन्डन । लन्डन बरो अफ ब्रेन्टले आइतबार वेम्बलीको बरहाम पार्कस्थित क्विन एलिजाबेथ गार्डेनमा आयोजना गरेको ‘ब्रेन्ट सिभिक रिमेम्ब्रेन्स सर्भिस २०२६ मा तमु समाज यूकेका पूर्वगोर्खा सैनिकहरू सहभागी भए ।
युद्धमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित समारोहमा तमु समाज यूकेका तर्फबाट अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले युद्ध स्मारकमा पुष्पचक्र (Wreath)अर्पण गरिन् ।
दिउँसो १: ५० बजे सुरु भएको समारोहमा स्थल सेना, नौसेना, वायु सेना र प्रहरीका क्याडेटहरू, सेन्ट जोन एम्बुलेन्स, रोयल ब्रिटिस लिजनको वेम्बली तथा सडबरी शाखा, स्काउट, ब्रिटिस गोर्खा नेपाली एसोसिएसन (बीजीएनए) र रेजेन्ट ब्रास ब्यान्डलगायतको सहभागिता थियो ।
समारोहमा प्रार्थना गरियो, ट्रम्पेटमा ‘लास्ट पोस्ट बजाइयो र मौनधारण गरी दिवङ्गत सैनिकहरूको स्मरण गरियो। मौनधारणपछि ‘रेभेली धुन र बेलायतको राष्ट्रिय गान बजाइयो ।
प्रमुख अतिथि तथा बेलायती राजाका प्रतिनिधि डेपुटी लेफ्टिनेन्ट जस्टिन पाकश (Justin Packshaw, MBE, FRGS) ले मन्तव्यपछि बरहाम पार्कस्थित युद्ध स्मारकमा पुष्पचक्र अर्पण गरे । ब्रेन्टकी उपमेयर कान्ता मिस्ट्री, ब्रेन्ट काउन्सिलका नेता मोहम्मद बट्, सांसदद्वय डन बट्लर र बेरी गार्डिनर, स्थानीय काउन्सिलरहरू तथा बीजीएनएका अध्यक्ष सन्तबहादुर गुरुङसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि पुष्पचक्र अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरे । रेजेन्ट ब्रास ब्यान्डको धुनमा सहभागी टोलीहरूले मार्चपास्ट गरेसँगै समारोह सम्पन्न भयो ।

दिवाभोजमा गोर्खा सेवाको चर्चा
स्मरण समारोहपछि तमु समाज यूकेले अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेको अध्यक्षतामा बरहाम पार्कस्थित नेपाली सामुदायिक केन्द्रमा रिमेम्ब्रेन्स दिवाभोज आयोजना गर्यो । दिवाभोजमा प्रमुख अतिथि डेपुटी लेफ्टिनेन्ट जस्टिन पाकश, ब्रेन्टकी उपमेयर कान्ता मिस्ट्री, ब्रेन्ट काउन्सिलका नेता काउन्सिलर मोहम्मद बट्ट,सांसद बेरी गार्डिनर, स्थानीय काउन्सिलरहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
पूर्वगोर्खा सैनिकहरूसँगै समाजका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, पदाधिकारीहरु, सल्लाहकारहरु, आमा समूह र युवा समूहका अध्यक्ष तथा समाज र आमा समूहका सदस्यहरू पनि उपस्थित थिए ।
दिउँसो करिब तीन बजे सुरु भएको कार्यक्रम समाजका निवर्तमान महासचिव धरम बल गुरुङले सञ्चालन गरे । उनले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी दिँदै अतिथिहरूलाई आसन ग्रहण गर्न आग्रह गरे । त्यसपछि निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले अतिथिहरूलाई स्वागत गर्दै तमु समाज यूकेको स्थापना, उद्देश्य र सामाजिक कार्यबारे परिचय दिए ।
सन् २००७ को सेप्टेम्बरमा स्थापना भएको तमु समाज यूके सन् २०१२ को डिसेम्बरमा इङ्ल्यान्ड र वेल्समा परोपकारी संस्थाका रूपमा दर्ता भएको उनले बताए । समाजले तमु भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै सांस्कृतिक, शैक्षिक र सामाजिक गतिविधिमार्फत विभिन्न पुस्तालाई जोड्दै आएको उनले उल्लेख गरे ।
ज्येष्ठ नागरिक र कठिनाइमा परेका परिवारलाई सहयोग गर्नुका साथै समाजले विपद् राहतका लागि पनि रकम जुटाउँदै आएको उनले बताए । गुरुङले दुई शताब्दीभन्दा लामो गोर्खा सेवाले नेपाल र बेलायतबीचको सम्बन्धलाई बलियो बनाएको बताए ।
गोर्खा सेवाको इतिहास परिवारका कथा, तस्बिर, पदक र बिछोडका सम्झनामा जीवित रहेको उल्लेख गर्दै उनले परेडमा सहभागी पूर्वगोर्खा सैनिक र उनीहरूलाई साथ दिने परिवारप्रति आभार व्यक्त गरे । उनले युवाहरूलाई अग्रजहरुका अनुभव सुन्न र ती कथाहरू भावी पुस्ताका लागि जोगाउन आग्रह गरे ।
एक्लोपन, भाषिक अवरोध वा आवश्यक सेवा लिन कठिनाइ भोगिरहेका ज्येष्ठ पूर्वसैनिक र उनीहरूका परिवारलाई सहयोग गर्न स्थानीय जनप्रतिनिधि र ब्रेन्ट काउन्सिलसँगको सहकार्यलाई निरन्तरता दिन चाहेको उनले बताए ।
युवा वक्ता सुबिना घलेले नेपालका गोर्खासहित राष्ट्रमण्डलका विभिन्न देशका सैनिकहरूले बेलायती र मित्रराष्ट्रका सैनिकसँग काँधमा काँध मिलाएर सेवा गरेको स्मरण गरिन् । घरपरिवारबाट टाढा रहेर सेवा गरेका ती सैनिकमध्ये धेरै जना घर फर्कन नपाएको उल्लेख गर्दै उनले जुनसुकै देश वा समुदायका भए पनि सबैको बलिदानलाई समान सम्मानका साथ सम्झनुपर्ने बताइन् ।
गोर्खा सैनिकहरूको साहस र सेवाप्रति गर्व व्यक्त गर्दै उनले आफ्नो पुस्ताले विश्वयुद्ध प्रत्यक्ष भोग्न नपर्नुलाई सौभाग्य ठानिन् र आजको शान्तिको कदर गर्नुपर्नेमा जोड दिइन् ।
डेपुटी लेफ्टिनेन्ट जस्टिन पाकशले आफ्नै सैनिक सेवाको अनुभव सुनाउँदै साहस, कर्तव्यनिष्ठा, निःस्वार्थता र सहयोद्धाबीचको आत्मीयता साझा अनुभवबाट विकसित हुने मूल्य भएको बताए । सगरमाथा (चोमोलुङ्मा) आरोहणको स्मरण गर्दै उनले नेपाल र नेपाली जनताप्रति सम्मान व्यक्त गरे । परेड र स्मरण समारोहको प्रशंसा गर्दै उनले दिवाभोजको आतिथ्यका लागि तमु समाज यूकेलाई धन्यवाद दिए ।
सांसद बेरी गार्डिनरले स्वतन्त्रताका लागि देशको आह्वानमा सेवामा जुटेकाहरूलाई सम्झने यस अवसरमा नेपालमा प्राकृतिक विपद्बाट ज्यान गुमाएकाहरूलाई पनि स्मरण गर्नुपर्ने बताए । विपद्मा आफन्त र मित्र गुमाएका समुदायका सदस्यहरूप्रति उनले आफ्नो र कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूका तर्फबाट समवेदना व्यक्त गरे ।
नेपालको जलविद्युत् उत्पादनमा हिमाली जलस्रोतको महत्त्व उल्लेख गर्दै उनले हिमनदी भत्किँदा समुदायले भोगेको पीडाबारे चर्चा गरे । उनले यस घटनालाई जलवायु परिवर्तनको सन्दर्भमा उठाउँदै त्यसका असर सामना गर्नु साझा चुनौती भएको बताए । विपद्पछि नेपालमा राहत पुर्याउन बेलायतको नेपाली समुदायले गरेको पहलप्रति पनि उनले सम्मान व्यक्त गरे ।
ब्रेन्ट काउन्सिलका नेता मोहम्मद बट्टले युद्धले व्यक्ति, परिवार र सिङ्गो समाजमा छोड्ने पीडा स्मरण गर्दै त्यस्तो त्रासदी दोहोरिन नदिन सबैको जिम्मेवारी रहेको बताए । मतभेद सुल्झाउन संवाद र सहकार्यमा जोड दिँदै उनले पृष्ठभूमि र आस्था जेसुकै भए पनि समुदायका हरेक व्यक्तिको योगदानको कदर गर्नुपर्ने धारणा राखे ।
समुदायका सदस्यहरूलाई आफ्ना भोगाइ र अनुभव सुनाउन आग्रह गर्दै उनले त्यस्ता कथाबाट युवा पुस्ताले विगत बुझ्न र शान्तिपूर्ण समाज बनाउन सिक्ने बताए । दीपावलीको शुभकामनासहित मन्तव्य सुरु गरेकी ब्रेन्टकी उपमेयर कान्ता मिस्ट्रीले विगतका युद्धमा विभिन्न देश र समुदायका सैनिकहरूले सँगै सेवा गरेको स्मरण गर्दै विशेष गरी गोर्खा सैनिकहरूको योगदान र बलिदानप्रति सम्मान व्यक्त गरिन् ।
आफ्ना दुई नातिनातिनालाई पनि समारोहमा ल्याएको उल्लेख गर्दै उनले युवा पुस्ताले युद्धको इतिहास र त्यसले निम्त्याएको पीडा बुझ्नुपर्ने तथा स्मरणको परम्परालाई अघि बढाउनुपर्नेमा जोड दिइन् । पूर्वी अफ्रिकामा जन्मिएको र आफ्नो परिवारको जरा भारतको गुजरातमा रहेको प्रसङ्ग सुनाउँदै मिस्ट्रीले विभिन्न संस्कृतिका मानिसहरू घुलमिल भएर बस्नु ब्रेन्टको बल भएको बताइन् ।
एकअर्काको ख्याल राख्दै मिलेर काम गर्नु सैनिक जीवनबाट सिक्न सकिने महत्त्वपूर्ण पाठ भएको उल्लेख गर्दै उनले छिमेकी समुदायबीच सम्पर्क र सहकार्य बढाउन आग्रह गरिन् । नेपाली समुदायलाई आवश्यक पर्दा आफूलाई सम्पर्क गर्न आग्रह गर्दै उनले समुदायको मित्रका रूपमा सहयोग गर्न तयार रहेको बताइन् ।

काउन्सिलर पल लोर्बरले स्मरणको परम्परालाई निरन्तरता दिन रोयल ब्रिटिस लिजनका स्वयंसेवकहरूले पुर्याएको योगदानको प्रशंसा गरे । स्थानीय गोर्खा समुदायलाई रिमेम्ब्रेन्स कार्यक्रममा सहभागी गराउन लिजनकी प्रतिनिधि जेराल्डिनले महत्त्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे ।
तमु समाज यूकेको नेपाली सामुदायिक केन्द्रले विभिन्न समुदायलाई कार्यक्रम आयोजना गर्ने ठाउँ उपलब्ध गराएर स्थानीय समाजमा योगदान पुर्याएको बताउँदै उनले बारहम भेटरन्स क्लब, तमु समाज यूके र सामुदायिक पुस्तकालयलाई ब्रेन्ट काउन्सिलले ठोस सहयोग गर्नुपर्ने धारणा राखे । उनले सन् २०३१ को नोभेम्बरमा पनि यही केन्द्रमा रिमेम्ब्रेन्स दिवाभोज आयोजना गर्न पाइने आशा व्यक्त गरे ।
तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले शान्ति र स्वतन्त्रताका लागि सेवा गरेका तथा जीवन बलिदान दिएका महिला र पुरुषहरूप्रति श्रद्धा व्यक्त गरिन् । स्मरणको यस अवसरले ब्रेन्टका विभिन्न समुदायबीच मित्रता र आपसी समझदारी अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले स्थानीय जनप्रतिनिधि र संघसंस्थाको निरन्तर साथप्रति आभार जनाइन् ।
उनले दिवाभोजको तयारीमा सहयोग गर्ने आमा समूह, कार्यसमिति र स्वयंसेवकहरूलाई धन्यवाद दिइन् । आफ्नो उपस्थितिले समारोहलाई गरिमामय बनाउने सबै अतिथि, पूर्वसैनिक तथा सहभागीप्रति पनि उनले कृतज्ञता व्यक्त गरिन् ।

कार्यक्रममा युवा समूहका अध्यक्ष प्रज्वलमान गुरुङले ध्वनि प्रणाली र प्रोजेक्टरको व्यवस्थापन गर्नुका साथै समाजका गतिविधि समेटिएका स्लाइडहरू प्रस्तुत गरे । मन्तव्य सकिएपछि आमा समूहको व्यवस्थापनमा सहभागीहरूले दरबार रेस्टुरेन्टले तयार पारेको दिवाभोज ग्रहण गरे । कार्यक्रम साँझ ६ बजे सम्पन्न भयो ।